काठमाडौँ- काठमाडौँ महानगरपालिका कक्षा ११ को छात्रवृत्तिका लागि १ हजार ८३ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन्।
काठमाडौँ महानगरपालिकाले २८ असारको बिहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गतेको कार्यालय समयसम्म १ हजार ८३ जनाले आवेदन दिएका हुन्।
आवेदन दिनेमा सबैभन्दा धेरै विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना रहेकाे महानगरपालिकाले जनाएको छ।व्यवस्थापन विषयका लागि २३९ जनाले आवेदन दिएका छन्।
प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको महानगरको शिक्षा विभागले जनाएको छ।
कक्षा ११ का लागि करिब ४ हजार २ सय सिटमा छात्रवृत्ति उपलब्ध गराउने महानगरले जनाएको छ।
शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले विद्यार्थीले साउन १२ गते १२ बजेसम्म आवेदन दिन सक्ने बताए।
छात्रवृत्तिमा आवेदन दिन एसईईमा न्युनतम १.६ जीपीए ल्याएको हुनु पर्ने महानगरले जनाएको छ। सामुदायिक विद्यालयबाट एसईई पूरा गरेको भए प्रधानाध्यापकले व्यहोरा प्रमाणित गर्नुपर्ने हुन्छ।
निजी विद्यालयबाट उत्तीर्ण गरेको भए स्थानीय तहमा वडाध्यक्ष र विद्यालयका प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको व्यहोरा प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन सिफारिस गर्नुपर्छ।
महानगरपालिकाले छात्रवृत्ति वितरण भर्दा सामुदायिक विद्यालयमा अध्ययन गरेकाे विद्यार्थीलाई ४० प्रतिशत, संस्थागत विद्यालयबाट छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई पाँच प्रतिशत, काठमाडौँ महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थीका लागि नौ प्रतिशत, बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थीका लागि एक प्रतिशत छात्रवृत्ति प्रदान गर्ने महानगरले जनाएको छ।
बाँकी रहेको ४५ प्रतिशत सिटलाई सय प्रतिशत मानी सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीको हकमा लागू हुने गरी छात्रालाई ३३ प्रतिशत, आदिवासी र जनजातिलाई १५ प्रतिशत, मधेसीलाई १२ प्रतिशत, खसआर्यलाई १७ प्रतिशत छात्रवृत्ति सिट उपलब्ध गराइने कोइरालाले जानकारी दिए।
उनका अनुसार दलितलाई ९ प्रतिशत, मुस्लिमलाई २ प्रतिशत, थारुलाई ४ प्रतिशत, अपाङ्गता भएको व्यक्तिलाई २ प्रतिशत, पिछडिएको क्षेत्रका व्यक्तिलाई ४ प्रतिशत, सहिद र वेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारलाई २ प्रतिशत छात्रवृत्ति दिइनेछ।
पिछडिएको क्षेत्रका व्यक्तिका रुपमा अछाम, कालीकोट, जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लामा स्थायी बसोबास गरिरहेका विद्यार्थीलाई मानिने महानगरपालिकाले जनाएको छ।