काठमाडाैँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले शुल्क समायाेजन प्रक्रिया स्थगित गरेको छ।
सीटीईभीटीले गत असार २९ गते शुल्क वृद्धि गर्ने निर्णयकाे चाैतर्फी विराेध भएसँगै रोकारवालासँग छलफल गरेपछि स्थगित गर्ने निर्णय गरेकाे हाे।
सीटीईभीटीले शुल्क पुनरावलोकन गर्न निर्देशक रामहरि देवकोटाको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेकाे थियाे।
सीटीईभीटीले प्रमाण पत्र तह सामान्य चिकित्सा, डिप्लोमा इन फार्मेसी र प्रमाण पत्र तह नर्सिङको २०७९ पुस ६ गतेको मन्त्री स्तरीय निर्णय, विभिन्न समयमा गठित शुल्क समायोजन सम्बन्धी कार्यटोलीका सुझाव एवं परिषद् कार्यालयको असार १ गतेको निर्णयले शुल्क समायोजन गरेको २९ गते सूचना जारी गरेकाे थियाे।
सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ प्रथम वर्ष २ लाख ४९ हजार ६९०, दोस्रो वर्ष एक लाख ८७ हजार २७० र तस्रो वर्षमा एक लाख ८७ हजार २७० अधिकतम शुल्क निर्धारण गरेको छ।
प्रमाणपत्र तह सामान्य चिकित्सा प्रथम वर्षमा २ लाख ९ हजार ५३०, दोस्रो वर्ष एक लाख ५७ हजार १४५ र तेस्रो वर्षका लागि एक लाख ५७ हजार १४५ शुल्क निर्धारण गरेकाे थियाे।
डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्षमा एक लाख ६९ हजार ४६४, दोस्राे वर्षका लागि एक लाख २७ हजार ९८ र तेस्रो वर्षका लागि एक लाख २७ हजार ९८ रुपैयाँ शुल्क निर्धारण गरेकाे थियाे।
डा. गोविन्द केसीलगायतका सरोकारवालाले विरोध गरेपछि शिक्षा मन्त्रीले शुल्क वृद्धि पुनरावलाेकन गर्न निर्देशन दिएका थिए। चिकित्सा शिक्षा आयोगले स्नातक तहको बिएनमा भन्दा पनि बढी शुल्क वृद्धि गरिएकाे भन्दै आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले आपत्ती जनाएका छन्।
सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृति प्राप्त गरी सञ्चालित शिक्षण संस्थामा शैक्षिक सत्र २०७१/७२ मा तोकिएको शुल्क हालसम्म कायम रहेको भन्दै समायोजन गरेकाे थियाे।
यसकाे विराेधमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बढाएकाे शुल्क फिर्ता गर्न भन्दै ४८ घण्टे अल्टिमेटम दिएको थियाे।
बढाएको शुल्क फिर्ता नलिए चरणबद्ध रूपमा आन्दोलन गर्ने अनेरास्ववियुले चेतावनी समेत दिएकाे थियाे।