काठमाडाैँ- कक्षा १२ को परीक्षा सकिएपछि विद्यार्थीलाई कुन विषय कहाँ पढ्ने, कस्तो विद्यालय छनोट गर्ने भन्ने चिन्ताले सताउने गरेको छ। कक्षा १२ सम्म विद्यालय शिक्षा अध्ययन पश्चात विश्वविद्यलायको ढोका खुला हुन्छ। विद्यार्थी आफ्नो भविष्य कता लाने भविष्यमा कस्तो कामकालागि आफू दक्ष बन्ने र अभिभावकको चाहना अनुरुप कसरी अघि बढ्ने भन्ने विषयमा चिन्तित हुन्छन्।
विश्वविद्यालय शिक्षाको ढोका खुलेसँगै आफ्नो भविष्यको गन्तव्य पनि सुनिश्चित हुने गर्दछ। आफूले रोजेको विषय र त्यसमा हासिल गर्ने दक्षताले नै एक सफल दक्ष नागरिक बन्ने अवसर प्राप्त हुन्छ। विद्यालय तह पार गरिसकेपछि स्नातक तहका रुपमा विश्वविद्यालयमा प्रवेश गर्ने यो पहिलो विन्दु हो। कक्षा १२ पछि विद्यार्थी आफैसँग धेरै विकल्प हुन्छन् जसलाई पढाइ र सुरक्षित करिअरका दृष्टिकोणले हेर्ने गरिन्छ।
शिक्षाविद् डा.विद्यानाथ कोइरालाका अनुसार ‘सफल जीवन जिउनका लागि यी दुबै उत्तिकै महत्वपूर्ण छन्। विद्या र कर्मसँगै लैजान सकियो भने निकै राम्रो हुन्छ । तर, कतिपय अवस्थामा यी दुबैसँगै नजान पनि सक्छन्। गुणस्तरीय शिक्षाको उद्देश्य व्यवहारमा लागू गर्न सकियोस भन्ने हो। काम सँगै पढाए के हुन्छ। विश्वविद्यालयका कक्षालाई दैनिक जिवनसँग जोडेर देखाए के हुन्छ। विद्यार्थीले सिक्ने भनेकै आफूले देखेका भोगेका विषयबाट हो। सिपमुलक शिक्षाले नै दक्षताको विकास गर्छ।’ कक्षाकोठामा सिकेको सीपलाई प्रयोग गरी जीवन सहज बनाउनुपर्ने उनको भनाई छ।
शिक्षाको उत्पादन र श्रमसँग मेल खाएको अवस्थामा समाज अग्रसरताको बाटोमा अगाडि बढ्न सक्छ। आम अभिभावक र विद्यार्थीको चाहना पनि सुरक्षित करिअर नै हो। विश्वविद्यालय शिक्षाको अवस्था खस्किएको जनगुनासो आइरहेको रहेको भएपनि विश्वविद्यालय शिक्षाको गुणस्तर सुधारमा ध्यान दिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा. धर्मकान्त बास्कोटा बताउछन्।
‘विद्यार्थीले रोजाइ अनुसारको विषय पढ्न पाएका छन्। परीक्षा र नतिजा समयमा नआएको भन्ने गुनासो छ। त्यसलाई समाधान गर्दै समयमा नै परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा विश्वविद्यालयले ध्यान केन्द्रित गरेको छ। नव प्रवेशि विद्यार्थीका लागि पनि प्रवेश परीक्षा समयमै सञ्चालन हुँन्छ।’ आवश्यकता अनुसार प्राविधिक शिक्षातर्फ विश्वविद्यालयले जोड दिदैँ नयाँ विषय थप गर्दै जाने उनको भनाइ छ।
विद्यार्थीलाई प्रवेश परीक्षाको चिन्ता
कक्षा १२ को परीक्षा पछि विद्यार्थीलाई परीक्षाको नजिता र विश्वविद्यालयको प्रवेश परीक्षाका लागि गर्नुपर्ने तयारीको विषयले सताउने गरेको छ। कक्षा १२ को परीक्षा पश्चात विद्यार्थीलाई स्वदेशी विश्वविद्यालयमा पढ्ने वा विदेशी विश्वविद्यालयमा पढ्ने, विदेशी भाषा शिक्षाको कक्षामा सहभागि हुने वा नेपाली विश्वविद्यालयका विभिन्न विषयका तयारी कक्षामा सहभागि हुने भन्ने अन्योल हुने गरेको छ।
अभिभावकको चाहना नेपालमै पढोस भन्ने भएपनि उच्च शिक्षा आर्जन गर्न विदेशी विश्वविद्यालयमा भर्ना पाउन विद्यार्थीले तयारी गर्ने गरेका छन्। विद्यार्थीलाई कक्षा १२ को परीक्षा पछिको खालि समयमा के गर्ने, विश्वविद्यालय शिक्षामा कुन विषय कहाँ पढ्ने भन्ने अन्योलताले सताउने गरेको छ।
कक्षा १२ उत्तीर्ण गरेपछिको खालि समयमा विभिन्न विषयको तयारी कक्षामा समय दिन सकिने र त्यसले विश्वविद्यालय शिक्षातर्फका प्रवेश परीक्षा उत्तीर्ण गर्न सहज हुने एपेक्स एकेडमीका कार्यक्रम निर्देशक महेश पराजुलीको बुझाइ छ।
उनका अनुसार ‘विश्वविद्यालय शिक्षातर्फ मेडिकल, इन्जिनियरिङ लगायतका विषय अध्ययन गर्न चाहने विद्यार्थी कक्षा १२ उत्तीर्ण गरेपछि खालि बस्नुहुँदैन। उनीहरूले विश्वविद्यालय र आयोगले लिने प्रवेश परीक्षाको तयारीमा जुट्नुपर्छ। त्यसका लागि प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेका संस्थाहरू विकल्प हुन सक्छन्। विद्यार्थीले स्नातक तहमा आफूले रोज्ने विषयले नै उसको करिअर निर्धारण हुने हो।’
उनले विद्यार्थी र अभिभावकलाई अध्ययन गर्न चाहने विषयमा कक्षा १२ परीक्षा पछिको समय सदुपयोग गर्न सुझाब दिएका छन्।
विश्वविद्यालय शिक्षामा विविधता
स्नातक तह अध्ययन गर्नका लागि स्वदेश तथा विदेशमा विभिन्न अवसरहरू छन्। जसमा विद्यार्थीले स्वदेशमै रहेका विभिन्न ११ वटा केन्द्रीय विश्वविद्यालय र तीनका सम्बन्धन प्राप्त कलेजले विभिन्न विषय अध्यापन गराइरहेका छन्।
यसका अलावा प्रादेशिक विश्वविद्यालयले पनि बजारको माग अनुसारका नयाँ विषय थप गर्ने क्रममा छन्। यी विश्वविद्यालयमा उपलब्ध कोर्स विद्यार्थीले अध्ययन गर्न सक्छन्।
यदि होइन म विदेशी विश्वविद्यालयको कोर्स पढ्छु भनेर रहर गर्नेकालागि समेत झण्डै ४५ भन्दा बढी कलेजले विदेशी विश्वविद्यालयबाट सम्बन्धनप्राप्त भई १ सयभन्दा बढी कोर्स अध्यापन गराइरहेका छन् । त्यसैगरी विदेशमा उच्च शिक्षा हासिल गर्छु र उज्वल भविष्य निर्माण गर्छु भन्नेकालागि पनि विभिन्न मुलकका विश्वविद्यालयमा अध्ययन गर्न जाने बाटो खुल्ला छ।
पछिल्लो समय करिअरका हिसाबले इन्जिनियरिङ र मेडिकल जत्तिकै व्यवस्थापन र मानविकी संकायको स्कोप पनि उत्तिकै बढेको पाइन्छ। विज्ञान विषय पढ्नेकालागि इन्जिनियरिङ र मेडिकलका रुपमा हामी जति राम्रो करिअर देख्छाैँ।
उत्तिकै राम्रो करिअर व्यवस्थापनमा पनि भएको पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित रिट्ज कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रिन्सिपल तुलसिराम रिजाल बताउँछन्।
उनी भन्छन्, ‘व्यवस्थापन संकायबाट बीबीए, बीएचएम अध्ययन गरेका विद्यार्थीले बरोजगार हुनुपर्ने अवस्था छैन।’
व्यवस्थापन संकाय अध्ययन गर्नेका लागि बैंक तथा वित्तीय क्षेत्रसँगै होटल व्यवस्थापन, ट्राभल एण्ड टुरिजम लगायतका क्षेत्र छन्।मुलुक संघीय संरचनामा गइसकेपछि बनेका ७ सय ५३ वटै तहमा कम्तीमा एक-एक बैंक पुग्न थालिसकेका छन् ।नागरिकमा विमा सचेतना बढेसँगै विमा कम्पनिहरू पनि बढ्ने क्रममा छन्।
हरेक व्यक्तिलाई बैंकको पहुँचभित्र ल्याउने सरकारको योजनासंगै प्रत्येक नेपालीसँग बैंक खाता हुनैपर्ने लक्ष्य सहित काम अगाडि बढाइएको छ। बैंकीङ क्षेत्रमा लाग्न चाहने र करीअर यसैमा खोज्नेहरुकालागि ठूलो अवसर पनि हो। फेरी व्यवस्थापन क्षेत्र हरेक क्षेत्रकालागि उत्तिकै महत्वपूर्ण छ। व्यक्तिगत जीवनको दैनिक क्रियाकलापदेखि हरेक सफलता पाउनकालागि चुस्त र दुरुस्त व्यवस्थापन पहिलो सर्त हो।
त्यसैले यसैमा लोभलाग्दो करिअर बनाउन चाहनेकालागि यो सबैभन्दा उपयुक्त विकल्पमध्येको एक बन्दै गएको मान्न सकिन्छ। विद्यार्थीले कुन विषय अध्ययन गर्दा आफ्नो भविष्य सुनिश्चित हुन्छ भन्ने विषय बुझेर मात्र विषय छनोट गर्न विज्ञले सुझाब दिएका छन्।
व्यवस्थापन र आईटिमा अवसर
पछिल्लो समय व्यवस्थापन र सुचना प्रविधी (आईटी) अध्ययन गरेका जनशक्तीको माग रोजगारबजारमा बढ्सँगै यस विषय तर्फ विद्यार्थीको आकर्षण पनि बढेको छ। आफै पेशा व्यवसाय सञ्चालन गरेर उद्यमशिल बन्न चाहने, बैंक तथा वित्तिय संस्थामा रोजगारी गर्न चाहनेका लागि व्यवस्थापन संकायका बीबीए, बीबीएम, बीएचएम जस्ता विषय उत्तम विकल्प हुन्।
देशमा विस्तार हुँदै गरेका वैंक तथा वित्तीय संस्था, जलविद्युत, शैक्षिक संस्था आदिको प्रशासन र लेखा सम्हाल्न व्यवस्थापन पढेका जनशक्तिको माग बढ्दो छ। निजी वा सार्वजनिक संस्थाको प्रशासन र व्यवस्थापन हाँक्ने जनशक्ति व्यवस्थापन संकायले नै उत्पादन गर्छ। नेपालमा स्नातक तहमा ३ देखि ५ वर्षसम्मका कार्यक्रम सञ्चालित छन्।
अहिले हरेक क्षेत्रमा आवश्यक र निकै स्कोप भएको विषय हो आईटी। अहिले हरेक क्षेत्रमा सूचना प्रविधिको प्रयोग अनिवार्य जस्तै भइसक्यो। प्रविधीको साथ बिना काम गर्न नसकिने अवस्था सिर्जना भएको छ। जसले एकातिर काममा सहजता ल्याएको छ भने अर्कोतिर त्यसकालागि आवश्यक जनशक्तीको संख्या बढाएको छ। सूचना प्रविधि अहिले हरेक मानिसको हातदेखि नै सुरु भइसकेको छ।
बिहान दैनिकी सुरु भएदेखी दिन ढलिसक्दा हामी कति धेरै यसमा आश्रित छौ भन्ने हामीलाई हेक्का नै भएको हुँदैन। सूचना प्रविधिका कोर्स अध्ययन गर्नेहरु हरेक क्षेत्रमा काम गर्न सक्छन् भने वेवपेज डिजाइनिङ, एनिमेसन, भीएमएक्स, ग्राफिक्स डिजाइनिङ, नेटवर्किङ लगायतका क्षेत्रमा करिअर बनाउन सक्छन्। नेपालमा सुचना प्रविधि तर्फ बीएससी सीएसआईटी (कम्प्युटर साइन्स एन्ड इन्फर्मेसन टेक्नोलोजी), बीआईटी (ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी), बीआईएम (ब्याचलर इन इनफर्मेसन म्यानेजमेन्ट), बीसीए (ब्याचलर इन कम्प्युटर एप्लिकेसन) लगायतका विषय अध्यापन हुन्छ।
विभिन्न विश्वविद्यालयले लिने प्रवेश परीक्षा उत्तीर्ण गर्न विद्यार्थीले यस लागि पनि तयारी गरेर उत्कृष्टता हासिल गर्नुपर्ने हुन्छ।
तुलनात्मक रूपमा अन्य संकायभन्दा कम लगानी र मेहनत लाग्ने मानविकी र शिक्षा संकाय पनि सेवाको क्षेत्र बढी भएकाले रोजगारीको अवसर छन्। राजनीति गरी देश बनाउँछु भन्नेका लागि, समाजशास्त्र पढेर समाज बुझ्छु र बुझाउँछु भन्नेकालागि, मानवशास्त्र पढ्छु, इतिहास पढ्छु, पत्रकारिता वा साहित्य पढेर हरेक पाठक र स्रोत माझ बस्छु भन्नेकालागि मानविकीले सहयोग गर्छ।
शिक्षा संकाय शिक्षण पेशामा लाग्नेका लागि उपयुक्त विकल्प हो। यी संकायमा विद्यार्थी आकर्षण घट्दै गएपनि रोजगार बजारमा दक्ष जनशक्तीको माग भने बढ्दो क्रममा छ।
फरक विश्वविद्यालयका फरक विषय
त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत, काठमाडौँ, पूर्वाञ्चल, पोखरा, कृषि तथा वन, मध्यपश्चिम, राजश्री गुरुकुल, मनमोहन प्राविधिक, गण्डकी, सुदुरपश्चिमाञ्चल र खुला विश्वविद्यालयका आ-आफ्नै पाठ्यक्रमको आधारमा स्नातक तहमा शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
त्रिविले स्नातक तहमा बीबीए, बीए, बीएड, बीएससी, नर्सिङ, आयुर्वेद (बीएएमएस), एमबीबीएस, बीफार्मेसी, बीफर्मा, बीएन, बीई, (सिभिल, आर्किटेक्ट, इलेक्ट्रिकल, मेकानिकल, कम्प्युटर, इलेक्ट्रोनिक्स एन्ड कम्प्युनिकेशन), बीटेक, बीएससी) बीएससी एजी, बीएससी फरेष्ट, बीएसडब्लुलगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यसैगरी १ सय २० भन्दा बढी क्याम्पसलाई सम्बन्धन दिएको काठमाडौँ विश्वविद्यालयले बीए एलएलबी, बीबीए, बीएचएम, बीटीटी (ट्राभल एण्ड टुरिजम), बीएफडी (फेशन डिजाइन), बीएमटी (मिडिया टेक्नोलोजी), बीजेएमसी (जर्नालिज्म एण्ड मास कम्युनिकेशन), बीई (सिभिल, कम्प्युटर आर्किटेक्ट, बायोमेडिकल), बीएससी बायोटेक्नोलोजी, बीपीएच, बीएससी नर्सिङ, बीफार्मेसीलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ।
यस्तै बीएससी इन एप्लाइड फिजिक्स, बीएससी फार्मेसी, बीएससी इन इन्भायरोन्मेण्टल साइन्स, बीएससी इन ह्युमन बाइलोजी, बीई, बीए बुद्धिष्ट स्टडिज, बीए फाइन आट्स, एमबीबीएस, बीएससी नर्सिङ, बीडीएसलगायतको पनि अध्ययन अध्यापन गराउँदै आएको छ।
उता पोखरा विश्वविद्यालयमा ब्याचलर अफ डेभलपमेण्ट स्टडिज, बीई (सिभिल, सिभिल एण्ड रुरल, सफ्टवेयर, आर्किटेक्ट), पब्लिक हेल्थ, नर्सिङ, फर्मास्युटिकल्स साइन्स, बीबीए, बीएचएम, बीसीआईएस, ब्याचलर अफ हेल्थ केयर म्यानेजमेण्ट, लगायत विषयको पठनपाठन गर्दैै आएको छ।
उता कृषी तथा वन विश्वविद्यालयले बीएससी एजी, बीएससी फरेष्ट्री तथा बीएससी भेटेरिनरी साइन्स एण्ड एनिमल हस्वेण्डरी, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले बीई, बीबीए, बीबीएस, बीए, बीएससी तथा बीएड र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले बीबीए, बीएड, बीबीएस, बीए र बीएससी कम्प्युटर साइन्स विषयमा पठनपाठनको थालनी गरेका छन्।
प्रादेशीक रुपमा स्थापना भएका विश्वविद्यालयले पनि बजारको माग अनुरुप नयाँ विषय थप्ने क्रममा छन्। गण्डकी विश्वविद्यालयले स्नातक तहमा खेलकुद व्यवस्थापन, सूचना प्रविधि, फार्मेसी, बीबीए र बीएएलएलबीको अध्यापन सुरु गरेको छ। यस्तै कोशी प्रदेशमा अन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले पनि विद्यार्थीलाई स्नातक तहमा प्राविधिक शिक्षा अध्यापन गर्ने तयारी गरेको छ।