काठमाडाैँ- कोटेश्वर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोगले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण प्राप्त गरेको छ।
विश्वविद्यालय अनुदान आयोगको गत हप्ता बसेको बोर्ड बैठकले देशभरिका कलेजमध्ये कोटेश्वर बहुमुखी क्याम्पससहित दुईवटा कलेजलाई क्यूएए प्रमाणीकरण गर्ने निर्णय गरेको थियो।
पढाइको गुणस्तर राम्रो भएका, विद्यार्थी सङ्ख्या उल्लेख्य भएका, भौतिक संरचनाको अभाव नभएका, दक्ष जनशक्ति भएकालगायत तोकिएको मापदण्ड पूरा गरेका कलेजलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण गर्ने गरेको छ।
विश्वविद्यालय अनुदान आयोगले अहिलेसम्म देशभरिका साढे छ सयभन्दा बढी सामुदायिक कलेजमध्ये ६२ वटा कलेजलाई क्यूएए प्रमाणीकरण गरेको छ। क्यूएए प्राप्त गरेको अवसरमा कोटेश्वर बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रममा बाेल्दै क्याम्पसका प्रिन्सिपल गोविन्दबहादुर कार्कीले क्याम्पसले सधैँ गुणस्तरीय शिक्षालाई आफ्नो लक्ष्य बनाएर अगाडि बढेकाले विश्वविद्यालय अनुदान आयोगले क्यूएए प्रमाणीकरण गरेको बताए।
कार्यक्रममा पूर्वराजदूत महेन्द्रबहादुर पाण्डेले क्याम्पसका शिक्षक, विद्यार्थी र कर्मचारीको अथक मेहनतका कारण क्यूएए पाएको बताए।उनले भने,'यो कलेजलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक केन्द्रका रूपमा विकास गर्ने जिम्मेवारी थपिएको छ।'
कोटेश्वर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सञ्जय बुढाथोकीले क्यूएए कोटेश्वर क्याम्पसलाई नयाँ पहिचान मात्र नदिएर नयाँ उचाइसमेत दिएको जिकिर गर्दै आफ्नो नेतृत्वमा क्याम्पसमा रहेका पाँचवटै विद्यार्थी सङ्गठनले भविष्यमा कहिल्यै पनि क्याम्पसमा तालाबन्दी नगर्ने प्रतिबद्धता व्यक्त गरेको बताए।
क्याम्पसका उपप्राध्यापक डा बालाचन्द्र अधिकारीले अनुदान आयोगले आफूहरूले गरेको कामको सही मूल्याङ्कन गरेर क्यूएए प्रदान गरेकामा धन्यवाद दिँदै गुणस्तरीय शिक्षा प्रदान गर्न आफूहरूले अझ बढी मेहनत गर्ने बताए।
क्याम्पसले कक्षा ११, १२, स्नातक र स्नातकोत्तर तहमा पठनपाठन गर्दै आएकाे छ। यहाँ चार हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।