काठमाडौँ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले निजी शिक्षण संस्थाका लागि बढाएको शुल्क फिर्ता लिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले ४८ घण्टे अल्टिमेटम दिएको छ। बढाएको शुल्क फिर्ता नलिए चरणबद्ध रूपमा आन्दोलन गर्ने अनेरास्ववियुले घोषणा गरेको हाे।
२०८० असार २९ गते शुक्रबार शुल्क समायोजनसम्बन्धी मन्त्रीस्तरीय निर्णय भनेर शैक्षिक सत्र २०८०/०८१ देखि सीटीईभीटीमा भर्ना हुने विद्यार्थीमाथि भारी शुल्क वृद्धि गरेको प्रति अनेरास्ववियुले खेद प्रकट गरेको जनाएको छ।
निजी शैक्षिक संस्थाहरूको आर्थिक प्रलोभनमा परी गरिब जनताका छोराछोरीले हासिल गर्ने प्राविधिक शिक्षामा गरिएको भारी शुल्क वृद्धि ४८ घण्टाभित्र फिर्ता लिन अनेरास्ववियुले माग गरेको छ।
शुल्क फिर्ता नभए चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।शैक्षिक सत्र २०८०/८१ देखि भर्ना भएका प्रशिक्षार्थीहरूबाट बढेको शुल्क लिने गरी सीटीईभीटीले समायोजन गरेको थियाे।
सीटीईभीटीले प्रमाणपत्र तह नर्सिङ प्रथम वर्ष २ लाख ४९ हजार ६९०, दोस्रो वर्ष एक लाख ८७ हजार २७० र तस्रो वर्षमा एक लाख ८७ हजार २७० अधिकतम शुल्क निर्धारण गरेको छ। प्रमाणपत्र तह सामान्य चिकित्सा प्रथम वर्षमा २ लाख ९ हजार ५३०, दोस्रो वर्ष एक लाख ५७ हजार १४५ र तेस्रो वर्षका लागि एक लाख ५७ हजार १४५ शुल्क निर्धारण गरेकाे छ।
त्यसैगरी डिप्लोमा इन फार्मेसीका लागि प्रथम वर्षमा एक लाख ६९ हजार ४६४, दोस्राे वर्षका लागि एक लाख २७ हजार ९८ र तेस्रो वर्षका लागि एक लाख २७ हजार ९८ रुपैयाँ शुल्क निर्धारण गरिएकाे छ।
सीटीईभीटीबाट सम्बन्धन तथा स्वीकृति प्राप्त गरी सञ्चालित शिक्षण संस्थामा शैक्षिक सत्र २०७१/७२ मा तोकिएको शुल्क हालसम्म कायम रहेको भन्दै समायोजन गरेकाे थियाे।