काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न महाअधिवेशनमा शेषराज भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा गीता सिवाकोटी (गीताञ्जली)ले उम्मेदवारी दर्ता गरेकी छिन्। महिला उम्मेदवार उनीसहित उपाध्यक्षमा १० जनाले उम्मेदवारी दर्ता गरेका हन्।
उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नेमा शेषराज भट्टराई नेतृत्वको प्यानलबाट उनीसहित श्रीराम पौडेल र दयाराम थापा छन् भने विष्णुहरी नेतृत्वको प्यानलबाट भूवन क्षेत्री, लक्ष्मण पौडेल (एन्ड्रयु) र प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उपाध्यक्षमा चार जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
स्वतन्त्र उम्मेदवारी दिनेमा राजन गोदार, पुष्पराज भट्टराई, यक्षविलास पौडेल (वाईबी) र बिमलमान राजभण्डारीले उम्मेदवारी दिएका छन्।
कास्की इक्यानको कोषाध्यक्ष हुँदै केन्द्रमा आएकी सिवाकोटीले संस्थाको महत्वपूर्ण भूमिकामा रहेर महिलाले पनि काम गर्न सक्छन् भनेर देखाउने बताइन्। उनले भनिन्,‘ यो व्यवसायमा महिलाले पनि केही गरेर देखाउन सक्छन् भन्ने हो। महत्वपूर्ण पदमा महिलाको नेतृत्वले संस्थलाई समावेशी र सवल पनि बनाउँछ। इक्यानमा महिला सदस्यहरूको प्रतिनिधित्व मैले गरेकी छु। यस व्यवसायमा संलग्न महिलाको क्षमता विकासका लागि पनि मैले काम गर्ने उद्देश्यका साथ उम्मेदवारी दिएकी हुँ।’
उनले इक्यानलाई राजनीतिक गतिविधिबाट मुक्त राख्दै शैक्षिक मुद्दा बोक्ने संस्थाको रुपमा विकास गर्न उम्मेदवारी दिएको बताइन्। यस संस्थामा जिम्मेवारी भूमिका निर्वाह गर्न र राज्यसँग परामर्शव्यसायीको विषयमा लविङ गर्न पनि उम्मेदवारी दिएको उनको भनाइ छ।
देशको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको इक्यानलाई राज्यले आवश्यक सम्बोधन गर्न सकेको छैन’, गीताले भनिन्, ‘इक्यानलाई राज्यकै अंगको हिसाबमा विकास गर्न जरुरी छ । त्यसकै लागि मैले उम्मेदवारी घोषणा गरेकी हुँ।’
नयाँ नेतृत्व चयनका लागि शनिबार काठमाडौँमा इक्यानको अधिवेशन हुँदैछ।