काठमाडौँ- नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा बर्तमान कार्यसमितिका महासचिव शेषराज भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्।
आगामी असार ३० गते हुने इक्यान महाधिवेशनमा नयाँ नेतृत्वका लागि उनले उम्मेदवारी घोषणा गरेका हुन्।
आईतबार सामाजिक सञ्जालबाट उम्मेदवारी घोषणा गर्दै उनले लेखेका छन्,‘ मैले अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेको छु। ठूलो जोश र समर्पणका साथ, म आज तपाईंको अगाडि उभिएको छु, सम्पूर्ण अन्तर्राष्ट्रिय शिक्षा उद्योगको विकास र सफलतामा योगदान दिन तयार भएसँगै मैले केही योजना पनि अघि सारेको छु। एक उम्मेदवारको रूपमा, मेरो ‘साहस र विश्वास’ लाई तपाइहरूले साथ दिनुहुनेछ भन्ने अपेक्षा गरेको छु।’
उनले जिम्मेवार इक्यान निर्माणका लागि ‘परिवर्तनका लागि तपाईसँगै काम’ भन्ने नाराका साथ अफ्नो गतिविधि अघि बढाउने योजना अघि सारेका छन्।
उनले इक्यानमा आफ्नो नेतृत्वले यसको गतिशिलतामा थप टेवा पुग्ने उल्लेख गर्दै चार दृष्टिकोण अघि सारेका छन्। उनले इक्यानमा आफ्नो सक्रिय संलग्नता, पहुँच, व्यापार वृद्धि, नीति निर्माण र यसको अभ्यासमा ध्यान दिने उल्लेख गरेका छन्।
उनले आफ्नो नेतृत्वमा प्यानल नै बनाएर उम्मेदवारी दिने तयारी भएको बताए। ‘इक्यानका गतिविधिलाई चुस्त ढंगबाट अघिबढाउन सक्ने टिम सहित अध्यक्षमा मरो उम्मेदवारी रहनेछ’,उनले भने।
भट्टराई अर्विट इन्टरनेशनल एजुकेशनका सञ्चालक हुन्।