काठमाडौँ- स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को असार २३ गते हुने महाधिवेशमा वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष प्रज्वल बस्नेत र महासचिव राजु निरौलाबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुने भएको छ।
उपाध्यक्ष बस्नेत र महासचिव निरौलाले मंगलबार अध्यक्ष पदमा छुट्टाछुट्टै उम्मेदवारी घोषणा गरेका हुन्। परामर्श व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन फेकनको सुरुदेखि नै शिक्षा मन्त्रालयलगायत निकायसम्म महत्त्वपूर्ण भूमिका निर्वाह गरेका बस्नेत सबै सदस्यमाझ परिचित छन्। फेकनको अभिभावकको रूपमा सुरुवातदेखि नै भूमिका निर्वाह गर्दै आएका बस्नेत फेकन उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष गरी दुई कार्यकाल आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन्।
उनले फेकनको देशभर शाखा विस्तार गर्ने योजनासहित अध्यक्षमा उम्मेदवारी दिन लागेको र परामर्श व्यवसायमा महासंघको आवश्यकता नभएको बताए। ‘परामर्श व्यवसायमा वैदेशिक लगानीको हामी विरोधी हौँ। यस व्यवसायमा धरौटी राख्ने भन्ने विषयमा पनि हामीले विरोध गर्दै आएका छौँ,’ उनले भने।
अर्का अध्यक्षका प्रत्यासी निरौलाले संस्था स्थापनाको एक दशकमा शैक्षिक परामर्श क्षेत्रमा फेकनले महत्त्वपूर्ण योगदान पुर्याएको र अब बन्ने नयाँ कार्यसमितिले थप उत्साहसहित काम गर्ने बताए। उनले भने, ‘म यसअघि आठौँ महाधिवेशनबाट फेकनको सचिव र दशौँ महादिवेशनबाट महासचिव पदमा निर्वाचित भएको हुँ। यसपटक अग्रज र साथिहरूको सल्लाहमा नै अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु।’
उनले शैक्षिक परामर्श क्षेत्रमा महासंघको आवश्यता नभएको, फेकनलाई नै प्रदेशस्तरमा देशभर विस्तार गर्ने योजना आफूले अघि सारेको बताए। संस्थामा बसेर गरेको कामको आधारमा नै आफूलाई सदस्यहरूले मत दिएर विजयी गराउने उनको भनाइ छ।
फेकनमा दुई अध्यक्षका प्रत्यासीले प्यानल नै बनाएर निर्वाचनमा जाने तयारी गरेका छन्। फेकनमा नयाँ नेतृत्व सहमतिमा नै चयन गर्ने भने पनि यस अघिको महाधिवेशनमा नै दुई प्यानलबाट प्रतिस्पर्धा गरेर उपाध्यक्ष र महासचिव भएका अध्यक्षका प्रत्यासीबीच सहमति जुट्न सकेन।
फेकनमा यसअघिका अध्यक्ष युवराज कटुवालले अध्यक्षका उम्मेदवार निरौलालाई समर्थन गरेका छन् भने अहिले वर्तमान कार्यसमितिका अध्यक्ष बासुदेव नेपालको समर्थन बस्नेतलाई भए पनि सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छन्।
फेकनको विधानमा अध्यक्षसहित तीन उपाध्यक्ष रहने व्वयवस्था छ। त्यस्तै महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, दुई सचिव र सात जना सदस्य निर्वाचनबाट र दुई सदस्य मनोनीत गरी १८ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।