काठमाडाैँ- विगत ६ वर्षदेखि शिक्षा क्षेत्रमा आयोजना हुने मेला-महोत्सवलाई ध्यानमा राख्दै सञ्चालनमा आएको ‘फेयर एक्सप्रेस’ मासिकले शैक्षिक गतिविधिलाई छापा माध्यममार्फत समेट्दै आएको सम्बद्ध सबैलाई विदितै छ।
‘फेयर एक्सप्रेस’मा समेटिएका सामग्रीका कारण शैक्षिक क्षेत्रका विज्ञहरू, विद्यार्थी, शिक्षक, नीतिनिर्माता, विज्ञापनदता, आमपाठक लगायतले यसलाई मन पराउँदै पनि आउनुभएकै छ। छ वर्षको छोटो अवधिमा ‘फेयर एक्सप्रेस’ले जुन उपलब्धि हासिल गरेको छ, त्यसमा यहाँहरूको विशेष योगदान रहेको कुरा यहाँ स्मरणीय छ।
अब पत्रकारिता छापामा मात्र सीमित रहेन। पत्रकारिता डिजिटलतर्फ फड्को मारिसकेको पनि धेरै समय भइसकेको छ। पछिल्लो समय अनलाइन पत्रकारिताका क्षेत्रमा विभिन्न विधाका विशिष्टीकृत सामग्री प्रस्तुत गर्ने क्रम पनि बढेको छ। यस भीडमा हामी शिक्षा पत्रकारिता क्षेत्रमा केही पृथक बन्न सक्ने गरी उभिन लागेका छौं। त्यसैले हामीले ‘ईडीयू सवाल डटकम’ अनलाइनमार्फत मुलुकको शिक्षा क्षेत्रलाई समेट्ने प्रयास गर्न लागेका हौं।
हामी शिक्षा क्षेत्रमा भएका परिघटनालाई मात्रै समेट्दैनौं, यसभित्रका विकृति र विसंगतिको पनि चिरफार गर्र्नेछौं। शिक्षा क्षेत्रका राम्रा अभ्यासको प्रशंसा त गर्छौं नै, नीति निर्मातादेखि सामान्य शिक्षकले समेत जिम्मेवारी पालना नगरेमा हामी सीधै औंला उठाएर सुधारका लागि झकझक्याउर्नेछौं।
हाम्रो उद्देश्य विशुद्ध व्यावसायिक पत्रकारिता गर्नु हो, लेखनका माध्यमबाट कसैको अन्धभक्त बन्नु हुँदै होइन, साथै आफूलाई मन नपरेको क्षेत्रमा आलोचना गर्ने पनि हाम्रो उद्देश्य रहने छैन। शिक्षा क्षेत्रका सन्तुलित समाचार र विचार प्रस्तुत गर्नु हाम्रो मूल मन्त्र हुनेछ। यस क्रममा शिक्षा क्षेत्रका हरेक गतिविधिलाई सकेसम्म पाठकमाझ पस्कनेछौं। शिक्षा क्षेत्रको अनेक विषय विशेषमा केन्द्रित भएर त्यसको चिरफार गर्नेछौँ।
हाम्रो यो अभियानमा सदाझैं सरोकारवाला निकाय, शिक्षा क्षेत्रका विज्ञ, विज्ञापनदाता, शुभेच्छुक सबैले सहयोग र साथ दिनु हुनेछ भन्ने अपेक्षा लिएका छौँ।