काठमाडौँ- शिक्षकको अधिकार सुनिश्चित गर्न शिक्षकका संगठहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। शुक्रबार काठमाडौँमा नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन र संस्थागत विद्यालय शिक्षक युनियले संयुक्त रूपमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै शिक्षक संगठनका पदाधिकारीले शिक्षण पेसालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षण पेसालाई सम्मानित पेसाको रूपमा स्थापति गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
शिक्षकका संगठनहरूले सार्वजनिक शिक्षालाई थप दरिलो बनाउँदै शिक्षकको मूल्य र सम्मान सुनिश्चित गर्न शिक्षकको तलब सेवा सुविधामा वृद्धि गर्नुपर्ने, शिक्षण पेसालाई प्रतिस्पर्धी र यस पेसा प्रतिको आकर्षण बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
कार्यक्रममा बोल्दै नेपाल शिक्षक संघका नवनिर्वाचित अध्यक्ष सोमनाथ गिरिले शिक्षक र विद्यालयका कर्मचारीले समयमा तलब नपाउने समस्या भोगेकाले यस्ता समस्याको तत्काल समाधान गर्न माग गरे।
शिक्षकका समस्या समाधान गर्न राज्य सधैं तत्पर हुनुपर्ने भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु भण्डारीले शिक्षकलाई पालिकाले पनि नति निर्माण गर्दा छलफल गर्नुपर्ने, शिक्षामा लगानी बढाउनुपर्ने, तलब सेवा सुविधा प्रदान गर्नुपर्ने र शिक्षकको सम्मान भएमात्र यो पेसा थप दरिलो बन्दै जाने बताए।
संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले विद्यालयको भौतिक अवस्थामा सुधार हुनुपर्ने, नीजी विद्यालयले समयमै शिक्षकलाई तलब भत्ता र सेवा सुविधा प्रदान गर्न माग गरे। उनले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण पेसालाई सम्मानित पेसाको रूपमा स्थापित गर्न सरकारको ध्यानाकर्षण गराए।
एजुकेशन इन्टरनेशनलसँग आबद्ध यी संगठनले शिक्षण पेसालाई थप मर्यादित र व्यवस्थित बनाउन शिक्षकलाई युनाइट कार्यक्रममार्फत तालिम प्रदान गर्दै आएका छन्।