काठमाडौँ– स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले आफ्नो कोशी प्रदेश शाखा गठन गरेको छ।
शुक्रबार झापा जिल्लाको दमकमा एक कार्यक्रमकाबीच विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरूलाई परामर्श प्रदान गर्ने संस्थाहरूको छातासंगठन फेकनले कोशी प्रदेशको शाखा गठन गरेको हो।
फेकनले कोशी प्रदेशको ११ सदस्यीय तदर्थ कमिटी गठन गरेको उपाध्यक्ष एवं संगठन विभाग प्रमुख हेमन्तराज दुलालले बताए।
‘फेकनले आगामी दिनमा देशभर शाखा विस्तार गर्दै जाने योजना अघि सारेको छ। फलस्वरुप कोशी प्रदेश गठन गरिएको छ। अब छिट्टै लुम्बिनी प्रदेशको पनि शाखा विस्तार गर्ने कार्यक्रम छ,’उनले भने।
नवनिर्मित कमिटीमा स्टेफन एजुकेशन कन्सलटेन्सिका प्रचण्ड प्रकाश सुुब्बा योङ्या (नरेश सुब्बा)लाई संयोजकको जिम्मेवारी तोकिएको छ।
कमिटीको सदस्यहरूमा आरम्भ नेपाल कन्सलटेन्सिका भुवन प्रसाद कोइराला, कुरासाकी जापनिज एजुकेशनका इन्द्र कुवर, दमक कस्मिक एजुकेशनका विनोद पौडेल, आरोरा इन्टरनेशनका विजय तामाङ, दमक माउन्ट फुजी एजसकेशनका प्रकाश अधिकारी, ड्रिम एजुकेशन बिर्तामोडका अर्जुन कार्की, टाउनहल एजुकेशन दमकका रविन्सन रिजाल, फुजीसान एकेडेमीका पूर्णकुमार सम्बाहाम्फे, आसाही इटहरी कन्सलटेन्सीका घनश्याम खड्का र ट्रिनिटि ग्लोबल दमकका अजय घिमिरे चयन भएका छन्।
नयाँ कमिटि गठन कार्यक्रमको अथितिको रुपमा फेकनका संस्थापक अध्यक्ष मानबहादुर राई, केन्द्रीय उपाध्यक्ष प्रज्वल बस्नेत, हेमन्तराज दुलाल, अर्जुनकुमार बस्नेत र कोषाध्यक्ष अनिल शर्माको उपस्थिति रहेको थियो।