काठमाडौँ- शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा सुधार गर्न शिक्षण पेशालाई सम्मानित पेसाको रूपमा स्थापित गर्नुपर्ने बताएका छन्।
सोमबार राष्ट्रिय परीक्षा बोर्डले आयोजना गरेको विद्यालय तहको परीक्षाको नतिजा, वर्तमान अवस्था र भावि कार्यदिशा विषयक छलफल कार्यक्रममा बोल्दैमन्त्री पौडेलले शिक्षामा सुधार गर्न शिक्षकलाई सम्मान गर्दै जिम्मेवार बनाउन आवश्यक रहेको बताए।
शिक्षामन्त्री पौडेलले प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारी जिम्मेवार नभएसम्म शिक्षामा सुधार गर्न नसकिने बताएका छन्।
उनले गुणस्तरीय शिक्षा प्रदान गर्नको निम्ति सबै निकाय मिलेर शिक्षा, सिप र सिकाइलाई एकसाथ अघि बढाउन आवश्यक रहेको स्पष्ट पारे।
‘शैक्षिक गुणस्तरमा सुधार गर्न तीन तहको शिक्षामा सुधार गर्नुपर्छ। विद्यालय शिक्षा, प्राविधीक शिक्षा र विश्वविद्यालय शिक्षामा सुधार गर्न आवश्यक छ,' उनले भने,'अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने परीक्षा जनशक्ति उत्पादन गर्न परीक्षा प्रणाली र नतिजा प्रणालीमा सुधार गर्नुपर्छ। योग्यता र क्षमता विकास गर्नु आजको आवश्यकता हो।’
उनले शिक्षकको आलोचना गरेर शिक्षामा सुधार नहुँने स्पष्ट पारे। ‘शिक्षामा सुधार गर्न शिक्षण पेशमा दक्षजनशक्तिलाई आकर्षण गर्न जरुरी छ। विश्वविद्यालयको सम्बन्धन लिएका कलेजमा विद्यार्थी नै छैनन्।विश्वविद्यालय शिक्षाको साधारण धारतर्फ विद्यार्थीको रुचि घट्दै गएको छ। विद्यालयदेखि विश्वविद्यालयसम्म शिक्षणसिकाईमा सुधार गर्न घनिभूत छलफल गर्न आवश्यक छ,' उनले भने।
परीक्षा प्रणालीलाई नियमन गर्ने परीक्षा बोर्डकै काम भएको र शिक्षकलाई जिम्मेवार बनाउने काम प्रधानाध्यापकको हुने उनको भनाइ छ।