पछिल्लो समय विश्वविद्यालय शिक्षा विद्यार्थी संगठनका राजनीतिक गतिविधिका कारण समस्याग्रस्त बन्न पुगेको छ। समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नहुँदा विद्यार्थीले पनि सास्ती भोग्नुपरेको अवस्था छ। नेपाली शिक्षण संस्थाको गुणस्तरमा प्रश्न उठाउँदै विद्यार्थी विदेसिने क्रम पनि चलिरहेकै छ। अहिले कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी आफ्नो भविष्य सुरक्षित गर्न उचित शैक्षिक गन्तव्यको खोजीमा छन्। उनीहरूलाई आवश्यक परामर्श, शैक्षिक गन्तव्य, विश्वविद्यालय शिक्षाको वर्तमान अवस्था, यसले भोग्नुपरेका चुनौती र समस्या समाधानका उपायका विषयमा पूर्वाञ्चल विश्वविद्यालयका सिनेट सदस्या एवं हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजका प्रिन्सिपल तोयानारायण पौडेलसँग गरेको संक्षिप्त कुराकानी :
विश्वविद्यालय शिक्षामा भएका पछिल्ला गतिविधिलाई कसरी लिइरहनुभएको छ?
हाम्रा विश्वविद्यालय प्राविधिक रूपमा दक्ष बन्न नसक्दा शैक्षिक क्यालेन्डर पालना हुन नसकेको अवस्था छ। विश्वविद्यालयमा राजनीतिक दलका भ्रातृ संगठनले तालाबन्दी गरेर अराजक गतिविधि गर्दै आएका छन्। विश्वविद्यालयका पदाधिकारी पनि राजनीतिक नियुक्ति हुने हुँदा पार्टीप्रति बफादार बन्नु स्वाभाविकै हो। विश्वविद्यालय अस्तव्यस्त हुनुमा विश्वविद्यालयका पदाधिकारी नै बढी जिम्मेवार छन्। उनीहरूले विश्वविद्यालयमा तालाबन्दी रोक्नुपर्छ। मागपत्रका नाममा शैक्षिक गुणस्तरमा असर पर्ने गरी अराजक गतिविधि बन्द गर्नुपर्छ। विश्वविद्यालय र यससँग जोडिएका निकायले शिक्षामा उचित लगानी र दक्ष जनशक्ति उत्पादनमा सक्षम भएन-भएको ध्यान दिनुपर्छ। विश्वविद्यालय शिक्षा दक्षजनक्ति उत्पादनतर्फ केन्द्रित हुनुपर्छ। राजनीति गर्ने थलो बन्नु हुँदैन।
विश्वविद्यालयले आफ्नो शैक्षिक प्रणालीलाई व्यवस्थित गर्न के गर्नुपर्छ?
विश्वविद्यालयले शैक्षिक गुणस्तरमा सुधार गर्न सर्वप्रथम त परीक्षा लिएको दुई महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्छ। विद्यार्थीलाई पूरक परीक्षाको व्यवस्था गर्नुपर्छ। समयमै नतिजा नआउँदा पढाइप्रति वितृष्णा जाग्छ। विश्वविद्यालयले शैक्षिक गुणस्तर सुधार गर्न आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा अनुगमन गर्नुपर्छ। प्राध्यापकलाई पनि निश्चित लक्ष्य तोकेर परिचालन गर्नुपर्छ। विश्वविद्यालयको समग्र शिक्षामा सुधार गर्न पदाधिकारीदेखि कर्मचारीसम्म जवाफदेही बन्नुपर्छ। अध्ययनअनुसन्धानमा जोड दिनुपर्छ। हाम्रो देशलाई कस्तो जनशक्ति आवश्यक पर्ने हो त्यसअनुसारको जनशक्ति उत्पादनतर्फ पूर्वाधारको विकास गर्नुपर्छ। राज्यले नै दक्षजनशक्ति उत्पादनमा विश्वविद्यालयलाई जिम्मेवार बनाउनुपर्छ।
यसपटकको कक्षा १२ को नतिजाले विश्वविद्यालय शिक्षातर्फ कस्तो असर पार्छ?
कक्षा १२ मा आधा भन्दाबढी परीक्षार्थी अनुत्तीर्ण भएका छन्। यसले गर्दा विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थीको भर्नामा कमी आउन सक्छ। विद्यार्थी विदेश अध्ययनमा पनि जान्छन्। गुणस्तरीय शिक्षा र अवसरका लागि विद्यार्थी बिदेसिनु स्वाभाविक पनि हो। अहिलेको नतिजा बिग्रिनुमा सरकार पनि दोषी छ। शिक्षा नीति बलियो नभएसम्म समस्या आइरहन्छन्। विद्यार्थी परीक्षामा उत्तीर्ण हुनुपर्छ भन्ने होइन। तर अनुत्तीर्ण भएका विद्यार्थीलाई व्यावहारिक र व्यावसायिक शिक्षा आवश्यक छ।
विद्यार्थीलाई तल्लो तहदेखि सरासर उत्तीर्ण गराउँदै लानु गलत हो। विद्यार्थीलाई एकैपटक कक्षा १२ पुगेर तिमी सक्षम छैनौ भन्नु हुँदैन। उनीहरूलाई तल्लो तहदेखि नै व्यावसायिक शिक्षातर्फ आकर्षण गर्ने गरी सरकारले योजना बनाउनुपर्छ। विद्यार्थीलाई फेल गराउने भन्दा पनि ग्रेडअनुसार उसलाई राज्यले अन्य विकल्प दिन सक्नुपर्छ। विद्यार्थीको क्षमता हेरेर परामर्श दिन सकिएको छैन। शिक्षा क्षेत्रमा पनि दक्षजनशक्ति अभाव भएको अवस्था छ। शिक्षण पेसामा प्राविधिक जनशक्ति आकर्षित हुन सकेकाे छैन। कक्षा ८–१० मा पनि विद्यार्थीलाई ग्रेडिङ गरेर विकल्प दिनुपर्छ। पूरक परीक्षामा विद्यार्थी उत्तीर्ण हुन सक्छन्।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई निरुत्साहित गरेर स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउन के गर्नुपर्ला?
विद्यार्थी स्वदेशमै पढ्ने वातावरण बन्न सरकारको शिक्षा नीति स्पष्ट हुनुपर्छ। यहाँको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने हो भने विद्यार्थी स्वदेशमै पढ्ने वातावरण बन्छ। पाठ्यक्रम राम्रो छ। यसलाई लागू गर्न विश्वविद्यालयले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नुपर्छ। विदेशी विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्ने गरी यहाँका विश्वविद्यालय अघि बढ्नुपर्छ। आमजनताले पनि स्वदेशमै सेवासुविधा पाउनुपर्छ। अवसरको खोजीमा विद्यार्थी बिदेसिनुपरेको हो। नेपालको स्नातक तहको अध्यापन राम्रो छ। चार वर्ष नेपालमा पढेर त्यसपछि स्तातकोत्तर अध्ययन गर्न विद्यार्थी विदेश जान सक्छन्।
स्वदेशमा चाहेको विषय अध्ययन गर्न नपाएका कारण विद्यार्थी विदेश जानुपरेको हो?
विश्वविद्यालयले हाम्रो माटो सुहाउँदो शिक्षा प्रदान गर्ने हो। विद्यार्थी आफूले पढ्न चाहेको विषय पढ्न नपाएकै कारण बिदेसिएको भन्ने होइन। हाम्रो विश्वविद्यालयले उत्पादन गरेको जनशक्ति यहाँको रोजगार बजारमा खपत हुने किसिमको हुनुपर्छ। राज्यमा विकासको आवश्यकता छ। राज्यलाई समृद्ध बनाउन दुई लाख त सिभिल इन्जिनियर मात्रै चाहिन्छ। यहाँ उत्पादित इन्जिनियर पनि विदेशमा रोजगारीका लागि गएका छन्। यहाँ अवसर दिने गरी राज्य पनि अघि बढ्नुपर्छ।
विश्वविद्यालय शिक्षामा प्रवेश परीक्षा आवश्यक छ कि छैन?
विद्यार्थीलाई ग्रेडिङ गर्न प्रवेश परीक्षाको आवश्यक पर्ने हो। विद्यार्थीको ज्ञानलाई जाँच्ने आधार प्रवेश परीक्षा हो। प्रवेश परीक्षाको नतिजा प्रकाशित हुनेबित्तिकै नतिजा प्रकाशन गर्ने व्यवस्था मिलाउनुपर्छ। प्राविधिक दक्षता अभिवृद्धि गर्न विश्वविद्यालयले पनि ध्यान दिनुपर्छ।
उच्चशिक्षा अध्ययनका लागि कस्तो शिक्षण संस्था रोज्न सल्लाह दिनुहुन्छ?
विद्यार्थीलाई उच्चशिक्षा आर्जन गर्न विश्वविद्यालयको प्रवेश परीक्षा उत्तीर्ण गर्ने र छात्रवृत्तिका लागि सबै विश्वविद्यालयको परीक्षा दिनुपर्छ। पहिले सरकारी कलेज रोज्ने र त्यसपछि मात्र निजी कलेज रोज्न सल्लाह दिन्छु। आफू अध्ययन गर्न चाहेका क्याम्पसको भौतिक शैक्षिक पूर्वाधार, स्थान, समय, क्याम्पसले प्रदान गर्ने सुविधा, यसअघि उक्त क्याम्पसबाट उत्तीर्ण भएका विद्यार्थीको अवस्थालगायतका विषयमा ध्यान दिनुपर्छ।
अर्को महत्त्वपूर्ण विषय भनेको क्याम्पसले सञ्चालन गरेको पाठ्यक्रम पनि हो। स्नातक तह नेपालमै अध्ययन गरेपछि यहाँ पढेको विषयमा नै उच्च शिक्षा आर्जन गर्न विदेश जान सकिन्छ भन्ने हो। स्नातक तहमा नेपालमा विद्यार्थीका लागि आवश्यक पर्याप्त विषय छन्। उनीहरूले रोजेको विषय पढाइ हुने पूर्वाधारयुक्त शिक्षण संस्था नै रोज्न सल्लाह दिन्छु।