काठमाडाैँ - शिक्षक सेवा आयोग माध्यमिक तह गणित विषयकाे नतिजा सार्वजनिक भएकाे छ। आयोगले माध्यमिक तहको गणित विषय शिक्षक छनोटको लागि गत चैत १५ र असार ९ गते लिएको परीक्षाकाे नतिजा सार्वजनिक गरकाे हाे।
परीक्षामा कोटाभन्दा कम परीक्षार्थी उत्तीर्ण भएका छन्। २८९ रिक्त पदको लागि लिएको परीक्षामा १५१ जना मात्र उत्तीर्ण भएका छन् । कुनै पनि प्रदेशमा कोटा बराबर परीक्षार्थी उत्तीर्ण भएका छैनन् ।
नतिजा अनुसार प्रदेश १ मा समावेशी कोटा सहित ७६ दरबन्दीका लागि १४० परीक्षार्थीले विषयगत परीक्षा दिएकाेमा २८ जना मात्र उत्तीर्ण भएका छन्। प्रदेश १ मा ४८ जना शिक्षक दरबन्दी पुगेन।
यस्तै मधेश प्रदेशमा १७ शिक्षकका लागि माग गरिएको विषयगत परीक्षामा १५ जना मात्र सहभागी भए। सहभागी मध्ये ४ जना मात्र विषयगत परीक्षा उत्तीर्ण भएका छन्।
बागमती प्रदेशमा ५९ दरबन्दीका लागि १७७ जना परीक्षार्थीले विषयगत लिखित परीक्षा दिएकोमा ५४ जनामात्र उत्तीर्ण भएका छन्।
त्यस्तै गण्डकी प्रदेशमा ५१ शिक्षक दरबन्दी रहेकोमा विषयगत लिखित परीक्षामा १५० जना सहभागी भएका मध्य ३२ जना मात्र उत्तीर्ण भएका छन्।
त्यस्तैगरी लुम्बिनी प्रदेशमा ३७ जना दरबन्दीका लागि भएकाे परीक्षामा १४ जना मात्र उत्तीर्ण भएका छन्। परीक्षामा ७३ जना सहभागी भएका थिए।
त्यस्तै कर्णाली प्रदेशमा २९ रिक्त दरबन्दीको लागि ६१ जनाले परीक्षा दिएका मध्य ८ जना मात्र अन्तर्वार्ताका लागि छनोट भएका छन्।
सुदूरपश्चिम प्रदेशको लागि १६ जनाका शिक्षकका लागि भएकोमा विषयगत लिखित परीक्षामा ४५ जना सहभागी मध्य ११ जना मात्रै उत्तीर्ण भएका छन्।
अन्तर्वार्ता असाेज २८ र २९ गते संचालन हुने आयाेगले जनाएकाे छ।