काठमाडौँ- विगत वर्षको तुलनामा यसवर्षको कक्षा १२ को नतिजा खस्किन पुगेको छ। कक्षा १२ को परीक्षामा सहभागी ३ लाख ६३ हजार ८ जना परीक्षार्थीमध्ये १ लाख ८८ हजार ४१० जना विद्यार्थीले नन ग्रेड ल्याएका छन्।
यो कूल विद्यार्थी संख्या ५२.०४ प्रतिशत हो। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा विगतको हेर्दा उत्तीर्ण प्रतिशत कम देखिए पनि १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेड वृद्धि गर्न पाउने भएकाले नतिजामा सुधार आउने बताए।
उनले भने,‘विगतमा भएको नतिजालाई हेर्ने हो भने खासै फरक होइन। दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीले ग्रेड प्वाइन्ट वृद्धि गर्न सक्छन्। अन्यले अर्को सालको लागि तयारी गर्न सक्छन्।’
शिक्षाको गुणस्तर वृद्धि गर्न विद्यार्थीलाई यत्तिकै अगाडि पठायौ भने समस्या हुने भन्दै बोर्डका अध्यक्ष शर्माले विद्यार्थीको उत्तीर्ण दर विद्यार्थीको शिक्षण सिकाइ स्तरलाई हेरेर नै निर्धारण भएको स्पष्ट पारे।
उनले भने, ‘तल्लो तहदेखि नै कक्षा ८ र १० लाई चेक प्वाइन्ट बनाएर गुणस्तरमा सुधार गर्नुपर्ने आवश्यकता छ। आज जति पास भएका छन् हाम्रा शैक्षिक संस्थामा ती विद्यार्थी भर्ना भएर पढ्न पाउने अवस्था छ।’
विगतको ट्रेन्डभन्दा नेपालको शिक्षा प्रणालीलाई स्तरीय बनाउने प्रयास भएको र सोही अनुरुपको नतिजा सार्वजनिक भएको उनको भनाइ छ।
‘शिक्षण सिकाइ प्रभावकारी हुन नसक्दा नतिजा यस्तो आएकाले विद्यार्थीलाई पढ्ने वातावरण बनउदै उनीहरूको शैक्षिक अवस्था सुधार्न आवश्यक छ’ उनले भने।
शुक्रबार बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार ३.६ देखि ४.० जीपीए ल्याउने परीक्षार्थी ४ हजार १७९ छन्। ३.२ देखि ३.६ जीपीए ल्याउने परीक्षार्थी ३० हजार १६० जना रहेका छन्।
यस्तै २.८ देखि ३.२ ल्याउने जीपीए परीक्षार्थी ६५ हजार २ सय ४८ जना, २.४ देखि २.८ ल्याउने ६४ हजार ९३, २.० देखि २.४ ल्याउने परीक्षार्थी १० हजार ९ सय रहेका छन्।
यस्तै १.६ देखि २.० ल्याउने परीक्षार्थी ३५ जना छन्। जीपीए १.२ देखि १.६ ल्याउने विद्यार्थी छैनन्। बोर्डले प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याए ग्रेड सिटमा एनजी अर्थात नन ग्रेडिङ लेख्ने कार्यविधिमा व्यवस्था गरेसंगै यसवर्षको नतिजा खस्किन पुगको हो। विगतका वर्षमा कोभिड- १९को महामारीका कारण विद्यार्थीले ४० अंकको मात्रै परीक्षा दिएका थिए।
गत मङ्सिरबाट लागू गरिएको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा नयाँ पाठ्यक्रम कार्यान्वयनमा आएका तहमा न्यूनतम ३५ प्रतिशत नल्याउनेलाई अवर्गीकृतमा समावेश गर्ने व्यवस्था छ। निर्देशिकाले प्रयोगात्मक परीक्षामा न्यूनतम ४० अंक र सैद्धान्तिकतर्फ कुनै पनि विषयमा न्यूनतम ३५ अङ्क ल्याउनुपर्ने व्यवस्था छ।
निर्देशिकाले तोकेको अङ्क भन्दा कम अङ्क ल्याउने विद्यार्थीको प्रमाणपत्रमा एनजी (नन ग्रेडेड) लेखिने व्यवस्था छ। सोही व्यवस्था अनुसार राष्ट्रिय परीक्षा बोर्डले हिजो साझ सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा अङ्ग्रेजी विषयमा एक लाख एक हजार ११३ जनाको ननग्रेडेड ल्याएका छन्। नियमिततर्फ कुल ३ लाख ६३ हजार १ जना विद्यार्थी मध्ये .एक लाख एक हजार ११३ जना विद्यार्थी फेल भएका छन्।
सबैको रोजाइमा परेको अङ्ग्रेजी भाषामा नै माथिल्लो कक्षा चढ्दै जाँदा फेल हुनेको संख्या बढी छ। प्रयोगात्मक र सैद्धान्तिकमा फरक मूल्याङ्कन गर्दा धेरै विद्यार्थी फेल भएका हुन्। सो नतिजा अनुसार अङ्ग्रेजीमा एक हजार ५६७ जनाले मात्र ए प्लस ल्याएका छन्। सौद्धान्तिकमा १ हजार ५६७ ले ए प्लस ल्याउँदा प्रयोगात्मकमा एक लाख ५३ हजार ९०७ जनाले ए प्लस ल्याएका छन् ।
त्यस्तै ए ग्रेड ल्याउनेमा सैद्धान्तिकमा २२ हजार ५ सय ३० जना रहेका छन् भने सोही ग्रेड सैद्धान्तिकमा एक लाख ४१ हजार ९०२ जनाले ए प्लस ल्याएका छन् । बी प्लस सैद्धान्तिकमा ३८ हजार २ सय ८५ र सैद्धान्तिकमा ४२ हजार ३०९ जनाले ल्याएका छन्। त्यस्तै बी ल्याउने ५१ हजार ५० सैद्धान्तिकमा प्रयोगात्मकमा २५ हजार ४३३ जना रहेका छन्। त्यस्तै सैद्धान्तिकममा ४२ हजार ५ सय जनाले ल्याएका छन् भने सो ग्रेड प्रयोगात्मकमा एक जनाले पनि डी ग्रेड ल्याएका छैनन् । यो विषयमा प्रयोगात्मकमा ४ जनाको नन् ग्रेड आएको छ ।
अङ्ग्रेजी पछि धेरै विद्यार्थी लेखामा अनुत्तिर्ण भएका छन् । लेखामा सैद्धान्तिकमा ६६ हजार १७१ जना विद्यार्थी सैद्धान्तिकमा फेल भएका छन् भने सो विषयमा ४ जनाको नन ग्रेड आएको छ ।
त्यसैगरी नेपाली विषयमा विद्यार्थी फेल भएका छन् । नेपालीको सैद्धान्तिकमा ३२ हजार ४ सय ९५ जनाको नन् ग्रेड आएको छ। त्यसैगरी सामाजिक शिक्षामा ५४ हजार १ सय १३ जनाको नन् ग्रेड आएको छ । त्यस्तै ऐच्छिक अर्थशास्त्रमा २७ हजार ७५९ जना अनुत्तिर्ण भएका छन् । त्यस्तै ऐच्छिक नेपालीमा १७ हजार ७५४ जना अनुत्तीर्ण भएका छन्। विजने स्टडीमा १९ हजार ६९५ जना अनुत्तीर्ण भएका छन् ।
नेपालमा सञ्चालित इन्जिनियरिङ कलेजको छातासंगठन एकोनका अध्यक्ष लक्ष्मण पोखरेलले यसवर्षको कक्षा १२ का नतिजाले नेपाली शिक्षण संस्था धरासायी हुने अवस्था सिर्जना हुने बताए।
उनले भने,‘ नेपाली कलेजको क्षमताअनुसार विद्यार्थी नै नपुग्ने अवस्था यस नतिजाले देखाउँछ। तल्लो तहमा नरोकिई एकै पटक कक्षा १२ मा आएर रोकिँदा विद्यार्थीको मनोविज्ञानमा पनि असर पुग्छ। कक्षा ११ पनि परीक्षा नै नदिइ उत्तीर्ण गराउने, अनलाइनमा विज्ञान विषय पढाउने अनि नतिजा यस्तो देखापर्छ। सरकारले बेलैमा यस विषयमा सोच्नुपर्ने थियो।’
बोर्डले यसवर्षको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परीक्षार्थीका लागि आउँदो असोज ३० र ३१ गते परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको छ।
कक्षा १२ को परीक्षा देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो।
नन् ग्रेडबारे भ्रम छ? यसरी थाहा पाउनुस्:
१) GPA देखाइरहेको छ भने तपाईं पास हुनुभएको हो। तपाईंको कुनै विषयमा पनि NG छैन। कुनै विषयमा D आए पनि पास हो। अब पास भएपछि तपाईंले D नै ल्याए पनि Grade Promotion Exam दिन पाउनुहुन्न। Bachelor पढ्न पाउनुभयो।
२) एउटा NG आयो। अब तपाईंको GPA देखिन्न। त्यो विषयको Grade Promotion Exam दिनुहोला। पास हुनुभयो भने GPA सहित पास भएको Grade Sheet पाउनुहुन्छ।
३) दुई वटा विषयमा NG आयो। अब पनि तपाईंको GPA देखिन्न। ती विषयको Grade Promotion Exam दिनुहोला। पास हुनुभयो भने GPA सहित पास भएको Grade Sheet पाउनुहुन्छ।
४) दुई विषयभन्दा बढीमा NG आयो। अब तपाईंले अर्को वर्ष सबै विषयको Exam दिनुपर्ने भो।