काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘स्टडी इन नेपाल’ अभियानको सञ्चालन गर्ने विषयमा सरोकारवालासंग छलफल गरेको छ।
मन्त्रालयले विदेशी विश्वविद्यालयको संम्बन्धनमा नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाका सञ्चालक एवम् आइप्यानका पदाधिकारीहरूसँगको छलफलमा स्टडी इन नेपाल अभियानको थालनी गर्ने विषयमा छलफल गरेको हो।
मन्त्रालयले विदेशस्थित नियोगलाई नेपालमा विद्यार्थी भित्राउन सहजिकरणकालागि छलफल गर्ने र यहाँ सञ्चालित कलेजलाई आवश्यक निर्देशन दिने शिक्षा मन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।
उनले भने,‘भिषालगायत अन्तर्राष्ट्रिय विद्यार्थीहरूको नेपाल बसाईमा सहजता प्रदान गर्ने र भइपरी आउँदा द्रुत सेवा दिन सक्ने गरी नयाँ योजना बनाएका छौं। यसले विदेशी विद्यार्थी नेपाल आएर पढ्ने वातावरण बनाउछ।’
छलफलमा मन्त्री पौडेलले बजारको माग अनुसारको विषयलाई उत्पादनमा जोड्न सक्नेगरी शैक्षिक संस्थाले ध्यान दिनुपर्ने बताए।
छलफलमा सहभागी नीजि शिक्षणसंस्था सञ्चालकहरूले नविकरण, कार्यक्रम थप र विश्वविद्यालयको सम्बन्धन परिर्वतन, कार्यक्रमको नाम संस्थाको नाम, स्थान परिर्वतन, समकक्षता सम्बन्धन, विदेशी मुद्रा सटही लगायतका विषयमा समस्या रहेकाले कार्यक्रम सञ्चालनमै समस्या रहेको बताएका थिए।