सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाले स्थानीय पाठ्यक्रम सुरू गरेको छ। स्थानीय भाषा, संस्कृति, सीप, प्रविधि र ज्ञान समेटेर बनाइएको ‘हामी र हाम्रो वीरेन्द्रनगर’ पुस्तकको पठनपाठन यहाँका सामुदायिक विद्यालयहरूमा सुरु भएको हो। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा प्रकाशित सो पाठ्यपुस्तक यस वर्षदेखि कक्षा १ देखि ३ सम्म पढाउन थालिएको हो।
नगर प्रमुख मोहनमाया ढकालले पदमपुरस्थित जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई पुस्तक वितरण गरिन्। उनले आगामी वर्ष पाठ्यक्रम र पाठ्यवस्तुलाई थप परिस्कृत गर्दै माथिल्ला कक्षामा पनि पठनपाठनको व्यवस्था मिलाइने बताइन्।
‘आगामी वर्ष कक्षा ८ सम्म पढाउने गरी पाठ्यक्रम निर्माण कार्यलाई निरन्तरता दिनेछौँ,’ नगर प्रमुख ढकालले भनिन्, ‘स्थानीय पाठ्यक्रमबाट विद्यार्थीलाई आफ्नो ठाउँको बारेमा ज्ञान प्राप्त गर्नुका साथै समाजप्रति जिम्मेवार हुन मद्दत पुग्नेछ ।’ नगरपालिकाले सबै सामुदायिक विद्यालयमा पुस्तक पठाइसकेको जनाएको छ।
नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख धीरेन्द्रप्रसाद शर्माले मुख्य सातवटा ‘थिम’मा आधारित रहेर पुस्तक प्रकाशन गरिएको जानकारी दिए।
उनका अनुसार पुस्तकमा वीरेन्द्रनगरको भूगोल, कला संस्कृति, जातजाति, भाषा, धर्म, पर्यटकीयस्थल, हावापानी, सामाजिक, राजनीतिक, आर्थिक अवस्था समेटिएका विषयसूची समावेश छन्।वीरेन्द्रनगर नगरपालिकामा ६० सामुदायिक तथा ८८ संस्थागत विद्यालय छन्।
हाल सामुदायिक विद्यालयमा लागू गर्ने र क्रमिकरूपले संस्थागत विद्यालयमा पनि पाठ्यक्रम कार्यान्वयन गर्ने गृहकार्यमा रहेको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।