काठमाडौँ- अक्षरा स्कुलले बनौँ संस्कारी पाठ्यक्रम सुरु गरेको छ। यही पाठ्यक्रममा सहयोग पुग्ने पुस्तक पनि प्रकाशित गरिएको छ। पुस्तकको विमोचन वरिष्ठ चिकित्सक डा. भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तककका लेखक डा राजु अधिकारीले संयुक्त रूपमा गरे।
पुस्तकबारे चर्चा गर्दै डा. कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्संदै गएको बताए। उनले संस्कार बिर्सेकै कारण मानिसले मानवीय मूल्य पनि भुल्न थालेको बताए। उनले भने, ‘अहिले विज्ञान छ। प्रविधि छ। भौतिक विकास पनि छ। यी सबै चाहिन्छ। तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ।’ उनले मानव मूल्य नभए जीवनको कुनै मूल्य नहुने बताए।
कोइरालाले पुस्तकमा १०१ गुण हुनुपर्नेमा जोड दिए पनि सबै कार्यान्वयन गर्न गाह्रो हुने तर पाँच वटा मात्रै गुण धारण गरे जीवन सफल हुने बताए।
प्रमुख निर्वाचन आयुक्त थपलियाले हामी सबै हाम्रा नानीबाबु असल होऊन् भन्ने चाहे पनि कसरी असल बनाउन सकिन्छ भनेर कसैले पनि ध्यान नदिने बताए।
उनले भने, ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्रो अंक ल्याएर पास गर्छौँ तर जीवनको परीक्षामा भने फेल भइराखेका छौँ।’ थपलियाले संसार बदल्ने हो भने पहिला आफू बदलिनुपर्ने र त्यसका लागि संस्कारसहितको शिक्षा हुनुपर्ने बताए। स्कुलकी डाइरेक्टर प्रिन्सिपल भट्टराईले संस्कारयुक्त शिक्षा दिनकै लागि १२ वर्षअघि स्कुलको स्थापना गरेको बताइन्।
उनले भनिन्, ‘हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्ने रहेछ। त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौँ। अब संस्कारको बेग्लै पाठ्यक्रम समेत बनाउने तयारी भइरहेको छ।’
लेखक अधिकारीले शिक्षा भएर संस्कार नभए व्यक्तित्वमा सुवास नआउने बताए। उनले जतिसुकै व्यस्त भए पनि अभिभावकले बालबालिकालाई संस्कारचाहिं दिनैपर्ने बताए।
पुस्तकमा संस्कारको सुगन्ध, संस्कारी व्यक्ति यस्ता हुन्छन्, संस्कारी हुनुको अर्थ र महत्त्व, असल सन्तान नै अमूल्य सम्पत्ति, संस्कार युक्त शिक्षा आजको आवश्यकता, चरित्र र शिक्षाको शिलान्यास, संस्कारी व्यक्तिको शान र पहिचान, नैतिकता र चरित्र, नागरिक कर्तव्य, सद्गुण र शिष्टाचार, बनौ संस्कारी जस्ता विषय समेटिएका छन्।