काठमाडौं - मध्यपश्चिम विश्वविद्यालयले आर्थिक उन्नयनका लागि सहकारीदेखि सपिङ मलसम्म सञ्चालन गर्ने कार्ययोजना बनाएको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले मध्यपश्चिम विश्वविद्यालयको एघारौं सभामा कुलपति एवं प्रधानमन्त्री शेरशहादुर देउवासमक्ष प्रस्तुत गरेको कार्ययोजनामा विश्वविद्यालयलाई आत्मनिर्भर बनाई सञ्चालन गर्न विभिन्न परियोजना र संरचना निर्माण गर्ने उल्लेख छ।
आन्तरिक तथा बाह्य रोजगारीको अवसर सिर्जना गर्न विश्वविद्यालयले आधुनिक चमेना गृह, सहकारी, होटल व्यवस्थापन अध्ययनका लागि उपयोगी हुने आधुनिक एवं सुविधासम्पन्न होटल, छापाखाना, पार्टी प्यालेस तथा सपिङ मल निर्माण गरी सञ्चालन गर्न २ सय ६३ करोड लगानी लाग्ने उपकुलपति सिंहले बताएका छन्। उनले भने, ‘यो परियोजना निर्माणपछि एक हजार जनाका लागि रोजगारीको अवसर सिर्जना हुन्छ। २७ करोडदेखि ३५ करोड वार्षिक आम्दानी गर्न सकिन्छ।’
यो परियोजना निर्माणपछि ४५८ जना विद्यार्थी, १९३ जना प्राध्यापक र कर्मचारीका लागि आवास गृह पनि बनाउने योजना विश्वविद्यालयको छ। परियोजना निर्माण गर्न ९४६ जना दक्ष जनशक्ति, २६ हजार ८८९ जना निर्माण कामदार र २७२ जना विद्यार्थीले रोजगारी पाउने कार्ययोजनामा उल्लेख छ।
प्राज्ञिक थलो विश्वविद्यालयले व्यापार गर्न लागेको भन्दै कतिपयले आलोचना पनि गरेका छन्। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हिराबहादुर महर्जनले विश्वविद्यालयले प्राज्ञिक मुद्दा छोडेर अन्यत्र ध्यान दिनु उपयुक्त नहने बताए।
‘विश्वविद्यालयले त रिसर्च एण्ड डेभलपमेन्टमा ध्यान दिने हो। आफ्ना विद्यार्थीलाई तालिम दिने हिसाबले कुनै काम गरे ठिकै हो नत्र व्यापार गरेर नाफा कमाएर विश्वविद्यालय सञ्चालन गर्ने मोडल त्यति प्रभावकारी हुन्छ कि हुँदैन अध्ययन नै गर्नुपर्छ। कतै नभएको नयाँ प्रयोग विश्वविद्यालयमा भन्दा पनि अन्य कतै सानो मोडलमा लगेर यसलाई प्रयोग गर्न सकिन्छ।विश्वविद्यालयलाई आत्मनिर्भर बनाउने भन्दा पनि खोज अनुसन्धानमा नै जोड दिनुपर्छ,’ उनले भने। विश्वविद्यालयले आफ्नो उद्देश्य अनुसार काम गर्न नसकिरहेको अवस्थामा यस्ता गतिविधिले विश्वविद्यालयको गरिमालाई नै ठेस पुर्याउन सक्ने उनको भनाइ छ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सिंह भने विश्वविद्यालयको आन्तरिक काम चुस्त बनाउन इन्टरनल अडिटलाई प्रभावकारी बनाउँदै बेरुजु घटाएर शून्यमा झार्न र विश्वविद्यालयलाई आर्थिक रुपमा सवल बनाउन काम अघि बढिसकेको बताउँछन्।
उनले भने, ‘हामीले स्रोत जुटाउनका लागि काम सुरु गरिसकेका छौं। अनुदानबाट मात्र विश्वविद्यालय सञ्चालन गर्न सम्भव छैन। यसलाई आत्मनिर्भर बनाउन परियोजनालाई अघि बढाउने हाम्रो लक्ष्य छ। विश्वविद्यालयले व्यापार गरेर आर्थिक उपार्जन गर्न सक्छ भन्ने देखाउन चाहन्छौं।’