काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहकोे मूल्याङ्कनमा एकरुपता ल्याएको छ ।
मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ कार्यान्वयनमा ल्याउदै कक्षा १ देखी १२ सम्म एउटै विधिका आधारमा मूल्याङ्कन गर्न न्यूनतम ३५ प्रतिशत वा जीपीए १.६ वा विषयगत रुपमा डी ग्रेड हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको हो ।
विद्यालय तहमा छुट्टाछुट्टै मूल्याङ्कन विधि लागू हुँदा समस्या भएको भन्दै मन्त्रालयले निर्देशिका नै बनाएर एउटै विधि अपनाइएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘ नयाँ शैक्षिक सत्र देखी यही निर्देशिका अनुसार विद्यालय तहमा एउटै मूल्याङ्कन विधी लागु हुन्छ ।’
विद्यालय तहमा कुनै पनि विद्यार्थी अनुत्तिर्ण नहुने भएपनि सरकारले मूल्याङ्कनमा एकरुपता ल्याउन यस्तो गरेको हो ।नयाँ नियम अनुसार अब एप्लस,ए, बीप्लस, बी, सीप्लस, सी, डी र एनजी उल्लेख गर्ने भएको छ । यस पटक देखी डिप्लसलाई भने हटाइएको छ भने डी ग्रेड भन्दा कम ल्याउने विद्यार्थी कुनै पनि ग्रेड पाउने छैनन् ।
विद्यार्थीले प्रयोगात्मक परीक्षामा भने सी ग्रेड ल्याउनुपर्ने व्यवस्था गरेको छ । यस अघि कक्षा १० र १२ मा फरक फरक व्यवस्था भएको भएपनि अब देखी भने एउटै मापदण्ड कार्यान्वयन हुनेभएको छ ।
निर्देशिकाअनुसार प्रत्येक विषयको उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण अंकमा गरेर त्यसलाई अक्षर ग्रेडमा रुपान्तरण गरिने भएको छ।
निर्देशिकामा भएको व्यवस्था अनुसार विद्यार्थीले दुई विषयमा तिन पटक सम्म ग्रेड वृद्धिको परीक्षा दिन पाउछन् । विगतमा ४५ मिनेटको एक घण्टी हुने गरेकोमा अब देखी ६० मिनेटको एक घण्टी हुने भएको छ।