काठमाडौँ - सरकारले मंसिर ४ गते देशैभर एकैचरणमा निर्वाचन गर्ने गरी आम निर्वाचनको मिति घोषणा गरेको छ । प्रतिनिधीसभा र प्रदेशसभाको एकैचरणमा चुनाव गर्ने गरी सरकारले बिहीबार (आज) निर्वाचन मिति घोषणा गरेको हो ।
सरकारले घोषणा गरेको चुनाव आउन अब १०९ दिन मात्रै बाँकी छ । आज बसेको मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गरेको हो । बैठकमा सहभागी एक मन्त्रीले मंसिर ४ मा देशैभर एकैचरणमा प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी सरकारले मिति घोषणा गरेको जानकारी दिए ।
यसअघि २०७४ सालमा संघीय र प्रदेश सभाको चुनाव दुई चरणमा भएको थियो। यसपालि भने स्थानीय चुनाव वैशाख ३० गते एकै चरणमा भएको थियो। २०७४ को स्थानीय चुनाव भने तीन चरणमा भएको थियो। प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र सात प्रदेशका ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ।
निर्वाचन मिति घोषणा अगाडी सत्तासिन दलहरुको गठबन्धनको बैठक बसेको थियो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मंसिर ४ मा निर्वाचन घोषणा गर्ने विषयमा गठबन्धन दलहरुका वीचमा सहमति जुटाएको थियो । सोही सहमतिका आधारमा सरकारले विहिबार आम चुनावको मिति घोषणा गरेको हो ।
निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो । निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ मै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ को चुनावको मिति प्रस्ताव गरेको थियो ।
तर सरकारले आयोगलाई तयारीका लागि १०९ दिन दिँदै मंसिर ४ गतेका लागि आम चुनावको मिति घोषणा गरेको हो । यो वीचमै दशैं लगायतका चाडपर्व पनि पर्छ ।
‘अब चुनाव कहिले हुने भन्ने अन्योल हटेको छ । मंसिर ४ को मिति घोषणा भएको छ’ सरकारका अर्का एक मन्त्रीले भने,-‘अब दलहरुलाई चुनाव औपचारिक रुपमा नै लागेको छ ।’
निर्वाचन मिति घोषणासँगै सरकारले संसद भने विघटन गरेको छैन । संसद विघटन गर्ने प्रावधान संविधानमा नरहेको कारण चुनावको मिति घोषणा गर्दा पनि सरकारले संसद भने चुनावसम्मै राख्ने गरी संसद विघटनको घोषणा नगरेको हो । अब चुनावका उम्मेदवारहरुको उम्मेदवार मनोनयनका दिनसम्मै अहिलेको संसद भने कायमै रहने गरी चुनावको मिति घोषणा सरकारले गरेको छ ।