काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन आह्वान गरेका छन्। सम्भव मागहरु सबै पूरा गर्ने आश्वासन दिँदै उनले वार्तामा बस्न, आन्दोलन टुंग्याउन र विद्यालय फर्किन आह्वान गरे।
आज काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘तुरुन्तै वार्तामा आएर विषय टुंग्याउनुस्, सहमति गर्नुस् र फर्किनुस्। मेरो आग्रह छ।’
प्रधानमन्त्री ओलीले शिक्षकहरुले राखेका मागमा सरकार ‘नेगेटिभ’ नभएको जिकिर गरे। ‘सरकार उहाँहरुका मागप्रति नेगेटिभ हुने कुरै छैन। सम्भव मागहरु सबै पूरा गर्छ,’ प्रधानमन्त्री ओलीले भने।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका माग राखेर सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले शिक्षक महासंघको अगुवाइमा चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन्। उनीहरुले चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल आह्वान गरेका छन्। उनीहरुको आन्दोलनका कारण वैशाखदेखि सुरु भएको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण लगायतका काम प्रभावित भएका छन्।
प्रधानमन्त्री ओलीले यो आन्दोलनबाट फाइदा नभएको बताए। ‘उहाँहरुलाई कुनै लाभ छैन, विद्यार्थीलाई घाटा छ, अभिभावकलाई पीडा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण मेरो आग्रह छ उहाँहरुलाई, वार्तामा आउनुस्, कुरा गर्नुुस्, सम्भव कुरा सरकारले गर्दिन्छ। फर्किएर आ-आफ्ना काममा जानुस्।’
शिक्षकहरुले औपचारिक वार्ता गर्दैनौ भन्ने सुनेको बताउँदै प्रधानमन्त्रीले प्रश्न गरे, ‘अनौठै सुन्या छु मैले । आन्दोलन गर्ने वार्ता नगर्ने, के भन्या हो त्यो ?’