काठमाडाैँ - इन्टरनेट क्षेत्रको दिग्गज कम्पनी गुगलले स्थानीय डोमेनहरू परिवर्तन गर्ने घोषणा गरेको छ। यसबाट विश्वभरका प्रयोगकर्ताले केही परिवर्तन देख्न पाउनेछन्।
जसअनुसार कम्पनीले निकट भविष्यमै गुगलको स्थानीय डोमेनहरू परिवर्तन गर्न गइरहेको घोषणा गरेको हाे। अहिलेसम्म देशहरूका लागि फरक-फरक गुगल डोमेन हुने गरेका छन्। जस्तै नेपालका लागि गुगल डटकम डट एनपी छ भने भारतका लागि गुगल डट को डट आइएन छ।
गुगलका यस्तै देशगत स्थानीय डोमेनहरु वर्षौंदेखि प्रयोग हुँदै आएका छन् र यिनलाई लोकल सर्च रिजल्ट दिनका लागि प्रयोग गरिन्छ। अब चाहिं नयाँ परिवर्तन हुने भएकाे छ। जसअन्तर्गत गुगलले देशगत डोमेनहरुलाई हटाउँदैछ। यसको साटो प्रयोगकर्ताहरु सिधै गुगल डटकममा पुग्नेछन्।
गुगलले सन् २०१७ देखि प्रयोगकर्ताको रियल टाइम भौतिक अवस्थितिमा पहुँच राख्न थालेको हो। यसले प्रयोगकर्तालाई जुनसुकै देशको डोमेन चलाएता पनि गुगल सर्चमा सान्दर्भिक नतिजासम्म पुर्याउन सहयोग गर्दछ।
गुगलका अनुसार स्थानीय डोमेनमा परिवर्तन गरिने यो अपडेट छिटै नै सबै प्रयोगकर्तासम्म पर्याइनेछ। यसमा केही महिनासम्मको समय लाग्नसक्छ। एकपटक यो प्रक्रिया सम्पन्न भएपछि एड्रेस बारमा जुनसुकै देशको कोड युआरएलमा टाइप गरे पनि स्वतः गुगल डटकममा रिडाइरेक्ट हुनेछ।
तर, गुगलको यो परिवर्तनले प्रयोगकर्ताको सर्च रिजल्टमा भने कुनै असर पार्नेछैन। यसपछि पनि प्रयोगकर्तालाई स्थानीय सामग्री तथा सर्च रिजल्ट प्राप्त भइरहनेछन्। अर्थात् तपाईं नेपालमा हुनुहुन्छ भने गुगल सर्च गर्दा नेपालसँग सम्बन्धित सर्च रिजल्ट देखिनेछन् र यदि ब्राजिलबाट गुगल सर्च गरिरहनुभएको छ भने त्यहाँको स्थानीय विषयवस्तुहरू सर्च रिजल्टमा देखिनेछन्।
यद्यपि कतिपय प्रयोगकर्तालाई आफ्नो रुचि अर्थात् प्राथमिकता रिसेट गर्नुपर्ने हुनसक्छ, जसमा भाषा वा क्षेत्र लगायतका विषय छान्नुपर्ने हुन्छ। यस विषयमा गुगलले आगामी दिनमा जानकारी दिने बताइएको छ ।