काठमाडौं- शिक्षक महासंघको प्रतिनिधिमण्डल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच जारी आन्दोलनका विषयमा भएको वार्ता निश्कर्षविहिन भएको छ। छलफल सकारात्मक भएपनि आफ्ना माग सुनुवाइ नभएको भन्दै महासंघले आन्दोलनलाई थप उत्कर्षमा पुर्याउने जनाएको हो।
महासंघले शिक्षक-कर्मचारीका मागमुद्दा पूरा हुनका लागि ऐन जारी हुने अवस्था नवनेसम्म आन्दोलनलाई जारी राख्ने जनाएको छ।
महासंघको प्रतिनिधिमण्डलले शुक्रबार राति ११:३० बजे सभामुख देवराज घिमिरेसँग पनि भेट गरेको थियो।सभामुख घिमिरेसंग पनि विद्यालय शिक्षा विधेयक छिटो जारी गर्ने विधि र उपायको बारेमा छलफल भएको महासंघले जनाएको छ।

विद्यालय शिक्षा विधेयक–२०८० वैशाख १२ गते आह्वान भएको संसद् अधिवेशनमा पेस हुने भएपनि उक्त अधिवेशन बजेटका विषयमा मात्र छलफल हुने सभामुख घिमिरेले महासंघलाई जानकारी दिएका थिए। महासंघले शुक्रबार प्रधानमन्त्री र सभामुख संगको भेटमा आफ्ना कुरा दृढता र शिष्टतापूर्वक सम्प्रेषण गरेकाे तर समग्र परिस्थितिको मूल्याङकन गर्दा अझै आन्दोलनको मोर्चा डटीरहनु पर्ने अवस्था रहेको जनाएको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनको अपडेटबारे जानकारी दिँदै लेखेका छन्।
१. हाम्रो आन्दोलन जारी छ। सदा झैँ ठिक १२ः०० बजे माइतीघर मण्डलामा आउनुहोला।
२. हामी एक दुई सानातिना मागहरुको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ। विगतका सहमती सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो।
३. आजको विरोध सभामा हिजो भएको भेटबारे सबै कुरा साथीहरु बिच राखिने नै छ। परिस्थितिको समग्र मूल्याङ्कनकालागि तहगत छलफलहरु गरिनेछ।
४. हामीले हिजोका दिनमा जे जे पाएका हौँ आन्दोलनको बलमा नै पाएका हौँ। अब पनि जे पाउने छौँ, त्यो आन्दोलनकै बलमा पाउनै छौँ। यो सत्यलाई हृदयंगम गरौँ।
५.सबै साथीलाई मर्यादित, संयमित र अनुशासति भएर आन्दोलनको मोर्चामा डटिहरन हामी आग्रह गर्दछौ।
प्रधानमन्त्री, सभामुखसँगको छलफलमा महासंघका अध्यक्ष सुवेदीसहित सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुली, महासचिव तुलाबहादुर थापा र उपमहासचिव मदनराज जोशी सहभागी थिए।