काठमाडौँ - शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुने भएको छ। परीक्षा नियन्त्रक गणेश भट्टराईका अनुसार उत्तरपुस्तिकाहरु परीक्षण केन्द्रमा राखिएको छ। तर शिक्षकहरु कपी जाँच्न गएका छैनन्।
‘उत्तरपुस्तिका परीक्षण केन्द्रमा पुगेको छ। शिक्षक कुरिरहेका छौँ,’ परीक्षा नियन्त्रक भट्टराईले भने, ‘उत्तरपुस्तिका परीक्षण शिक्षकले गर्ने काम हो। अरुले गर्न पनि मिल्दैन।’
उत्तरपुस्तिकासँग विद्यार्थीको भविष्य जोडिएको बताउँदै उनले शिक्षकहरु छिट्टै कपी जाँच्न आउने विश्वास व्यक्त गरे। ‘शिक्षकहरू छिटै फर्किनु हुन्छ भन्ने विश्वास छ,’ उनले भने।
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा असार पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको थियो। तर शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाइ हुँदा नतिजा प्रकाशन पनि ढिलो हुने भएको छ।
महासंघकी सहअध्यक्ष एवं आन्दोलन परिचालन कमिटीको संयोजक नानुमाया पराजुली ऐन जारी हुने ग्यारेन्टी नभएको बताउँछिन्। ‘ऐन जारी गर्ने भन्नुभयो तर गर्नुहुन्छ गर्नुहुन्न थाहा छैन। विषयगत समितिको सभापति टुंगो लगाउन अझै डेढ महिना लाग्छ भन्नुहुन्छ’, उनले शंका व्यक्त गर्दै भनिन्, ‘सरकार ठिक्क पारेर अधिवेशन बोलाउने। तर यो अधिवेशनमा पेस हुन्छ भन्ने ग्यारेन्टी छैन।’
आन्दोलनको टुंगो नलागे माध्यामिक शिक्षा परीक्षाको नतिजाका साथै कक्षा १२ को परीक्षा पनि प्रभावित हुने निश्चित छ ।