काठमाडाैँ - गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा.डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शुक्रबार कुलपति नियुक्त गरेका हुन्।
कुलपति बन्ने अन्तिम छनोटमा परेका ३ जनाबाट पोखरा विश्वविद्यालयका पूर्वउपकुलपतिसमेत बनिसकेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति नियुक्त गरेका हुन्। उनीसँगै प्रा.डा. विश्वकल्याण पराजुली र सरोज कोइराला कुलपतिका आकांक्षी थिए।
मुख्यमन्त्री पाण्डेले लोकतान्त्रिक पक्षका मानिने तिवारीलाई कुलपति नियुक्त गर्दै विवाद र राजनीतिक प्रभावमुक्त विश्वविद्यालय बनाउन आग्रह गरेका छन्। तर, गण्डकी विश्वविद्यालय पनि स्थापना कालदेखि नै विभिन्न विवाद र राजनीतिक प्रभावमा परेको भन्दै आलोचना हुँदै आएको छ।
कुलपति प्रा.डा. गणेशमान गुरुङको फागुन ४ गते ५ वर्षीय कार्यकाल सकिएसँगै अर्का कुलपतिका लागि दरखास्त आह्वान भएको थियो। २०७६ सालमा ऐन बनाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले विश्वविद्यालय स्थापना गरेको थियो।विश्वविद्यालयलाई स्वयत्त र सरकारको प्रभाव नपार्ने हेतुले नै गण्डकीमा ऐनमै पूर्णकालीन शैक्षिक क्षेत्रको कुलपतिको व्यवस्था गरिएको छ।
२०७६ सालमा ऐन बनाएर सरकारले गठन गरेको विश्वविद्यालय राजनीतिक भर्ती केन्द्र बनेको भन्दै मुख्यमन्त्री पाण्डे सुरुदेखि नै असन्तुष्ट थिए। पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वमा खुलेको विश्वविद्यालयमा अहिले करार सम्झौतामा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया बढाइएपछि सरकार र विश्वविद्यालयबीचमै आखड देखिएको थियो भने विश्वविद्यालयविरुद्ध मुद्दा उच्च अदालतमै विचाराधीन छ।
७८ जना शिक्षक कर्मचारीलाई स्थायी गर्ने प्रक्रिया रोक्न अन्तरिम आदेशसमेत अदालतले दिएको छ। विश्वविद्यालयमाथि विभिन्न प्रश्नहरू उठ्दै आएको भन्दै मुख्यमन्त्री पाण्डेले त्यसलाई चिर्नेगरी काम गर्न निर्देशन दिएका छन्।
पोखरा विश्वविद्यालयमा डिन हुँदै उपकुलपतिसमेत भएका तिवारी अहिलेसम्म विवादमा तानिएका व्यक्ति होइनन्। स्वतन्त्र अनुसन्धानकर्ता तथा विकास योजना र मानव बस्ती विकासका प्राध्यापक तिवारीले भूगोलमा स्नातकोत्तर (एमए) हासिल गरेका हुन्।
मानवबस्ती विकासमा एमएससी. र ग्रामीण तथा क्षेत्रीय विकास योजनामा पीएचडी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, थाइल्यान्डबाट प्राप्त गरेका तिवारीलाई मुख्यमन्त्री पाण्डेले कुलपति रोज्ने चर्चा थियो।
विश्वविद्यालयको कुलपति बन्न ७ जनाले आवेदन दिए पनि ५ जनाको नाम स्वीकृत भएको थियो भने छनोट समितिले अन्तिम ३ जनाको नाम मुख्यमन्त्री पाण्डेलाई बुझाइसकेको थियो।विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष प्रा.डा. कैलाशनाथ प्याकुरेलको संयोजकत्वमा प्रदेश लोक सेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद सदस्य डा. यमुना घले सदस्य रहेको छनोट समितिले ३ जनाको नाम बुझाएका थिए।
कुलपति बन्न आवेदन दिनेमा प्रा.डा. कुसुमाकर न्यौपाने र प्रा.डा. नवराज देवकोटा समेत थिए। तर उनीहरू पनि अन्तिम प्रतिस्पर्धाबाट बाहिरिएका हुन्।