काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० काे माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेडबृद्धि (पूरक) परीक्षा भदौ ११ र १२ गते विहान ८ बजेदेखि ११ सम्म सञ्चालन गर्ने जनाएकाे छ ।
बाेर्डले सुचना जारी गर्दै सम्बन्धित विद्यालय मार्फत भदौ ५ गते सम्ममा शिक्षा विकास तथा समन्वय इकाइमा परीक्षा आवेदन फारम पेश गरेका परीक्षार्थी पूरक परीक्षामा सहभागी हुन पाउने जनाएकाे हाे।
पूरक परीक्षामा सहभागी हुन अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीहरुले ग्रेड पूरक परीक्षामा सहभागी हुन पाउने बाेर्डले जनाएकाे हाे।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीले आफूले परीक्षा दिने विषयहरु मध्ये सबै भन्दा सानो अंक भएको कोड नं पहिलो दिन र ठुलो अंक भएको कोड नं को विषयमा दोस्रो दिनको परीक्षामा सहभागी हुनपर्ने बाेर्डले सुचनामा उल्लेख गरेकाे छ। कुनै आकस्मिक बिदा पर्न गएमा पनि बोर्डको पूर्व सूचना विना परीक्षा स्थगित नहुने र परीक्षा केन्द्र सम्बन्धित जिल्लाको सदरमुकाममा मात्र हुने सूचनामा उल्लेख छ।
परीक्षा केन्द्रको जानकारी प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले निर्धारण गर्नेछ। तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सहभागी नहुने परीक्षार्थीलाई अर्को परीक्षाको व्यवस्था नगर्ने बाेर्डले जनाएकाे छ।
बोर्डले एसईईको नतिजा चित्त नबुझे विद्यार्थीले ग्रेडवृद्धिका लागि श्रावण २७ गते सम्म निवेदन दिन सक्ने जनाएकाे छ। बुधबार २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरेको बोर्डले साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा प्रक्रिया पूरा गरी निवेदन दिन सक्ने जनाएको हो।
विद्यार्थीले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा वा बोर्डको परीक्षा नियन्त्रण कार्यालयमा साउन २७ सम्म तोकिएको ढाँचामा निवेदन दिन सक्ने बोर्डले सूचनामार्फत जनाएको छ।
विद्यार्थीले निवेदन दिदाँ प्रति विषय रु ५०० (पाँच सय) का दरले हुने रकम राजश्व खाता नं १४२२३ मा जम्मा गर्नुपर्ने, निवेदनको ढाँचा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले तोके बमोजिम हुनुपर्ने बार्डले जनाएको छ।
निवेदन फाराम साथ निम्न विद्यार्थीले एसईई परीक्षा २०७८ को ग्रेडसिट वा ग्रेड लेजरको प्रतिलिपी, प्रवेश पत्रको प्रतिलिपी संलग्न गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ। विद्यार्थीले तल रहेको फारम डाउन लोड गरी भरेर इकाइमा बुझाउन पनि सक्नेछन्।