काठमाडाैँ - प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूको कुरा सरकारले सुन्ने भन्दै धेरै दुःख नगर्न आग्रह गरेका छन्। थाइल्यान्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा यस्तो आग्रह गरेका हुन्।
‘हामी कुराकानी पनि गर्छौं, सरकारले उहाँहरूको कुरा सुन्छ पनि। न सरकार उहाँहरूको विरोधी हो, न उहाँहरू सरकारको विरोधी हो। यो सबै हामी एउटै हौँ,’ प्रधानमन्त्री ओलीले भने, ‘के कति गर्न सकिन्छ भन्ने कुरा परस्परमा कुरा गरेर टुंगिने हो। धेरै उहाँहरूले पनि दुःख नपाए हुन्छ।’
देशभरका शिक्षकहरू केही दिनदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित प्रदर्शनमा छन्। उनीहरू नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्मको क्षेत्रमा प्रदर्शन गरिरहेका छन्। यसबारे सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यसअघिका सरकारले शिक्षकको कुरा नसुनेको र अहिले त्यस्तो नहुने बताए।
अहिलेको सरकारले आफ्ना कुरा सुन्ने देखेपछि नै शिक्षकहरू प्रदर्शनमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो।
‘सरकारमाथि विश्वास गरेर उहाँहरू प्रदर्शनमा आउनुभएको छ। नत्र पहिले पहिले प्रदर्शन गर्नुहुन्न थियो यसरी,’ प्रधानमन्त्री ओलीले भने, ‘किनभने प्रदर्शन गर्यो गर्यो, कानमा बतास लाग्दैन भने किन भन्ने हुन्थ्यो। अहिले चाहिँ आवाज उठाएपछि त्यो सरकारले सुन्छ भन्ने विश्वास उहाँहरू आउनुभएको हो।’