काठमाडाैँ - लोकप्रिय सोसल मिडिया प्लाटफर्महरु फेसबुक र इन्स्टाग्राम विश्वभर करोडौँ मानिसले चलाउने गरेका छन्। अब फेसबुक तथा इनस्टाग्रामको मातृ कम्पनी मेटाले अब यी प्लाटफर्ममा एक सशुल्क (सब्सक्रिप्सन) मोडेलका बारेमा योजना बनाइरहेको छ। यसरी शुल्क तिर्ने प्रयोगकर्ताले आफ्नो फिडमा अनेक खालका विज्ञापन हेर्नुपर्ने छैन र विज्ञापन विनाको सोसल मिडियाको आनन्द लिन पाउने भएकाे छ। तत्कालका लागि बेलायतमा सशुल्क सेवा सुरु गर्ने मेटाको तयारी छ।
किन आयो यो नयाँ योजना ?
मेटाको यो योजना अचानक बनेको होइन, यसका पछाडि एक कानूनी मामिला रहेको छ। वास्तवमा बेलायतमा एकजना प्रयोगकर्तालाई लक्षित विज्ञापन नदेखाउन मेटा बाध्य हुनुपर्यो। उक्त मुद्दा लण्डन उच्च अदालत सम्म पुगेको थियो। तर, सजायबाट बँच्नका लागि मेटाले उक्त समस्या समाधान गर्यो।
उक्त घटनाको सुरुवात सन् २०२२ मा त्यतिबेला भयो जब मानवअधिकारकर्मी तान्या ओकेरेलले मेटाविरुद्ध १.५ ट्रिलियन डलर क्षतिपूर्ति माग गरी मुद्दा दायर गरिन्। मेटाले आफ्नो सहमति विना आफ्ना निजी डेटाहरु एकत्रित गरेको र आफूलाई लक्षित विज्ञापन देखाएर बेलायतको डेटा सुरक्षा कानूनको उल्लंघन गरेको उनको जिकिर थियो।
तान्याले यो मामिलालाई केवल आफ्नो मात्र लडाईँ नभै एउटा ठूलो परिवतर्नको रुपमा लिइन्। उनका अनुसार यो निर्णय अनलाइन विज्ञापनबाट दिक्क भएका सबै मानिसका लागि महत्वपूर्ण छ। उक्त मामिलामा बेलायतको डेटा सुरक्षा प्राधिकरणले तान्याको समर्थन गर्यो, जसका कारण मुद्दाको ओज झनै बढ्यो।
स्मरण रहोस् युरोपेली संघभित्रका देशमा मेटाले सन् २०२३ मै आफ्ना सोसल मिडिया प्लाटफर्ममा विज्ञापनमुक्त सशुल्क सेवा सुरु गरिसकेको छ। गत वर्ष उसले सब्सक्रिप्सन शुल्कमा ४० प्रतिशत कटौती गरेको थियो। जसमा फेसबुकका वेब प्रयोगकर्ताका लागि प्रति महिना शुल्क ५.९९ युरो तथा आईओएस तथा एन्ड्रोइड प्रयोगकर्ताका लागि प्रतिमहिना शुल्क ७.९९ युरो रहेको छ।
अब बेलायतमा मेटाले कति शुल्क तोक्छ भन्ने चासोको विषय छ।