काठमाडाैँ - सुनसरी जिल्लाको उत्तरी ग्रामीण क्षेत्रको श्री प्रकाश माध्यमिक विद्यालयका शिक्षकहरू विद्यार्थी खोज्न घरघर पुग्न थालेका छन्। विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएपछि शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक, अभिभावक, पूर्वविद्यार्थीदेखि राजनैतिकसम्म विद्यार्थी खोज्न विद्यार्थीका घरघर पुग्न थालेका हुन्।
वि सं २०२१ मा स्थापना भएको प्रकाश माविको तल्लो तहमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घट्दै गएपछि अभियानकै रूपमा घरदैलो कार्यक्रम राखेर विद्यार्थीका घरघर पुग्न थालिएको छ। बाल कक्षादेखि १२ कक्षासम्म पढाइ हुँदै आएको विद्यालयमा भर्ना अभियान चलाई सरोकारवालाहरू अभिभावकका घरघर पुग्न थालेको विद्यालयले जनाएको छ। बाल कक्षादेखि १२ कक्षासम्म नेपाली माध्यम र छ देखि १० कक्षासम्म अङ्ग्रेजी माध्यममा पठनपाठन हुँदै आएको विद्यालयमा अङ्ग्रेजी माध्यमबाट नर्सरी कक्षा सञ्चालन गर्न विद्यार्थी खोज्न थालिएको विद्यालयका प्रधानाध्यापक चुडामणि खनालले बताए। उनले भने, 'अङ्ग्रेजी माध्यमबाट पढाइ होस् भन्ने अभिभावकको चाहना अनुरूप नै तल्लै कक्षाबाट अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्न लागिएको हो।’
सामुदायिक विद्यालयमा दक्ष शिक्षकहरू भए पनि अभिभावकको विश्वास जित्न नसक्दा आफ्ना बालबच्चाहरू विद्यालय पठाउन नसकिरहेको अवस्थामा विद्यालयमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने भएपछि अभिभावकमा सामुदायिक विद्यालयप्रति आशा जागेको अभिभावक होमनाथ पाखेरले बताए।
उनले भने, 'सामुदायिक विद्यालयमा भौतिकदेखि सिकाइका सबै साधन हुने भए पनि अभिभावकको विश्वास जित्न नसक्दा सामुदायिक विद्यालयमा पढाउन अभिभावकले हिचकिचाउने गरेका छन्।' विद्यालयको स्रोतसाधनको उचित प्रयोग गर्दै विद्यालय प्रशासन, व्यवस्थापन र शिक्षक जवाफदेही भएर शैक्षिक वातावरण तयार गरे विद्यालयमा विद्यार्थीको सङ्ख्या स्वतः बढ्ने बताए।
सामुदायिक विद्यालयलाई माथि उठाउन वडाले समेत अङ्ग्रेजी माध्यमका पुस्तक र अन्य सन्दर्भ सामग्री उपलब्ध गराउँदै आएको वराहक्षेत्र १० का वडाध्याक्ष तेजबहादुर गुरुङले बताए। उनले भने ' वडा नम्बर १० मा रहेका सबै सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि वडा लागि परेको छ।' प्रकाश माविमा अध्ययनरत ६ कक्षाखि १० कक्षासम्मका विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री दिँदै आएका उनले बताए। सामुदायिक विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर वार्षिक रूपमा बजेट छुट्याउँदै आएको अध्यक्ष गुरुङको भनाइ छ। शैक्षिक सत्र सुरु हुनुअगावै विद्यालयमा बिग्रिएका कम्प्युटर र कक्षा कोठामा भएका सिसी क्यामेरा समेत बनाइएको छ।
प्रकाश माविमा दक्ष शिक्षक, शैक्षिक सामग्री, विज्ञान प्रयोगशाला, कम्प्युटर कक्षा, पुस्तकालयदेखि भौतिक पूर्वाधारले सम्पन्न भए पनि गुणस्तरीय शिक्षा विद्यालयले दिन नसक्दा दिनप्रतिदिन विद्यालयमा विद्यार्थीको सङ्ख्या उल्लेख्य नरहेको नवगठित विद्यालय व्यवस्थापन समितिका सदस्य धनबहादुर कटुवालले बताए। कटुवालले विद्यार्थीलाई टिकाइराख्न विद्यालय सञ्चालक समिति, प्रशासन, शिक्षक तथा अभिभावक सबैजना मिलेर काम गरे निजी विद्यालयभन्दा सामुदायिक विद्यालय अब्बल सावित हुने बताए।