काठमाडाैँ - नेपालकाे शिक्षा क्षेत्रमा क्रियाशिल शिक्षणसंस्था मध्येबाट विदेशमा उच्च शिक्षा लिन चाहने विद्यार्थीहरूलाई सुरक्षित भविष्य प्रदान गर्नमा समर्पित परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले 'भाइव्रेन्ट एजुकेशनल एसोसिएसन अफ नेपाल' को अवार्ड प्राप्त गरेको छ। फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशन अवार्ड २०२५’ मा इक्यानले उक्त विधामा अवार्ड प्राप्त गरेको हो।
शैक्षिक परामर्श व्यवसायीहरूको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को स्थापना २०५४ साल भाद्र १३ गते भएको हो। इक्यानले प्रमुख शाखा काठमाडौँ बाहेक नेपालभरि कास्की, काभे्रपलान्चोक, मकवानपुर, रुपन्देही, ललितपुर, झापा लगायतका आठ जिल्लामा शाखा विस्तार गरेको छ।
नेपाल शैक्षिक परामर्श संघ इक्यानको केन्द्रीय अध्यक्ष शेषराज भट्टराई हुन्। यस्तै कास्की जिल्ला अध्यक्ष रमेशकुमार थापा, काभे्रपलान्चोक अध्यक्ष भुवन रायमाझी, पूर्वाञ्चलको जिवन निरौला, मकवानपुरको बेलप्रसाद खतिवडा, रुपनदेहीको गीरीराज पाण्डे, ललितपुरको अरविन्द कुमार सिंह, झापाको अध्यक्ष दिपकचन्द्र भट्राई छन्। देशभर रहेका आफ्ना कार्यालय मार्फत इक्यानले विभिन्न शैक्षिक गतिविधि गर्दै आएको छ।

इक्यानले शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउँदै राज्यका अंगलाई झकझकाउने काम गर्दै आएको छ। विद्यार्थी र अभिभावकहरूको समस्यालाई समाधान गर्ने तर्फ इक्यानले भूमिका निर्वाह गर्दै आएको छ भने नेपालमा छरिएर रहेका शैक्षिक परामर्श व्यवसायीहरुलाई एकजुट हुन पनि प्रेरित गर्ने गर्छ। नेपालमा खोलिएका इक्यानमा आवद्ध रहेर काम गर्दे आएका परामर्श व्यवसायीले इक्यानले निर्माण गरेको आचारसंहिता पालना गर्दै आएका छन्।
स्थापनाको २८औँ वर्षसम्म आइपुग्दा इक्यानले शैक्षिक संगठन बाहेक पनि स्वाभिमान, जनउत्तरदायी भूमिका निर्वाह गर्दै आएको छ। देशमा विभिन्न विपद आएको समयमा होस् वा मानव सेवा, विद्यालय सहयोग, प्रधानमन्त्री राहत कोष लगायत विभिन्न माध्यमद्वारा पिडितहरुलाई सहयोग गर्दै आएको छ। इक्यान संस्थाले भेरी नगरपालीका ३ मा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा ‘इक्यान स्कुल लाईब्रेरी’ नामक पुस्तकालय स्थापना गरिदिनुका साथै ७ लाख ५० हजार ५ सय नगद सहयोग गरेको थियो।
इक्यानले आफ्ना सदस्यहरूका लागि तालिम सञ्चालन गर्नुका साथै व्यवसायीक प्रवद्धनका लागि नेपाल भित्र विभिन्न शैक्षिक मेलाहरु आयोजना गर्ने गरेको छ। इक्यानले शिक्षाका मुल मुद्दाहरूमा राष्ट्रिय वहसको कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ। इक्यानले नेपालका परामर्शदाताहरुलाई विदेशी विश्वविद्यालयका प्रतिनिधिहरु ल्याई विभिन्न मुलुकका शैक्षिक गन्तव्यको बारेमा तालिम सञ्चालन गर्दै आएको छ।