काठमाडौँ - तुलसीपुर उपमहानगरपालिकाले माध्यमिक विद्यालयमा प्राथमिक विद्यालयका शिक्षकले पढाउने प्रक्रिया अन्त्य गरी विषयगत शिक्षकबाटै पठनपाठन सुरु गरेको नगर प्रमुख टिकाराम खड्काले जानकारी दिएका छन्। भैरहवामा आयोजना गरेको 'लुम्बिनीको सामर्थ्य' कार्यक्रमको दोस्रो सत्र ‘उपमहानगरको उन्नति’ शीर्षकमा भएको छलफलमा खड्काले स्थानीय तहसँग भएको अधिकार र स्रोत-साधन प्रयोग गरेर शिक्षा क्षेत्रलाई माथि उठाउने काम गरेको बताएका हुन्।
खड्काका अनुसार संघीय सरकारले शिक्षकको दरबन्दीमा तहगत सुनिश्चितता नगरेका कारण उपमहानगरपालिकाले आफ्नो स्रोतसाधन प्रयोग गरेर शिक्षक व्यवस्थापन गरेको हो । ‘संघले दरबन्दी उपलब्ध गराउँदैन, प्रदेशलाई पनि त्यो अधिकार छैन, यस्तो अवस्थामा आफूसँग भएका स्रोत-साधन प्रयोग विषयगत शिक्षक व्यवस्था गर्नु स्थानीय तहको बाध्यता हो,’ खड्काले भने।
विद्यमान शिक्षा ऐनअनुसार शिक्षकको सरुवा स्थानीय तहले गर्न नमिल्ने भए पनि तुलसीपुर उपमहानगरले आफ्नो शिक्षा समितिमार्फत निर्णय गरेर शिक्षकको सरुवा गरेपछि मुद्दा परेको थियो। ‘हामीले काजमा शिक्षक सरुवा गरेका थियौँ, यो निर्णयविरुद्ध मुद्दा परे पनि उच्च अदालतले हाम्रो पक्षमा फैसला गरिसकेको छ,’ खड्काले भने, ‘शिक्षा क्षेत्रमा लामो समयदेखि यस्तै अलमल र अन्योल छ।’
तुलसीपुर उपमहानगरले शिक्षा, स्वास्थ्य, फोहोर व्यवस्थापन र पर्यटन प्रवर्द्धनमा विभिन्न सुधारका काम गर्दै आएको प्रमुख खड्काले बताए। ‘मेट्रो कलेजमार्फत ८ वटा प्राविधिक विषयमा ७ सय विद्यार्थीलाई अध्यापन गराइरहेका छौँ,’ उनले भने, ‘तीन सय छात्रा र विपन्न विद्यार्थीलाई मेट्रो कलेजमार्फत शिक्षाको पहुँचमा पुर्याएका छौँ।’
स्वास्थ्य सेवामा सुधारका लागि उपमहानगरले नगर स्तरीय १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएको उनले बताए। यस अस्पतालमार्फत विपन्न नागरिकहरूलाई प्राथमिकता दिएर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको खड्काले जानकारी गराए । फोहोर व्यवस्थापनका लागि तुलसीपुरले जैविक मल उत्पादन गरेर बजारमा वितरण गर्ने अभ्यास सुरु गरेको खड्काको भनाइ छ।
पर्यटन प्रवर्द्धनमा स्थानीय समुदायलाई समेट्दै तुलसीपुर उपमहानगरपालिकाले कुमाल र थारु समुदायलाई लक्षित गरी होमस्टे सञ्चालन गरेको उनले बताए। ‘यसले स्थानीय समुदायलाई आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ,’ खड्काले भने।