त्रिचन्द्रमा चैत १३, आरआरमा चैत १६ र नेपाल ल क्याम्पसमा चैत १९ गते मतदान हुने क्याम्पसले जनाएका छन्। त्रिचन्द्र क्याम्पसका निर्वाचन अधिकृत अङ्गदमणि गौतमले सुचना जारी गरेर स्थगित भएको निर्वाचनको मतदान १३ गते बिहान ८ बजेबाट हुने जनाएका छन्। त्यस्तै आरआर क्याम्पसमा निर्वाचन अधिकृत लिलाप्रसाद लिम्बुले चैत १६ गते स्ववियुको निर्वाचनअन्तर्गत मतदान हुने बताए। विद्यार्थी संगठन र उमेदवारसँगको सर्वपक्षीय बैठकपछि मतदानको मिति तोकिएको उनको भनाइ छ।
अनेरास्ववियुले तालाबन्दी गरेपछि अन्तिम समयमा आरआर क्याम्पसको मतदान प्रक्रिया स्थगित गरिएको थियो। त्रिचन्द्रमा नेविसंघको आन्तरिक विवादका कारण मतदान स्थगित भएको थियो। सबै दुई क्याम्पसमा उम्मेदवारी दर्ता लगायतका प्रक्रिया पूरा भएका छन्।
उम्मेदवारी दर्तालगायतको प्रक्रिया नै सुरु हुन नसकेको ल क्याम्पसले चैत १९ गते मतदान हुने जनाएको छ। चैत १३ गते उम्मेदवारी दर्ताको कार्यक्रम हुने निर्वाचत अधिकृत केशरमणि अर्यालले जनाए। चैत ५ गते निर्वाचन हुन नसकेका काठमाडौंका पद्मकन्या र अस्कल क्याम्पसमा भने मतदानपछि स्ववियु नेतृत्व चयन भएको छ। पद्मकन्यामा नेविसंघको विद्रोही स्वतन्त्र समूह र अस्कलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।
विश्वविद्यालय क्याम्पस कीर्तिपुर, सरस्वती, पाटन र पब्लिक युथ क्याम्पसमा भने कहिले निर्वाचन हुन्छ भन्ने टुंगो छैन।