काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले देशभर चैत ७ गतेबाट सञ्चालन हुने एसईईलाई व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न निर्देशन दिएका छिन्।प्रदेशका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुखहरूसँगको भर्चुअल बैठकमा उनले परीक्षामा कुनै पनि किसिमको कमीकमजोरी स्वीकार्य नहुने बताईन्।
स्थानीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्यमा प्रहरी सञ्चालन गर्न समेत उनले निर्देशन दिइन्। परीक्षामा नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उनले मर्यादा कायम राख्न इकाई प्रमुखसमेत जिम्मेवारी हुनुपर्ने औंल्याइन्।
चैत १९ गतेसम्म २ हजार ७९ परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालन हुनेछ। परीक्षामा ५ लाख १४ हजार ७१ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। गतवर्षभन्दा ४९ हजार २ सय ८६ जना परीक्षार्थी थपिएका छन्।
परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधार गृह र कारागारमा समेत गरी तीनवटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र अन्य पाठ्यक्रमका विषयहरूको परीक्षा हुनेछ भने चैत ८ गते नेपाली, चैत १० गते गणित, चैत १२ गते विज्ञान, १३ गते सामाजिक शिक्षा र बाँकी २ दिनमा ऐच्छिक विषयहरूको परीक्षा सञ्चालन हुने समयतालिका छ।
परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न शिक्षा मन्त्रालयले विशेष निगरानीको व्यवस्था गरेको जनाएको छ। परीक्षाको सुरक्षा, सामग्री व्यवस्थापन र अन्य आवश्यक तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।