काठमाडाैँ - राष्ट्रिय परीक्षा बाेर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बुधबार सार्वजनिक गर्ने भएकाे छ। बाेर्डले बुधवार नतिजा सार्वजनिक गर्नेगरी सम्पूर्ण तयारी पुरा भएकाे जनाएकाे हाे। परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले ईडियु सवालसंग कुरा गर्दै नतिजा बुधबार दिउसाे सार्वजनिक गर्ने तयारी गरिएको बताए। यसपटक बाेर्डले मूल्याङ्कन र नतिजा प्रणालीमा केही परिवर्तन गरेकाे छ।
बाेर्डले यसै वर्षदेखि लागू हुने गरी शैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ। नतिजा सार्वजनिक भएको एक/दुई हप्तामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र अर्थात मार्कसिट पुग्ने नियन्त्रक रायमाजीले जानकारी दिए। यसपटकको एसईईको मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षको मूल्याङ्कन भने अलग–अलग हुने भएकाे छ।
यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवै तर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गर्ने गरिएकाेमा एसईई नतिजालाई परीक्षार्थीको प्राप्ताङ्कअनुसार आठवटा ग्रेड निर्धारण गरिनेछ।
परीक्षार्थीको प्राप्ताङ्क अनुसार ९० भन्दा माथि ल्याउनेलाई ‘ए प्लस' ग्रेड जसलाई जीपीए ४ दिइनेछ। ८० देखि ९० अङ्कसम्मकालाई ‘ए’ ग्रेड मानिनेछ, जसलाई जीपीए ३ दशमलव ६ दिइनेछ। त्यस्तै ७० देखि ८० अङ्कसम्मलाई ‘बी’ प्लस ग्रेड मानिने छ, जसलाई जीपीए ३ दशमलव २ दिइनेछ। ६० देखि ७० अङ्कसम्मलाई ‘बी’ ग्रेड मानिनेछ र त्यसलाई जीपीए २ दशमलव ८ दिइनेछ।
५० देखि ६० अङ्कसम्मकालाई ‘सी’ प्लस ग्रेड दिइन्छ र जीपीए २ दशमलव ४ मानिनेछ। ४० देखि ५० अङ्कसम्मकालाई ‘डी’ प्लस ग्रेड मानिने र जीपीए २ दिइनेछ। त्यस्तै ३५ देखि ४० सम्मकालाई ‘डी’ ग्रेड मानिने र जीपीए १ दशमलव ६ दिइनेछ।
३५ अङ्कभन्दा तलकालाई भने ग्रेडमा गणना गरिने छैन। यो समूहमा पर्ने विद्यार्थी एसईईपछि माथिल्लो तहमा भर्नाका लागि अयोग्य ठहरीनेछन्। परीक्षा नियन्त्रक रायमाझीले नतिजा सार्वजनिक भएको एक महिनाभित्र ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिने जानकारी दिए। परीक्षा नियन्त्रण कार्यालयले यस पटक दुई वर्षपछि भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गरेको थियो।
बोर्डको दुबै वेबसाइट www.see.gov.np र www.neb.gov.np बाट, नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर, कान्तिपुर लगायतका वेबसाइटबाट र विभिन्न सेवाप्रदायक कम्पनीमा एसएमएस गरेर नतिजा हेर्न सकिने बाेर्डले जारी गरेकाे सूचनामा उल्लेख छ । एसईई वैशाख ९ देखि २० गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ९५ हजार परीक्षार्थी सहभागी भएका थिए ।