काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा मंगलबार स्ववियुको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीका अनुसार काठमाडौंसँगै धरान, नेपालगन्ज, पोखरा, पाल्पालगायतका क्याम्पसहरुमा पनि मतदान सुरु भएको खबर आएको छ। उनका अनुसार अनुसार राजनीतिक दलनिकट २५ विद्यार्थी संगठन र स्वतन्त्र विद्यार्थीको समूहले निर्वाचनमा भाग लिँदै छन्।
महेन्द्र बहुमुखी क्याम्पस दाङ र धनकुटा बहुमुखी क्याम्पस गरी दुई आंगिक र सम्बन्धन प्राप्त ८५ क्याम्पसमा निर्विरोध भइसकेको छ।मतदानका लागि आज बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको छ।
अध्यक्ष, सचिव, कोषाध्यक्ष र केही सदस्य प्रत्यक्ष तथा उपाध्यक्ष, सहसचिवलगायत केही सदस्य समानुपातिक निर्वाचन प्रणालीअनुसार निर्वाचित हुनेछन्। निर्वाचन निर्देशिकामा क्याम्पसमा रहेका विद्यार्थी संख्याका आधारमा स्ववियु कार्यसमिति निर्वाचित हुने व्यवस्था छ। दुई सयसम्म विद्यार्थी रहेको क्याम्पसमा ११, दुई सयदेखि हजारसम्म विद्यार्थी रहेकामा १५, एक हजारदेखि तीन हजारसम्म भए १९ र त्यसभन्दा बढी विद्यार्थी संख्या रहेको क्याम्पसमा २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ। स्ववियु कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । २०७३ सालदेखि मिश्रित प्रणालीमा आधारित निर्वाचनको थालनी भएको हो भने उम्मेदवारको उमेरहद २८ वर्ष कायम गरिएको छ।
यसअघि ५ चैत २०७९ मा ५० आंगिक र ३ सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो, जसमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका थिए। त्यतिबेला स्ववियु निर्वाचन हुन नसकेका रत्नराज्यलक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, पृथ्वीनारायण क्याम्पस र ठाकुराराम बहुमुखीलगायत क्याम्पस यस पटक निर्वाचन गर्ने तयारीमा छन्। २०७३ मा उपत्यकामा ९ र उपत्यकाबाहिर १७ क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविका २२ आंगिक क्याम्पस उपत्यकाभित्र र ४० उपत्यका बाहिर रहेका छन्।
विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा ८ चैत र पद्मकन्या बहुमुखी क्याम्पसमा ७ चैतमा मात्र निर्वाचन हुने भएको छ। १५ भन्दा बढी आंगिक क्याम्पसमा तालाबन्दीका कारण निर्वाचन अनिश्चित छ। निर्वाचन स्थगित र अवरुद्ध बनेका क्याम्पसमा प्रक्रिया अगाडि बढाउन समझदारीको प्रयास भइरहेको सदस्यसचिव अधिकारीले जनाए।
तोकिएको मितिमा मतदान गर्ने व्यवस्था गर्न नसके १५ दिनभित्र क्याम्पस प्रमुख र निर्वाचन समितिले स्ववियु निर्वाचन गराउनुपर्ने व्यवस्था निर्देशिकामा छ।क्याम्पस प्रमुख स्ववियुको संरक्षक रहन्छन्। त्रिवि कार्यकारी परिषद्ले १४ माघमा निर्वाचनको मिति घोषणा गरेको थियो । २७ फागुनमा उम्मेदवारको मनोनयन दर्ता भएको थियो।