काठमाडाैँ - तनहुँ जिल्लाको व्यास नगरपालिका १ विज्ञानचौर स्थित आदिकवि भानुभक्त क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रियामा धाँधली भएको भन्दै उच्च अदालत पोखरामा रिट दर्ता गरिएको छ। अध्यक्षका उम्मेदवार सविन लामिछानेले शुक्रबार उच्च अदालतमा रिट दर्ता गरेका हुन्। उक्त रिटको आइतबारलाई पेसी तोकिएको छ।
रिटमा आदिकवि भानुभक्त क्याम्पस, स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन प्रबन्ध समिति, निर्वाचन अधिकृत विशेश्वर तिमिल्सिना, त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिलाई विपक्षी बनाइएको छ।सबै विद्यार्थी संगठनको सहमतिमा निर्वाचन समितिले उम्मेदवारी दर्ताका लागि मंगलबार दिउँसो २ बजेसम्मको समय तोकिएकामा उक्त समयभित्र अनेरास्ववियुका उम्मेदवारले मात्र उम्मेदवारी दर्ता गरेको अनेरास्ववियुले जनाएको छ।
उम्मेदवारी दर्ता गर्ने समय सकिएपछि निर्वाचन समितिले विद्यार्थी संगठनसँग कुनै परामर्श नगरी उम्मेदवारी दर्ताको समय साँझ ५ बजेसम्म तोकेको भन्दै अनेरास्ववियुले निर्धारित समयभित्र अनेरास्ववियुको मात्र उम्मेदवारी परेको भन्दै आफ्ना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न माग गरेको छ।
यस्तै, स्ववियुको निर्वाचनका लागि क्याम्पसमा तीन संगठनको उम्मेदवारी दर्ता भएको छ। अनेरास्ववियुबाट अध्यक्षमा सविन लामिछाने, सचिवमा आशिष पौडेल, कोषाध्यक्षमा सुशान पौडेल, सदस्यहरुमा सुजता पन्थ, संगम सुर्खाली, जेनिथ सुवर्णकार र सन्तोष लामिछानेको उम्मेदवारी दर्ता भएको छ।
अखिल (क्रान्तिकारी) समाजवादी संयुक्तबाट अध्यक्षमा निर्दोष भट्टराई, सचिवमा शिव विश्वकर्मा, कोषाध्यक्षमा अशोक रुचाल, सदस्यहरुमा सुजन सुनार, ममता विश्वकर्मा, प्रतापकुमार श्रेष्ठ, सुजन नेपाली, संगम पौडेल, अनिता थापा मगर, गौतम कुमाल र प्रमिशा शाहीको उम्मेदवारी दर्ता भएको छ।
यस्तै, नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा अनुप आले मगर, सचिवमा सागर पाण्डे, कोषाध्यक्षमा रोशन ओझा र सदस्यहरुमा रोशनी कुँवर, प्रमिश न्यौपाने, असिम भण्डारी, शिशिर सुनार, प्रमिला श्रेष्ठ, अनिषा परियार, सदिक्षा अधिकारी र इभान मल्ल ठकुरीको उम्मेदवारी दर्ता भएको जनाइएको छ।