काठमाडौं - अस्ट्रेलियाले खोप लगाएका अन्तर्राष्ट्रिय विद्यार्थी आउन पाउने गरी अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने तयारी गरेको छ ।
अहिले आफ्ना नागरिक र विशेष छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशकालागि अनुमति दिएको अध्यागमनले अष्ट्रेलियामा अध्ययनका लागि जान चाहने नेपाली विद्यार्थीलाई पनि नोभेम्बर देखि आउन पाउने व्यवस्था गर्न लागेको हो ।
कोभिड - १९को बढ्दो संक्रमणका कारण विदेशी विद्यार्थीलाई प्रवेशमा रोक लगाएको अष्ट्रेलिया सरकारले खोप लगाएका भिसा प्रक्रियापुरा गरेर जाने मिति पर्खेर बसेका विद्यार्थीहरु पहिलो चरणमा जान पाउने भएका छन् ।
अष्ट्रेलियाको न्यु साउथ वेल्स सरकारले पहिलो चरणमा पाँच सय विद्यार्थी ल्याउने परीक्षण योजनालाई संघिय सरकारबाट स्वीकृति प्राप्त गरिसकेको छ ।
संघिय सरकारले अस्ट्रेलियाका राज्य तथा प्रादेशिक सरकारहरू र विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई फिर्ता ल्याउँदा पालना गर्नुपर्ने नियमहरू पनि बनाएको छ।सोहि नियम भित्र रहेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यार्थीहरुलाई पनि प्रवेशमा खुला गर्न लागिएको हो ।
यसका साथै अस्ट्रेलियन कम्पिटिसन एन्ड कन्ज्युमर कमिसन (एसीसीसी)अस्ट्रेलियन क्यापिटल टेरिटरी (एसीटी) र न्यु साउथ वेल्स स्थित विभिन्न विश्वविद्यालयहरूलाई, अन्तर्राष्ट्रिय विद्यार्थीहरूको यात्रा व्यवस्थापन संयुक्त रूपमा गर्न अनुमति दिएको छ। अष्ट्रेलियाको कानुन अनुसार सार्वजनिक लाभ हानि भन्दा बढी हुने देखिएमा एसीसीसीले यस्ता अनुमतिहरू जारी गर्न सक्ने व्यवस्था छ ।
एसीसीसीका कमिस्नर स्टिभन रिजवेले अन्तर्राष्ट्रिय विद्यार्थी फिर्ता ल्याउन अस्ट्रेलियाको प्रतिस्पर्धी कानूनबाट विश्वविद्यालयहरूलाई छूट दिँदा सजिलो हुने बताए ।
अस्ट्रेलियन सरकारले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी,अस्ट्रेलियन नेश्नल युनिभर्सिटी, चार्ल्स स्टुवर्ट युनिभर्सिटी, सदर्न क्रस युनिभर्सिटी, मक्वारी युनिभर्सिटी ,युनिभर्सिटी अफ क्यानबेरा,युनिभर्सिटी अफ न्यु इङ्ल्याण्ड, युनिभर्सिटी आफ न्युकासल,युनिभर्सिटी अफ न्यु साउथ वेल्स, युनिभर्सिटी अफ नोट्रे डेम, दी युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, वेस्टर्न सिड्नी युनिभर्सिटी र युनिभर्सिटी अफ वलङगङलाई आफ्ना विद्यार्थीहरू फिर्ता ल्याउन हवाई सेवा प्रदायक संयुक्त रूपमा छान्नेदेखि लिएर यात्रा सम्बन्धी सबै व्यवस्थापन मिलेर गर्न पाउने व्यवस्था गरेको छ ।
यस्तै अष्ट्रेलियाको भिक्टोरिया राज्यको सरकारले हरेक हप्ता १ सय २० जनाको दरले अन्तर्राष्ट्रिय विद्यार्थी भित्राउने गरी संघिय सरकार समक्ष आफ्नो प्रस्ताव पठाइसकेको छ। भिक्टोरिया सरकारले विश्वविद्यालय, टेफ र कलेजहरूमा भर्ना भएका विद्यार्थीहरूलाई क्रमैसँग सुरक्षित रूपमा भिक्टोरिया फर्काउने योजना रहेको राज्यका व्यापार मन्त्री मार्टिन पकुलाले बताएका छन् ।
भिक्टोरिया सरकारले पहिलो चरणमा प्रयोगात्मक कक्षा बाकि रहेका विद्यार्थी, आफ्नो डिग्री सकाउन लागेका र पोस्टग्राजुएट रिसर्चमा भर्ना भएका विद्यार्थीलाई प्राथमिकतामा राखेको छ । यसै गरी दोस्रो चरणमा भने टेफ, अंग्रेजी भाषाका कोर्समा भर्ना भएका, निजी कलेज र माध्यमिक तहका स्कूलका विद्यार्थीहरूलाई प्रवेश अनुमति दिने योजना बनाएको छ ।
भिक्टोरिया राज्यले अन्तर्राष्ट्रिय विद्यार्थीहरू मध्ये एक सय भन्दा बढि देशका झन्डै ७५ हजार विद्यार्थीहरू मध्ये ४७ हजार विद्यार्थी देश बाहिर विश्वविद्यालयमा भर्ना भएर रोकिएको तथ्याङ्क सार्वजनिक गरेको छ । अष्ट्रेलियाका विभिन्न राज्यले अन्तराष्ट्रिय विद्यार्थी भित्राउने योजना बनाएपनि संघिय सरकारका प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका राज्यहरूले नेपाल लगायतका दक्षिण एसियाका मुलुकका नागरिक जान पाउने भएपनि मापदण्ड अनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
उनले पहिलो चरणमा अस्ट्रेलियाली नागरिक, पीआर वाहक लगायत उनीहरूका अत्यन्त निकट व्यक्तीलाई अस्ट्रेलिया प्रवेशमा प्राथमिकता दिइने र त्यसपछि दक्ष कामदार, विद्यार्थी र पर्यटकहरूका लागि विस्तादै प्रवेशको अनुमति दिने बताएका हुन् ।
अहिले अस्ट्रेलियामा यस अघि रहेको १४ दिने होटल क्वारन्टीनको व्यवस्था हटाएर सात दिने होम क्वारन्टीनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । सिड्नी, मेलबर्न र क्यानबेरामा जस्ता राज्यका ८० प्रतिशत जनसंख्याले खोप लगाइसकेकाले प्रवेशखुला गरिने भएको तर,हरेक १४ दिनमा २सय ५० जना विद्यार्थीलाई मात्र प्रवेश दिने भएकाले अहिले भिसा पाएर पनि अष्ट्रेलियाका विश्वविद्यालयमा भर्ना भएर जान नपाएका नेपाली विद्यार्थीलाई जाने बाटो खुलेको परामर्श व्यवसायी राजेन्द्र रिजालले जानकारी दिए ।
उनले भने, ‘पहिलो चरणमा खोप लगाएका नेपाली नगरीकले अत्यावश्यक काम र जीवनको आखिरी क्षणमा रहेका आफन्तलाई भेट्न अस्ट्रेलिया छाड्न पाउँछन्। दोस्रो चरणमा विश्वविद्यालयमा भर्ना भएर पनि रोकिएका विद्यार्थी जान पाउछन् । विस्तारै अन्य विद्यार्थीलाई पनि जाने बाटो खुल्छ । अब विद्यार्थीले निर्धक्कसंग अष्ट्रेलियामा अध्ययनका लागि जानुपूर्व आवश्यक तयारी गर्दा हुृन्छ ।’
क्विन्सलेन्ड र वेस्टर्न अस्ट्रेलिया जस्ता कतिपय राज्यहरूले खोप लगाउने दर उच्च नभएका कारण भने नोभेम्बरमा नै विद्यार्थी प्रवेश खुला नगर्ने यस अघि नै जानकारी दिईसकेका छन् ।