काठमाडाैँ - मध्यपश्चिम विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार आयोजना गर्ने भएको छ। विश्वविद्यालयले पत्रकार सम्मेलन गर्दै दीक्षान्त समारोह फागुन २३ गते शुक्रबार बिहान ११ बजे सुर्खेतस्थित केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा गर्ने जनाएको छ। २०६७ सालमा स्थापना भएको मध्यपश्चिम विश्वविद्यालयमा हाल ३ हजार ८ सय ४१ जना विद्यार्थी अध्ययनरत छन्।
तीमध्ये ८ सय ८५ जना विद्यार्थीले दीक्षान्त समारोहमा प्रत्यक्षरूपमा सहभागिता जनाउनेछन्। विभिन्न सङ्कायका स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिनेछ।
समारोहको अध्यक्षता विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा विश्वविद्यालयका सहकुलपति विद्या भट्टराईको समुपस्थितिमा कार्यक्रम सम्पन्न हुने विश्वविद्यालयले जनाएको छ।
समारोहमा प्रमुख अतिथिका रूपमा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति तथा जवाहरलाल नेहरू विश्वविद्यालय भारतका प्रा. डा. महेन्द्र पी. लामाको समेत उपस्थिति रहनेछ।
दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई विशेष सम्मान प्रदान गरिनेछ। स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका तीनजना विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा उत्कृष्ट तीनजनालाई उपकुलपति पदक प्रदान गरिनेछ।
त्यस्तै, स्नातकोत्तर तहका ११ जना र स्नातक तहका १८ जना गरी ३५ जना विद्यार्थीले प्रमाणपत्रसहित विशेष पदक प्राप्त गर्नेछन्। विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिक विज्ञान, शिक्षाशास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इञ्जिनियरिङ, कृषि तथा पत्रकारिता सङ्कायका विद्यार्थीहरू दीक्षित हुनेछन्। विश्वविद्यालयका पदाधिकारीहरूका अनुसार समारोहलाई भव्य र व्यवस्थित बनाउन सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेका छन्।