काठमाडाैँ - धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-९, हथराटोलमा विद्यालय भवन निर्माण भएको दुई वर्ष भयो। गाउँका बालबालिकालाई टाढाको विद्यालय धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले निर्माण गरिएको सो विद्यालय भवन पठनपाठन सुरु हुन सकेको छैन। शिक्षक तथा कर्मचारी व्यवस्थापन हुनसक्दा पठनपाठन सुरु हुन नसकेको स्थानीयको भनाइ छ।
विद्यालय निर्माण भए पनि शिक्षकको अभावका कारण सञ्चालन हुन नसक्दा गाउँका कतिपय बालबालिका शिक्षाबाट वञ्चित छन् भने पढ्नका लागि तीन किलोमिटर टाढाको विद्यालय जान बाध्य छन्। गाउँमै सामुदायिक विद्यालय सञ्चालन नहुँदा गरिब तथा अल्पसङ्ख्यक मुखिया समुदायका बालबालिका शिक्षाको आधारभूत अधिकारबाट वञ्चित भएका हुन्।
नगरपालिकाको सदरमुकाम महेन्द्रनगरबाट ७ किलोमिटर पूर्वमा रहेको यो बस्तीमा २०५० सालमा स्थापना गरिएको सामुदायिक विद्यालय १२ वर्षअघि बन्द भयो। त्यसपछि यहाँका बालबालिकालाई पढ्नका लागि गाउँ बाहिर जानुपर्ने बाध्यता छ। स्थानीय बजरङ्गी मुखियाले गाउँमा विद्यालयको अभावले गर्दा बालबालिकालाई पढ्नका लागि टाढाको विद्यालय पठाउनुपर्ने बाध्यता रहेको बताए।
अर्का स्थानीय रञ्जित कुर्मीले शिक्षक अभावका कारण विद्यालय सञ्चालन नहुनु टोलका बालबालिकाको भविष्य अन्धकार बनाउने अवस्था सिर्जना भएको बताए। वडाध्यक्ष अवधकिशोर यादवले विद्यालय सञ्चालनका लागि प्रयासरत रहेको बताए। उनले आफू निर्वाचित भएदेखि नै यो विषयलाई प्राथमिकतामा राखेको दाबी गरे।
वडाध्यक्ष यादवले बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न सरोकारवालासँग समन्वय गरेर समस्या समाधान गर्ने बताए। उनले नगरपालिकाको सहयोग पाउन सके छिट्टै विद्यालय सञ्चालनमा ल्याउने विश्वास व्यक्त गरे।
नगरपालिकाका शिक्षा शाखा प्रमुख दीपक खत्रीका अनुसार सो ठाउँमा पहिले विद्यालय सञ्चालनमा रहेको भए पनि दर्ता खारेज भएपछि समस्या भएको हो। स्थानीय सरकारले यथाशीघ्र शिक्षक तथा कर्मचारी व्यवस्थापन गरेर यो विद्यालय सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको भनाइ छ।