काठमाडौँ - काठमाडाैँ महानगरले गत वर्षदेखि विद्यालयहरूमा शुक्रबार ‘बुक फ्रि फ्राइडे’ (किताबविनाको शुक्रबार) कार्यक्रम चलाइरहेको छ। किताबविनाको शुक्रबारमा विद्यार्थीले सिकेका सीपलाई समेटेर महानगरले शैक्षिक मेलाको आयोजना गरेको थियाे।
राष्ट्रियसभा गृहको प्राङ्गणमा शुक्रबार पूरै नेपाल चियाउन पाइन्थ्यो। हिमाल, पहाड, तराईलाई विद्यार्थीहरूले चित्रमा उतारेका थिए। नेपालको कला, संस्कृति र सभ्यतालाई प्रस्तुत गरिरहेका थिए, विद्यार्थीहरू। कोही चित्र कोर्न व्यस्त थिए। कोही पकाउन। कोही ड्रोन उडाइरहेका थिए। कोही मादल बजाउन। कोही पठन संस्कृतिको विकास गर्न पढिरहेका थिए। आफ्नो रुचि अनुसारको काममा व्यस्त थिए, विद्यार्थी।
सभागृह विद्यार्थी, अभिभावक, शिक्षक र प्राज्ञहरूले खचाखच थियो। रङ्गीचङ्गी थियो। भित्र औपचारिक कार्यक्रम चल्दा पनि बाहिर विद्यार्थीको स्टलहरूमा भीड थियो। उत्सावमय थियो सभागृह। विद्यार्थीहरूले एक वर्षको अवधिमा विद्यार्थीहरूले फेसन डिजाइन, कृषि, कार्पेन्ट्री, हेयर कटिङ, मोबाइल मर्मत, कुकिङ, संगीत, नाटक, ड्रोन, संस्कृति, सम्पदा, पठन संस्कार, योगा, नृत्य लगायतका सीप सिकेका छन्। बालबालिकाको सर्वाङ्गीण विकासका लागि महानगरपालिकाले ‘शैक्षिक मेला’को आयोजना गरेको हो।
सो मेलामा श्रम राष्ट्रिय माध्यामिक विद्यालय र मंगलादेवी माध्यामिक विद्यालयका विद्यार्थीले ‘कुकिङ’को प्रदर्शनी गरिरहेका थिए। ‘पहिले कटिङको जानकारी थाहा थिएन। अहिले खानाको विभिन्न् डिस बनाउन सक्ने भएका छौं,’ मंगलादेवी माध्यामिक विद्यालयकी विद्यार्थी सुधा कुमारी दासले भनिन्।
बुक फ्रि फ्राइडे सुरु भएपछि विद्यार्थीको सिकाइमा सुधार आएको शिक्षकहरूको दाबी गर्छन्। ‘पहिले यस्तो सीप जानेको थिएन। अहिले विद्यार्थीले आफैं काम गर्न सक्ने भएका छन्। विद्यार्थीको हातहातमा सीप छ,’ श्रम राष्ट्रिय माध्यामिक विद्यालयकी शिक्षिका प्रभा श्रेष्ठले भनिन्।
तरुण माध्यामिक विद्यालयका विद्यार्थी मोबाइल मर्मत गरिरहेका गिए । अचेल प्राविधिक सीप पाइरहेको विद्यार्थीहरू बताउँछन्। ‘मोबाइल मर्मत गर्न सिकिरहेका छौँ। आधारभूत ज्ञान पाएका छौं। शुक्रबारको सिकाइले सकारात्मक प्रभाव परेको छ । गरिखाने शिक्षा पाइरहेका छौं,’ कक्षा ९ मा पढ्ने प्रयाद भट्टले भने।
विद्यार्थीहरूले सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा पाइरहेको निष्कर्ष शिक्षकहरूको छ । ‘पहिले सैद्धान्तिक कुरा हुन्थ्यो। बुक फ्रि फ्राइडेमा विद्यार्थीले गरेर सिक्न पाएका छन्। विद्यार्थीले धेरै बिधा सिक्न पाएका छन्,’ तरुण माविका शिक्षक टेकनाथ आचार्यले भने, ‘घरमा नियमित प्रयोग हुने कुरा विद्यार्थीले सिक्न पाएका छन्।’
राष्ट्रिय सभा गृहमा ज्ञानोदय माविका कक्षा ९ का विद्यार्थी आर्ट गरिरहेका थिए। योजना गौडेल, जियाना नेपाल र अमिसा भुसाल सम्पदा संस्कृतिका चित्र कोरिरहेका थिए। ‘नयाँ नयाँ कुरा सिकिरहेका छौँ। पेन्टिङ सिकिरहेका छौँ। आफ्नो इमोसन चित्रमा एक्सप्रेस गर्न पाएका छौँ,’ उनीहरूले भने, ‘पहिले स्केच बनाउने थाहा थिएन। अहिले जान्ने भएका छौँ।’
कक्षामा पनि चित्र बनाएर पढ्न सजिलो हुने गरेको उनीहरूले बताए। ‘सैद्धान्तिक कुरालाई पनि चित्र बनाएर पढ्ने गरेका छौँ,’ अमिसाले भनिन्। किताब बाहिरका कुरा सिक्न र जान्न पाएकोमा विद्यार्थी दंग देखिन्थे। ‘विद्यार्थीले नयाँ नयाँ कुरा सिक्न पाएका छन्। किताब बहेकका विषयमा सीप सिकेका छन्। यसले सिकाइमा सुधार ल्याएको छ,’ जनकल्यान स्कुलका शिक्षक सुन्दर ढुंगेलले भने। शैक्षिक मेलामा महानगरभित्रको सामुदायिक र निजी सबै विद्यालयको सहभागिता रहेको छ।
‘महानगरका सामुदायिक र निजीलाई समेटेर शैक्षिक मेलाको आयोजना गरेका हौँ,’ महानगरकी उपप्रमुख सनिता डंगोलले भनिन्, ‘सबैको उत्साहजनक सहभागिता छ। शैक्षिक मेला नागरिक, शिक्षक, विद्यार्थी सबैको मेला बन्न पुगेको छ।’
महानगरको बुक फ्रि फ्राइडे अभियानले विद्यार्थीमा नेतृत्व गर्ने क्षमतामा पनि विकास आएको उनले बताइन्। ‘स्कुलमा सिकेको कुरा हेर्न पाइयो। विपद् आयो भने के गर्ने ? गरिखाने शिक्षा महानगरको इच्छा भनेर अभियान सुरु गरेका हौँ,’ उपप्रमुख डंगोलले भनिन्। महानगरका विद्यार्थीले फोहोरबाट मोहोर बनाउने काम पनि गरिरहेको उपप्रमुख डंगोलले बताइन्।
‘विद्यार्थीले आफैंले फोहोर छुृट्टाएर बेच्न मिल्ने फोहोरलाई मोहोर बनाउन स्कुल स्कुलमा सिकिरहनु भएको छ। यो सिकाइको कुरा विद्यालयमा मात्र सिमित छैन। विद्यालयमा सिकेको कुरा घरमा पुगेको छ,’ उनले भनिन्। मेलामा बुक फ्री फ्राइडे अन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शनमा राखिएको छ। मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजालाई पनि स्टलमा राखिएको छ। मेलामा ४०,५० हजार विद्यार्थी सहभागी हुने अपेक्षा महानगरको छ। महानगरको यो शैक्षिक मेला शनिबारसम्म चल्ने छ।