काठमाडौँ - शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यार्थीलाई दिवा खाजा खुवाउन ७ प्रदेशका एक/एक नगरपालिकामा मेघा किचन स्थापना र सञ्चालन गर्ने भएको छ।
केन्द्रका अनुसार मोरङको विराटनगर महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, कास्कीको पोखरा महानगरपालिका, दाङको घोराही उपमहानगरपालिका, सुर्खेतको विरेन्द्रनगर नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका मेगा किचन स्थापना र सञ्चालनका लागि छनौट भएका छन्। केन्द्रका अधिकृत शान्ति विष्टले मेगा किचन स्थापना गर्न यी स्थानीय तहलाई ५० लाखका दरले बजेट पठाईएको बताइन्।
आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा विद्यालयका विद्यार्थीलाई पोषिलो, ताजा र गुणस्तरीय खाजा खुवाउन दिवा खाजा कार्यक्रम परिमार्जन गर्ने घोषणा गरिएको थियो। बजेटमा ७ वटै प्रदेशको एक/एक वटा स्थानीय तहमा एकीकृत भान्साको अवधारणाअनुसार मेगा किचन कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गर्ने उल्लेख छ। हाल सरकारले कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजा खुवाउन विद्यालयमा नै दैनिक १५ रुपैँयाकाे दरले रकम उपलब्ध गराउँदै आएको छ।
मेगा किचन अर्न्तगत स्थानीय तह भरका बालबालिकालाई स्थानीय उत्पादनमा आधारित खाजा एकद्धार प्रणालीमा खुवाउने लक्ष्य राखिएको छ। केन्द्रले मेगा किचेन स्थापना र सञ्चालन सम्बन्धी कार्यक्रमको कार्यविधि समेत जारी गरिसकेको छ। कार्यविधिअनुसार स्थानीय तथा वा वडा भित्रको अगुवा विद्यालय मार्फत केन्द्रीकृत खाजा आपूर्तिको प्रबन्ध गर्नुपर्नेछ। छनोटमा परेका स्थानीय तहले मेगा किचन कार्यक्रम सञ्चालन गर्ने स्थान, खाजा उपलब्ध गराउने विद्यार्थीको संख्या, खाजा बनाउने जनशक्ति तथा ढुवानी व्यवस्था, स्थानीय, स्वच्छ र पोषणयुक्त खाजा बनाउने विधि प्रक्रियाको प्रतिबद्धता गरेका थिए।