काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले विद्यालयस्तरका बालबालिकालक्षित चित्रकला, संगीत र साहित्यिक कार्यक्रमले उनीहरूको चौतर्फी विकासमा योगदान पुग्ने बताएका छन्। बाल सिर्जनाका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिएको उनको भनाइ छ।
सबै बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुन्छ। त्यो क्षमता पहिचान गराउन र सक्रिय गराउन सिकाइका यी विधाहरू महत्वपूर्ण हुने उनले बताए। ‘कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन्,’ प्रमुख शाहले भने।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पि. एल. सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै उनले खुला स्थानमा हुने चित्रकला क्रियाकलापको प्रसंगमा भने,‘यो प्रतियोगिता नभई प्रदर्शनी जस्तो हो। यसमा सबै बालबालिकाको समान सहभागिता हुन्छ। सबैले समान प्राप्तिको महसुस गर्छन्।’
कार्यक्रममा महानगरपालिकाका पहिलो प्रमुख पि. एल. सिंहको व्यक्तित्वमा कुरा गर्दै प्रमुख शाहले, स्वर्गीय सिंहलाई स्थानीय शासनमा दूरदृष्टि राख्ने नेताका रूपमा स्मरण गरे।
वडाले सिर्जना कलेज अफ फाइन आर्टस्को प्राविधिक सहयोगमा आयोजना गरेको चित्रकलाबाट बालबालिकामा सांस्कृतिक र सिर्जनात्मक चेतना बढाउन आयोजना गरिएको वडाध्यक्ष योगेश खड्गीले धारणा राखे। ‘प्राकृतिक र सांस्कृतिक अवस्थितिको अनुभूति गराउँदै सिर्जना प्रस्फुटन गराउने हाम्रो चाहना हो,’ उनले कार्यक्रम आयोजना स्थल छनोटका विषयमा स्पष्ट पारे।
वडा सदस्य सृष्टि तुलाधरले आगामी योजना सुनाउँदै भनिन्, यसपटक प्राप्त नतिजा र सिकाइका आधारमा आगामी दिनमा यसप्रकारको कार्यक्रमलाई निरन्तरता दिनेछौँ।’
१५० विद्यार्थी सहभागी गराउने लक्ष्य राखिएको प्रतियोगितामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरू (समूह क) लाई क्रेयन अन ड्रइङ् पेपर, कक्षा ४ देखि ६ सम्मका विद्यार्थीहरू (समूह ख) लाई अक्रिलिक कलर अन पेपर र कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरू (समूह ग) लाई अक्रिलिक अन क्यान्भास वोर्ड गरी ३ समूहमा विभाजन गरेर चित्र कोर्न दिइनेछ।
प्रतियोगिताका विजेतामध्ये समूह ‘क’ बाट ३ जनालाई जनही ३ हजार रूपैयाँसहित प्रमाण पत्र, समूह ‘ख’ बाट ३ जनालाई जनही ५ हजार रूपैयाँसहित प्रमाण पत्र र समूह ‘ग’ बाट ३ जनालाई जनही ८ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।