काठमाडौँ- पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहमा ७,८७२ विद्यार्थी दीक्षित हुने भएका छन्। आगामी फागुन ८ गते (फेब्रुअरी २०, २०२५) मा पोखरा विश्वविद्यालयको प्राङ्गण, पोखरा–३०, खुदी, ढुंगेपाटन, कास्कीमा आयोजना हुने दीक्षान्त समारोहमा ३० जना विद्यार्थीलाई विशिष्ट पदक र ७ सय ४५ विद्यार्थीलाई डीन लिस्टको उपाधिबाट सम्मानित गरिने विश्वविद्यालयले जनाएको हो।
शिक्षाविद् जोर्ज जोनको प्रमुख आतिथ्यतामा हुन गइरहेको उक्त दीक्षान्त समारोहको अध्यक्षता प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति के.पि. शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ। साथै, कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सह–कुलपति विद्या भट्टराई समुपस्थिति रहनेछ।
पोखरा विश्वविद्यालयमा समयानुकूल पाठ्यक्रम परिमार्जन, एकेडेमिक क्यालेन्डर अनुसार तोकिएको मितिमा नै भर्ना, परीक्षा र परीक्षाफल प्रकाशन गर्ने प्रक्रियाले विद्यार्थीहरूको आकर्षण बढाउन सफल भएको विश्वविद्यालयको भनाइ छ।
यसको प्रमाण स्वरूप गत वर्षको तुलनामा ३८ प्रतिशतले विद्यार्थी सङ्ख्या वृद्धि भएको देखिन्छ। विश्वविद्यालयले रोजगारी उन्मुख, बजारको माग अनुरूप उत्पादनमूलक र प्रविधि आधारित पाठ्यक्रम लागु गर्ने साथै शैक्षिक क्यालेन्डर अनुसार परीक्षा सञ्चालन र तीन महिनाभित्र नै परीक्षाफल प्रकाशन गर्ने निरन्तरता कायम राखेको छ।
पोखरा विश्वविद्यालयले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपमा १५ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै आइरहेको र विश्वविद्यालयले शिक्षा, अनुसन्धान र समुदाय सेवाका क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको जनाएको छ।
हाल देशभर रहेका विश्वविद्यालयका ४ वटा आंगिक क्याम्पस, ३ वटा संयुक्त आंगिक क्याम्पस तथा ५८ वटा सम्बन्धन प्राप्त कलेजहरूमा ६८ वटा कार्यक्रम सञ्चालनमा रहेका छन्, जसमा हाल करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्।