काठमाडौँ- नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिको उपाध्यक्षमा रामप्रसाद पोख्रेल र महासचिवमा तुलाबहादुर थापा चयन भएका छन्। राजधानीमा सोमबार राष्ट्रिय समिति पूर्णता घोषणामा पोख्रेल उपाध्यक्ष र थापा महासचिव चयन भएको घोषणा गरिएको हो। महासंघ अध्यक्षमा लक्ष्मीकिशोर सुवेदी गत वैशाख ११ र १२ मा काठमाडौँमा सम्पन्न महासंघको दोस्रो महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए। १० महिनादेखि महासंघले पूर्णता पाउन सकेको थिएन।
नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन (एनएनटीए) सँग विमति रहेका कारण महासंघले पूर्णता पाउन सकेको थिएन। माघ २२ गते ७ बुँदे सहमतिपछि एनएनटीए महासंघमा आबद्ध हुन तयार भएको थियो। सोही सहमतिका आधारमा एनएनटीएले महासंघमा ११ जना पदाधिकारीलाई पठाएको हो। उपमहासचिवमा रामप्रसाद ढकाल र सचिवमा रघुनाथ मिश्र चयन भएका छन्। सदस्यहरूमा तीर्थ राई, बैजनाथ यादव, रमा परियार, लेखबहादुर हमाल, श्यामा राउत, चन्द्रप्रसाल ढकाल, पदमराज उपाध्याय रहेका छन्।
उपमहासचिव, उपाध्यक्ष, सचिव र ६ जना राष्ट्रिय समिति सदस्यको छन्। एनएनटीएको बैठकले सोमबार नै उनीहरूलाई महासंघमा पठाउने निर्णय गरेको थियो।
देशभरिका विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको हकहितको संरक्षण र प्रवर्द्धनका लागि काम गर्ने महासंघले पूर्णता नपाउँदा शिक्षक आन्दोलन प्रभावकारी हुन सकेको थिएन। महासंघले पूर्णता पाउन पाएपछि शिक्षकको पेसागत विकास, सेवासुविधामा सुधार, तलबवृद्धि, प्रशिक्षण र शिक्षाको गुणस्तर सुधारजस्ता मुद्दा अझ प्रभावकारी रूपमा अघि बढाउन सकिने अध्यक्ष सुवेदीले बताए।