काठमाडौँ - काठमाडौँ महानगर भित्र निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या हरेक वर्ष बढ्दो क्रममा छ। अहिले संस्थागत विद्यालयबाट निकालेर धेरै अभिभावकहरूले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरिरहेका छन्। पछिल्लो समयमा महानगरले पनि निजी विद्यालयलाई भन्दा सामुदायिक विद्यालयलाई विशेष प्राथमिकता राखि नियम कानुन बनाएको अवस्था छ।
निजी विद्यालयमा विद्यार्थीको संख्या उच्च रहेको काठमाडौँमा केही सामुदायिक विद्यालयले निजी कै हाराहारीमा उत्कृष्ट नतिजा दिन सफल भएका छन्। शैक्षिक गुणस्तरमा जोड दिएका कारणले नै अभिभावकले आफ्नो सन्तानलाई नीजीबाट सामुदायिक विद्यालयमा भर्ना गर्ने गरेका विज्ञहरु बताउँछन्।
काठमाडाैँका केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यममै पठनपाठन हुने गरेको छ। काठमाडौँ महानगर भित्र ६ सय ४० निजी विद्यालय र ९१ वटा सामुदायिक विद्यालय छन्। काठमाडौँ महानगरले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका ३२ वटा विद्यालयलाई नुमना विद्यालयका रूपमा छनोट गरेको छ।
महानगर भित्रका रत्नराज्य मावि मध्यबानेश्वर, ज्ञानोदय मावि कलंकी, निलवराही मावि कालिमाटी, विश्वनिकेतन मावि त्रिपुरेश्वर, गीतामाता मावि डल्लु, विजय स्मारक मावि डिल्लीबजार, पद्मोदय मावि पुतलीसडक, सिवपुरी मावि बालुवाटार, कोटेश्वर सरस्वति मावि कोटेश्वर लगायतका विद्यालयमा कक्षा ५ देखि माथिल्लो कक्षामा भर्ना हुन आउने विद्यार्थीको संख्या उच्च छ। यी विद्यालयले विद्यार्थी छनोट तथा प्रवेश परिक्षा लिएर मात्र विद्यालयमा भर्ना गर्ने गरेका छन्।
काठमाडौँ महानगर शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीले पछिल्लो समय महानगरले अन्य क्षेत्रमा भन्दा शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता राखेर काम गरिरहेको बताए। उनले भने, ‘महानगरले विद्यार्थीको नतिजा सुधारको लागि फेस्टिबल क्याम्प, कोचिङ क्लास, सीप तथा सृजनात्मक सिकाइ जस्ता थुप्रै नतिजा सुधारात्मक शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ।’
महानगरले विद्यार्थी मात्र नभइ ईसीडी शिक्षक तथा विभिन्न तहका शिक्षक समेतलाई प्राविधिक तथा शैक्षिक तालिम प्रदान गर्दे आएको उनले बताए। तुलनात्मक हिसाबले सामुदायिक विद्यालयको लागि महानगरले गरेको कार्य बढि देखिएता पनि निजि विद्यालयलाई पनि उतिकै सेवा सुविधा प्रदान गर्नुको साथै उस्तै खालको शैक्षिक नीति नियम निर्माण गरेको उनको भनाइ छ।
आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेका अभिभावकको पनि सामुदायिक शिक्षा विकासमा महानगरले ल्याएको योजनाको प्रभावका कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरेको अधिकृत ज्ञवालीले बताए।
शाखा अधिकृत ओमप्रसाद गौतमले महानगरले सामुदायिक विद्यालयमा दिएको सुविधाका कारण विद्यार्थीको संख्या पहिलो भन्दा दश प्रतिशतले बढेको बताए। उनी भन्छन्, ‘अहिले जम्मा महानगर भित्र रहेका ९१ वटा सामुदायिक विद्यालयमा ५३ हजार विद्यार्थी छन्। यो पहिले भन्दा दश प्रतिशतले बढी हो।’
गौतमका अनुसार महानगरले सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षकलाई प्रदान गरेको विभिन्न तालिम, छात्रावृति, सेवा सुविधाको कारण आर्कषण बढेको हो। सरकारले पनि कक्षा १० सामुदायिक विद्यालयबाट उत्तीर्ण हुने विद्यार्थीलाई विशेष प्राथमिकता राखेर नीतिनियम निमार्ण गर्दै आएको छ।

गौतमका अनुसार महानगरले आयोजना गरेको सुन्दर विद्यालय परियोजना कार्यबाट विद्यालयहरु भौतिक रुपमा तथा वातावरणीय रुपमा स्वच्छ, सफा र हरियाली युक्त हुँदै गएका कारण पनि सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो।
महानगरले सामुदायिक विद्यालयको लागि थुप्रै कामहरु गरेको भएता पनि त्यो मध्ये १० सम्मका सबै विद्यार्थीलाई दिवाखाजा प्रदान गरेको कारण पनि विद्यार्थीको आकर्षण बढेको छ। शिक्षा सुधार गर्न प्रविधिको प्रयोगसँगै शिक्षकले विद्यालयमा राजनीति गर्न छोडेर पढाइमा ध्यान केन्द्रित गर्ने र स्थानीय स्तरमा विद्यालय – विद्यालयबीच पढाइको गुणस्तरबारे प्रतिस्पर्धा गराउन सके सामुदायिक विद्यालयको स्तर बढ्ने सरोकारवालाको बुझाइ रहेको छ। महानगर भित्रका शिक्षकहरू राजनीतिक दलमा आवद्द हुन नपाउने महानगरले बनाएको नियमले विद्यालय शिक्षामा सुधारको बाटो तय गरेको उनीहरूको भनाइ छ।
सरकारले बजेटमा शिक्षालाई प्राथमिकतामा राखेर एक खर्ब ८० अर्ब चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। पछिल्लो समय सामुदायिक विद्यालयले पनि निजी विद्यालय सरह भौतिक, शैक्षिक पूर्वाधारसँगै शैक्षिक गुणस्तरमा ध्यान दिन थालेका छन्। काठमाडौँ उपत्यका भित्र मात्र नभई ललितपुर, भक्तपुर, पोखरा, चितवन, झापा जस्ता नेपालका अन्य शहरी क्षेत्रहरुमा पनि पछिल्लो समय निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयमा विद्यार्थीको ध्यानकार्षण बढेको पाइन्छ।
काठमाडौँ महानगरले विद्यालय शिक्षा सुधारको लागि गरेका पहलहरू
१) कक्षा १–१२ सम्म संस्थागत विद्यालयले प्रदान गर्नुपर्ने १० प्रतिशत छात्रवृत्ति पूर्ण रुपमा कार्यान्वयन।
२) ‘बुक फ्री डे’ कार्यकमले बालबालिकहरूको सृजनात्मता र सीप विकासमा योगदान।
३) शिक्षकहरूको क्रेडिट आवरणमा आधारित तालिमहरूले शिक्षकको क्षमता विकास कार्य योजनाबद्ध रुपमा अगाडी बढाइएको।
४) बालबिकास कक्षा (ईसीडी) देखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई दिवा खाजा प्रदान गर्ने गरेको।
५) नतिजा सुधार कार्यक्रमले २०८० को एसईईको नतिजा उत्कृष्ट ( ७८ प्रतिशत उत्तिर्ण) गराउन सफल।
६) महानगरपालिकालाई ११ ओटा स्रोतकेन्द्रमा विभाजन गरी ११ जना स्रोत शिक्षकहरूको व्यवस्था गरिएको छ।
७) शिक्षामा सीप कार्यक्रम अन्तरर्गत विभिन्न विद्यालयमा ल्याब निर्माणको कार्यमा जोड।
८) महानगरपालिकाले आफ्नै अनुमति र आफ्नै स्रोतमा ८ वटा माध्यमिक विद्यालयमा कक्षा ९ देखि प्राविधिक धारको पठनपाठन सञ्चालन गरेको छ।
९) महानगरपालिका, स्रोतकेन्द्र तथा विद्यालय स्तरमा विषयगत समितिहरू गठन गरी प्रश्नपत्र निर्माण, कक्षा अवलोकन तथा पृष्ठपोषण, नियमन, अनुगमन, पेशागत सहायता जस्ता कार्यक्रमहरु सञ्चालन।
१०) सुत्केरी विदामा रहेका शिक्षकहरूको विदाको अवधिभर सट्टा शिक्षकको व्यवस्था गरी पठनपाठन नियमित गरिएको।
११) शिक्षकलाई मासिक रुपमा तलब भत्ता निकासा गर्ने गरेको छ।
१२) प्रधानाध्यापकहरूलाई कार्यबोझमा आधारमा अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ।
१३) शिक्षक तथा प्रधानाध्यापकलाई अध्ययन तथा अवलोकन भ्रमणको व्यवस्था गरेको छ।