क्यानले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा कस्तो भूमिका निर्वाह गर्छ ?
क्यान महासंघले स्थापनाकाल देखिनै सूचना, प्रविधि क्षेत्रमा सकारात्मक तरङ्ग ल्याउने प्रयास गर्दै आएको छ। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको छाता संगठनको रुपमा कम्प्युटर एसोसिएसन नेपाल (क्यान) पुरानो संस्था हो। यसले देशभित्र सूचना तथा कम्प्युटर प्रविधिको उपयोग, अभिवृद्धि र प्रवद्र्धनमा सहयोग गर्दछ। क्यानले निजी आईसीटी संस्थाहरूलाई सहजीकरण गर्ने प्रमुख निकायको रूपमा भूमिका निर्वाह गर्दछ।
क्यानले कम्प्युटर विज्ञान सम्बन्धी साक्षरता र सीपहरूको विकासको लागि आवश्यक रणनीति, ऐन कानुन निमार्ण तथा संसोधन गर्दछ। क्यानले नेपालको आईटी क्षेत्रमा आएको अनेकौँ नयाँ ग्राफहरुलाई स्विकार गरि लागू गर्दछ। क्यान महासंघले नेपाल सरकारसँग सहकार्य गरि सूचना, प्रविधि तथा आईटी क्षेत्रका व्यवसायीहरूको सेवाहरू समन्वय विकासमा विशेष जोड दिन्छ। क्यानले प्रविधि हस्तान्तरण, निकासी तथा आयात र राष्ट्रिय नीति तर्जुमाको क्षेत्रमा सहयोग गर्दछ। सरकारको समन्वयमा आईसीटी एड्भोकेसी, सल्लाह र कार्यान्वयन सुनिश्चित गर्दछ।
नेपालको सूचना, प्रविधि क्षेत्रमा क्यानले गर्ने गतिविधिले आममानिसलाई के – के फाइदा हुन्छ ?
क्यान महासंघले आईसीटी क्षेत्रमा आवद्ध व्यवसायी तथा आममानिसलाई नै प्राथमिकता राखि स्किल डेभप्लपमेन्ट (कौशल विकास) जस्ता तालिमहरु प्रदान गर्ने गर्दछ। क्यान महासंघले नेपालमा आएको नयाँ प्रविधिबारे छलफल गरि आममानिसलाई सामान्य र सहज हुने हिसाबले सहयोग र सुविधा प्रदान गर्दे आएको छ। क्यानले सूचना सञ्चार प्रविधिको क्षेत्रसँग सम्बन्धित संस्थागत र व्यक्तिगत समस्याको समाधान गर्दछ।
क्यानले आईसीटी प्रशिक्षण र शिक्षाको क्षेत्रमा समन्वयकारी भूमिका खेल्दछ। कम्प्युटर व्यवसायीहरूबीच उनीहरूको सेवाहरूबीच समन्वय विकास गर्न क्यानले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा ज्ञान, सीप र प्रविधिको आदान–प्रदान गर्ने गरी सेमिनार, कार्यशाला, वार्ता र तालिम जस्ता कार्यक्रमहरू सञ्चालन गर्दे आएको छ। आईटी पढेका विद्यार्थीलाई कम्पनीमा इन्टर्नशिपको व्यवस्था मिलाउने योजनाका लागि सरकारसँग साझेदारी भूमिका निर्वाह गर्दछ। क्यान महासंघ गैरराजनीतिक, गैरपक्षीय, गैरनाफामूलक र सेवामुखी क्षेत्रमा काम गर्ने भएकाले आममानिसमा समर्पित रहेर काम गर्दछ।
पहिलो महिला नेतृत्वको हिसाबले क्यानलाई कुन रुपमा अगाडि बढाउने सोच्नुभएको छ ? क्यानको अबको कार्य र भावी योजना के छ ?
क्यान महासंघको स्थापना कालदेखीको नै पहिलो महिला नेतृत्वको पद ग्रहण गरेको हिसाबले म यस सूचना तथा आईसीटीको क्षेत्रमा महिला सहभागीतालाई बढी जोड दिनेछु। अध्यक्षको कार्यअवधि भर सूचना तथा प्रविधि क्षेत्रमा आममानिसलाई सहभागी हुने हिसाबले सबैको पहुँचमा पुग्ने गरि क्यानको कार्यलाई मिडियामूखी बनाउनेछु।
भविष्यमा क्यानले सूचना तथा सञ्चार प्रविधिसम्बन्धी व्यवसायी तथा विज्ञहरुको हक हितका लागि काम गर्दैे सूचना प्रविधिसम्बन्धी नीति निर्माण, कार्यान्वयन तथा सहजीकरण लगायतका कार्यक्रममा सरकारलाई आवश्यक सुझाव र सहयोग गर्दछ।
भविष्यमा नवीनतम प्रविधि र समाधानमा काम गरेका स्टार्टअप र उद्यमीले राहत पाउने गरि क्यानले प्रत्यक फ्रेमओर्कलाई प्रदेशव्यापी बनाइ कार्यान्वयनमा ल्याउन प्रयास गर्दछ। क्यानले सूचना प्रविधिका युवालाई फेलोशिप, प्राविधिक विषय पढ्न चाहने विद्यार्थीका लागि सहुलियत रूपमा शैक्षिक दर्जा दिने घोषणालाई कार्यान्वयन गराउन जोड दिन्छ।
नेपालमा लगभग ५० प्रतिशत एक्सिस रहेको ईन्टरनेटलाई सतप्रतिशत बनाउन क्यानले सहजीकरण भूमिका निर्वाह गर्दछ। क्यानले नेपाललाई सूचना प्रविधि हबको रूपमा विकास गर्ने गरी विभिन्न नितिनियम, कार्यक्रम तथा रणनीतिहरू तय गर्दछ। क्यानले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न बनाएको योजना कार्यान्वयनका लागि कमिटी बनाएर काम गर्दछ।
सूचना, प्रविधि क्षेत्रमा चुनौति र समस्याहरू के – के छन् ?
राज्यले सूचना, प्रविधि तथा आईटी सम्बन्धी नीतिनियम, कानुन तथा ऐन समय समयमा संसोधन गर्न जरुरी छ। सरकारले सूचना प्रविधिमा आधारित रहेका उद्यमशीलतामा जोडिन आवश्यक सरकारी कागजपत्रको कार्यमा सहजीकरण ल्याउनुपर्दछ। प्रत्येक वर्ष बजेटमा प्रस्तुत हुने कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन हुनुपर्दछ। राज्यले शहरी क्षेत्रलाई मात्र जोड दिनुभन्दा ग्रामीण क्षेत्रमा पहुँच नपुगेका आममानिसहरूलाई प्राथमिकता राखि डेटा प्रोटेक्सन, साइबर सेक्युरिटी जस्ता फ्रेमवर्क तयार गर्न जरुरी छ। नेपाल सरकारले पब्लिक तथा प्राइभेट सेक्टर मिलेर स्किलफूल दक्ष जनशक्ति उत्पादन गर्ने योजना तय गराउन आवश्यक छ।
आगामी दिनमा युवा जनशक्तिलाई दक्ष बनाउन, सरकारी तथा निजी क्षेत्र, समुदाय, विद्यालयलगायतका क्षेत्रमा डिजिटल साक्षरता र प्रविधिको प्रयोग बढाउन आवश्यक अध्ययन, अनुसन्धान र सुझाबका लागि क्यान र नेपाल सरकारबीच सहकार्य हुन जरुरी छ। श्रमशक्तिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सरकारबाट नीतिगत सुधारसँगै यस क्षेत्रमा देखिएका समस्या र चुनौतीहरूको समाधानका लागि स्पष्ट कार्यक्रम ल्याउनुपर्ने आवश्यक छ।
वार्षिक रूपमा प्रर्दशनी हुने सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरूको लागि जानकारी लिने विशेष थलो क्यान भएकोले नेपाल सरकारले क्यानको भौतिक संरचना र गुणस्तरीय आईटी परियोजनाको मापन गनुपर्दछ। आईसीटी क्षेत्रलाई नेपाली नागरिकको आधारभुत आवश्यकतासहित सबैको पहुँचसम्म पुर्याउनको लागि राज्यले लगानि गरे मात्र नेपाललाई सूचना प्रविधि हबको स्थापित गर्न सकिन्छ।