काठमाडाैँ- शैक्षिक परामर्श व्यवसायलाई नियमन गर्न सरकारले नीति अख्तियार गर्ने भएको छ। पछिल्लो समय नेपालमा विभिन्न सामाजिक सञ्जाल मार्फत ‘आकर्षक अफर’ भन्दै विभिन्न फेक विज्ञापन तथा भिडियोहरू देखिन थालेपछि त्यसलाई नेपाल सरकार शिक्षा मन्त्रालयले नियमन गर्ने जनाएको हो।
शिक्षा मन्त्रालयबाट अनुमति नलिइ शैक्षिक परामर्श व्यवसायीले मनलाग्दी रूपमा भ्रम सृजना गर्ने खालको सन्देश प्रवाह गर्ने काम गरेको भन्दै मन्त्रालयले यस्ता सामग्री भ्रामक र व्यावसायिक आचरण विपरीत भए संस्थाको दर्ता नै खारेज गर्नेे चेतावनी दिएको छ। बर्सेनि हजारौँ विद्यार्थी उच्च शिक्षाको लागि बिदेशिँदा अर्थतन्त्रमा भार साथै समाजमा दीर्घकालीन मार पनि पर्न पुगेको भन्दै मन्त्रालयले यसमा पनि कडाइ गर्ने जनाएको छ।
‘सामाजिक सञ्जालमा विदेश अध्ययनलाई जोडेर भ्रामक सामग्री, नेपालमा अब केही अवसर नभएकाले विदेश जानुपर्छ भन्ने निराशाजनक सन्देश दिने भिडिओ पनि देखिएको र त्यस्ता सामग्री एकदुई वटा मात्र भएको भए सीधै कारबाही गर्न सकिन्थ्यो। ठूलै मात्रामा टिकटक, रीलजस्ता सामग्री देखिएपछि यस विषयमा हामीले चासो दिएका हौँ।’ मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाका प्रमुख सेमन्तराज कोइरालाले भने।
परामर्शदाता संस्थाहरूको संगठन नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष शेषराज भट्टराईले पनि यस्ता भ्रामक सूचना व्याप्त भएपछि आफूहरू समेतले शिक्षा मन्त्रालयलाई यस्तो कदम चाल्न सुझाब दिएको बताए। अध्यक्ष भट्टराई भन्छन्, ‘हालै नवीकरण भएका ९२४ परामर्शदाता कम्पनीबाहेक पनि सयौँ अन्य स–साना कन्सल्टेन्सिहरू अनौपचारिक रूपमा सञ्चालन भएका छन् त्यहाँबाट समस्या देखिएको हो। यसलाई नियन्त्रण गर्न आवश्यक छ।’
![](https://www.edusawal.com/uploads/editor/2025-02-11/0831165987J0A1300.JPG)
उच्च शिक्षाका नाममा नेपालबाट अर्बौँ रुपैयाँ विदेश जाने गरेको तितो यथार्थ छ। नेपालमा परामर्श दिने संस्थाहरुले आप्mनो संस्थाको फाइदाको लागि भ्रामक विज्ञापन गर्दै विद्यार्थी विदेश पठाएकोे अधिकारीहरू बताउँछन्। आर्थिक वर्ष २०८०/८१ मा नेपालबाट विदेश अध्ययन गर्न जानेहरूसँगै १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैँकको विवरण छ। यो अघिल्लो वर्षको भन्दा करिब एक चौथाइको वृद्धि हो। पछिल्ला दुई वर्षमा यस्तो कारोबार एक खर्ब रुपैयाँभन्दा माथि रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ।
विदेश अध्ययनमा जान चाहने विद्यार्थीले नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेश अध्ययनमा जानका लागि बनाएको आवश्यक मापदण्ड पुरा गरेर मात्र विदेशी विश्वविद्यालयमा भर्ना हुनुपर्छ। मन्त्रालयका अनुसार सम्बन्धित विषयमा विदेश अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर, एनओसी) लिएर मात्र जानुपर्ने हुन्छ। विद्यार्थीले नेपालको विश्वविद्यालय शिक्षा रोजगारसँग जोडिन नसकेको र अध्ययन पश्चात अवसरको सुनिश्चितता नभएकै कारण आफूहरू विदेशीनु परेको बताउँदै आएका छन्।
शैक्षिक परामर्श व्यवसायीले विद्यार्थी लहहैमा लागेर भन्दा पनि भविष्यसँग जोडिएको विषय भएकाले त्यहाँको भौतिक, शैक्षिक वातावरण र अध्ययन पश्चात रोजगारीको अवसरको विषयमा सम्पूर्ण जानकारी लिएर मात्र अध्ययन गर्न जान सुझाब दिएका छन्।
किन विदेशिँदै छन् विद्यार्थी ?
शिक्षा क्षेत्रका सरोकारवाला विद्यार्थी अध्ययनका लागि मात्रै नभएर अवसरको खोजिमा विदेशियको बताउँछन्। उनीहरूले विद्यार्थीलाई उच्च शिक्षासँगै आशिंक रुपमा काम गर्दै पढ्नका लागि पूर्व तयारीका साथ सिप सिकेर मात्र विदेश अध्ययनमा जान सुझाब दिएका छन्।
उनीहरू नेपालको विश्वविद्यालय शिक्षामा देखिएका समस्या, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसर नहुनुले पनि विद्यार्थी र अभिभावकको विदेश मोह बढेको बताउँछन्।
![](https://www.edusawal.com/uploads/editor/2025-02-11/083708488kamal prasad pokhrel.jpg)
अध्ययनका लागि विदेश जानेको संख्या बढेका कारण उच्च शिक्षा प्रादायक नेपाली शिक्षण संस्थामा विद्यार्थी अभाव भएको शिक्षा मन्त्रालयका सहसचिव कमलप्रसाद पोखरेलले बताए। उनले भने,‘विद्यार्थी विदेश जानुमा सामाजिक, आर्थिक, रोजगारीका कारण पनि होलान् तर यहाँको पढाइको गुणस्तर सुधार गरेर पनि त्यसलाई रोक्नसक्ने अवस्था भने छैन। रोजगारीको अवसर पनि सृजना गर्न सक्नुपर्छ।’ पढाइसँगै काम पनि गर्न पाइने भएकाले धेरै विद्यार्थीमा विदेश आकर्षण देखिएको बुझाइ सरोकारवालाको छ।
![](https://www.edusawal.com/uploads/editor/2025-02-11/092417612balchandra.jpg)
काठमाडौँ विश्वविद्यालय शिक्षाशास्त्र संकायका डिन प्रा.डा. बालचन्द्र लुइटेलका अनुसार विश्वविद्यालय शिक्षालाई राम्रो बनाउनुपर्छ भन्ने विषयमा सरकारले ध्यान दिनुपर्छ। देशको शिक्षा नीति समयानुकूल बनाउनुपर्छ। पढाइसँगै काम पनि पाइने भएपछि अभिभावकले पनि विदेश पठाउन सम्पत्ति नै बेचेर भएपनि आफ्नो सन्तानको भविष्यका लागि लगानी गर्दै आएका छन्। सरकार र विश्वविद्यायहरूले पनि विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्ने कुनै योजना ल्याउन सकेका छैनन्।
![](https://www.edusawal.com/uploads/editor/2025-02-11/084239241parkash pandey.jpg)
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले गुणस्तरीय शिक्षा र सुरक्षित भविष्यको खोजीमा विद्यार्थी विदेश अध्ययनमा गएको बताए। उनका अनुसार, ‘सरकारले विदेश अध्ययनका विषयमा स्पष्ट नीति अख्तियार गर्न नसक्दा विद्यार्थीले समस्या भोग्नुपरेको छ। विद्यार्थी कतिपय अवस्थामा नेपालमा पनि पढ्न नचाहने र विदेशमा पनि भिसा नपाएका कारण अन्योलनमा परेका छन्। विद्यार्थी सुरक्षित भविष्यको खोजीमा विदेशीयका हुन्। उनीहरू रहरले भन्दा पनि अवसरको खोजीमा विदेशमा उच्च शिक्षा हासिल गर्न गएका हुन् भन्ने बुझ्न जरुरी छ।’
नेपालको शिक्षा प्रणालीमा देखिएको लापर्बाही, परिवारले विद्यार्थी माथि राखेको सपना, शिक्षण संस्थामा राजनीतिक प्रभाव, अध्ययन पश्चात रोजगारीको अवसरको कमी वा चाहेको जस्तो गुणस्तरीय शिक्षाको अभावको कारण विदेश अध्ययनमा जाने विद्यार्थीको संख्या बढेको जानकारहरू बताउँछन्।
फेरिदैँ गन्तव्य
कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न विदेश अध्ययनमा जाने गरेका छन्। उच्च शिक्षा र उज्वल भविष्यको खोजीमा प्रत्येक वर्ष हजारौँ विद्यार्थी अस्ट्रेलिया, यूके, क्यानडा, अमेरिका, युरोप, जापान, न्यूजील्याण्ड जस्ता देशहरुमा जाने गरेका छन्। उच्च शिक्षासँगै सुरक्षित भविष्य निर्माणका लागि यी देशहरू विद्यार्थीको रोजाईमा पर्ने गरेका छन्। प्रत्येक वर्ष सम्बन्धित देशको भिसा पोलिसीको आधारमा विद्यार्थीको भिसामा पनि परिवर्तन हुने गरेको छ।
गत वर्ष ६६ देशमा ९४ विषय अध्ययनका लागि शिक्षा मन्त्रालयले एनओसी प्रदान गरेको तथ्यांक छ। २०८० साउनदेखि ०८१ असार मसान्तसम्म सबैभन्दा बढी जापानका लागि ३४ हजार ७३१ जनाले वैदेशिक अध्ययन अनुमतिपत्र लिएको शिक्षा मन्त्रालयले जनाएको छ। जापानपछि नेपाली विद्यार्थीका आकर्षणमा क्रमशः क्यानडा, अस्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायत परेको देखिन्छ।
नेपाली विद्यार्थी विदेश अध्ययनमा जानका दैनिक ३ सयको हाराहारिमा ‘नो अब्जेक्सन लेटर’(एनओसी) लिने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ। पछिल्लो समय अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा परिवर्तन गरेको छ। २०२४ डिसेम्बर १९ देखिनै लागु हुने गरी एमडी १११ भिसा लागु गरेको छ।
यस भन्दा पहिला लागु गरिएको मन्त्रीस्तरीय निर्देशन १०७ लाई प्रतिस्थापन गर्दा १,२ र ३ भनेर देशको प्राथमिकताका अनुसार भिसा दिने गरेकोमा अहिले परिवर्तन गरेर देशको प्राथमिकताको आधारमा नराखि हरेक देश र हरेक कोर्सहरूलाई एउटै स्तरमा राखिएको छ। तर यो व्यवस्थाले भाषाको मापदण्ड र देखाउनुपर्ने आर्थिक आम्दानीलाई भने कुनै परिवर्तन गरेको छैन।
![](https://www.edusawal.com/uploads/editor/2025-02-11/083548917binod thapa.jpg)
स्टडीलेन इन्टरनेशनलका कार्यकारी निर्देशक विनोद थापाले अहिले विद्यार्थीको शैक्षिक गन्तव्य परिवर्तन हुँदै गर्दा विद्यार्थीले आफ्नो योजना र क्षमता अनुसारको शैक्षिक गन्तव्य छनोट गर्न सुझाब दिए। उनले भने,‘ पछिल्लो समय विद्यार्थीको आकर्षण भएको मुलुक अष्ट्रेलियाले विद्यार्थी भिसामा कडाइ गरेसँगै आवश्यक मापदण्डहरू बढेको अवस्था छ। यस्तो अवस्थामा विद्यार्थीका लागि क्यानडा र युके जस्ता विश्वकै उत्कृष्ट विश्वविद्यालय भएका मुलुक विकल्प हुन सक्छन्।’ नेपालबाट ६६ मुलुकमा अध्ययन गर्न जान विद्यार्थीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट एनओसी लिएका छन्।
विदेश अध्ययनमा जानुअघि विद्यार्थीले ध्यान दिनुपर्ने कुराहरू
१. विद्यार्थीले विदेश अध्ययनमा जानुपूर्व शैक्षिक परामर्शदाताकोमा गई त्यहाँको विश्वविद्यालय क्याम्सको शैक्षिक वातावरण र भिसा प्रोसेसिङको बारेमा परामर्श लिनुपर्छ। जसका लागि अनुभवि दक्ष र विश्वासिलो परामर्शदाता छनोट गर्नुपर्छ।
२. नेपाल सरकार शिक्षा मन्त्रालयमा दर्ता भई सञ्चालनमा आएको र धैरै विद्यालय र विश्वविद्यालयसँग समन्वय भएको परामर्शदातृ संस्था छनोट गर्नुपर्छ अन्यथा ठगीने डर हुन्छ।
३. आफू अध्ययन गर्न जाने देश, शिक्षणसंस्था र विषयको बारेमा रिसर्च गर्नुपर्छ। त्यहाँको संस्कृति, चालचलन, जिवनशैलिको विषयमा बुझेर आवश्यक सिप र ज्ञान लिएर मात्र अध्ययनका लागि जानु उपयुक्त हुन्छ।
४. आफ्नो रोजाइको विषय अध्यापन हुने कलेज वा विश्वविद्यालयमा छनोट गर्दा भविष्यको योजना अनुसार मिल्छ कि मिल्दैन ध्यान दिनुपर्छ।
५. विद्यार्थीले अभिभावकको आर्थिक अवस्थालाई मध्यनजर गरेर मात्र देश र शिक्षणसंस्था छनोट गर्नुपर्छ।
६. भाषागत दक्षता हासिल गरेर र आशिंक समय कामका लागि आवश्यक पर्ने सीप सिकेर मात्र विदेश अध्ययनमा मात्र जानु उपयुक्त हुन्छ।
७. विद्यार्थीले अध्ययन पश्चात दक्षता हासिल गर्ने उद्देश्य राख्नुपर्छ।
८. नेपालमा परामर्श व्यवसाय सञ्चालन गरी विद्यार्थीलाई लामो समयदेखी परामर्श सेवा प्रदान गर्दै आएका धेरै भन्दा धेरै व्यवसायीहरूबाट परामर्श लिएर इच्छाएको ठाउँमा अध्ययनका लागि जानुपर्छ।
९. विदेश अध्ययनमा जाने विद्यार्थीले त्यहाँको शिक्षणसंस्था र विश्वविद्यालयसँग सिधा सम्पर्क भएका परामर्श व्यवसायीबाट परामर्श लिई आवश्यक कागजपत्र तयार गरेर भिसा आवेदन गर्नुपर्छ।
१०. विदेश अध्ययनमा जाँदैमा सबै कुरा पाईन्छ र सहज हुन्छ भन्ने धारणा राख्नुहुँदैन, विदेशमा गएर पाइने काम, बसोवास, पढ्ने शिक्षणसंस्थाले दिने सुविधाको वारेमा राम्रोसँग बुझेर मात्र जानुपर्छ।