काठमाडौँ - दाङ देउखुरीको राप्ती गाउँपालिकाले शिक्षक-शिक्षिकाहरुका लागि निःशुल्क सांगीतिक माहोल सञ्चालन गरिरहेको छ। गाउँपालिकाका सबै २७ वटा सरकारी स्कुलका ५० जना शिक्षक- शिक्षिकाहरु वाद्यवादन तालिममा सहभागी छन्।
भवनको एउटा कोठामा घिन्ताङ-घिन्ताङ मादल घन्किरहेको छ।अर्को कोठामा हार्मोनियममा केही मानिसहरु सारेगमको सुर मिलाउने प्रयास गरिरहेका छन्।अर्कोतिर गितारको झन्कार सुनिन्छ।
यही तालिम कक्षामा छिन्, राप्ती गाउँपालिका-१, पाखापानीस्थित नवप्रतिभा आधारभूत विद्यालयकी शिक्षिका निर्मला आचार्य। उनले गितार बजाउन सिकिरहेकी छन्। गितार सिक्नका लागि उनी विद्यालय बन्द भएको दिन २० रुपैयाँ (एकतर्फी गाडी भाडा) तिरेर गाउँपालिका कार्यालय आउँछिन्।
तालिमको पहिलो दिन माघ १६ गते (शहीद दिवसको सार्वजनिक बिदाको दिन) उनले गितार बजाउने अभ्यास गरिन्। यसअघि कहिल्यै गितार नछोएको बताउने आचार्यले पहिलो दिनको तालिमको अनुभव साटिन्, ‘संगीत भनेको जटिल विधा रहेछ, गितार त झनै गाह्रो!’
सर्वोदय मावि सिसहनियाँको निमावि तहका अंग्रेजी विषय शिक्षक लक्ष्मण सारुमगर पनि गाउँपालिकाको संगीत कक्षा लिइरहेका छन्। उनले हार्मोनियम बजाउन सिकिरहेका छन्।
सुरुमा सारेगम बजाउन अभ्यास गरेका उनी रमाइलो लागिरहेको अनुभव सुनाउँछन्। ‘पहिले भस्मैताल बजाइन्थ्यो, वास्तवमा शास्त्रीय संगीतमा बजाउनुपर्दो रहेछ,’उनी भन्छन्,‘अहिले बेसिक कुराबाट सिक्ने अवसर पाउँदा रमाइलो लागिरहेको छ। हार्मोनियम बजाउन सिक्दा अटोमेटिक गाउन पनि सिकिने रहेछ।’
लक्ष्मण र निर्मलाजस्ता राप्ती गाउँपालिकाका सबै २७ वटा सरकारी स्कुलका ५० जना शिक्षक- शिक्षिकाहरु वाद्यवादन तालिममा सहभागी छन्। उनीहरुलाई समूह विभाजन गरी हार्मोनियम, मादल र गितार बजाउने तालिम सञ्चालन गरिएको छ। लमहीका बेदुलाल सुवेदी र सचेत विरही भण्डारीले शिक्षकहरुलाई वाद्यवादन तालिम दिइरहेका छन्।
सार्वजनिक बिदाको दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म तालिम दिने गरिएको छ। नास्ता, खाना र खाजाको व्यवस्था समेत पालिकाले नै गरिदिएको छ। पालिकाका अनुसार वाद्यवादन तालिम एक महिनासम्म (साताको एक दिन) चल्ने छ। सो अवधिभर शिक्षकहरुलाई यातायात खर्च र प्रशिक्षकहरुलाई नियमानुसार पारिश्रमिकको व्यवस्था पालिकाले गरेको छ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्ट यो तालिमले शिक्षण सिकाइ सुध्रिने विश्वास गर्छन्। ‘संगीतले सिकाइलाई सरल, रोचक र प्रभावकारी बनाउने भएकाले शिक्षकहरुलाई यसको प्रयोगात्मक ज्ञान दिइएको हो,’ गाउँपालिका अध्यक्ष विष्टले अनलाइनखबरसँग भने।
शिक्षणलाई प्रभावकारी बनाउन नवीन विधिहरु अपनाउनु आवश्यक रहेको भन्दै उनी बदलिँदो समयसँगै शिक्षकहरुलाई संगीतको ज्ञान पनि अत्यावश्यक भइसकेको बताउँछन्। ‘संगीत शिक्षा केबल कला मात्र होइन, यो अनुशासन पनि हो र पढाइलाई प्रभावकारी बनाउने विधि पनि हो,’ अध्यक्ष विष्ट भन्छन्, ‘संगीत आफैंमा साधना हो, संगीतमा ठूलो शक्ति हुन्छ, त्यो शक्तिलाई बच्चाहरुको बीचमा पुर्याउन सजिलो होस् र समाज रुपान्तरणमा पनि योगदान पुगोस् भन्ने हो।’
रमाइरमाइ विद्यार्थीहरुलाई सिकाउने वातावरण बनाउन पालिका क्रियाशील रहेको बताउँदै उनले भने, ‘शिक्षक आफैं पनि कलाकार हो। सबैलाई मन पर्ने संगीतको माध्यमबाट सिकायो भने बुझ्ने–बुझाउने दुवै काम प्रभावकारी हुन्छ भन्ने लाग्छ।’
उनका अनुसार यसपटक शिक्षकहरुलाई संगीतको आधारभूत तालिम दिइएको छ । यो प्रभावकारी भएमा अझै उच्चस्तरको तालिम दिने योजना छ।‘विद्यालयबाट माग भयो र पालिकाले पनि आवश्यकता महसुस गर्यो भने वाद्यवादनमा शिक्षकहरुलाई अझै पर्फेक्ट बनाउने छौं,’ अध्यक्ष विष्टले भने।
राप्ती गाउँपालिका आफ्नो वार्षिक कार्यक्रममा शिक्षकहरुको क्षमता अभिवृद्धिको विषय समेटेको छ। सोही कार्यक्रम अन्तर्गत शिक्षकहरुलाई वाद्यवादन तालिम दिएर ती सामग्री विद्यालयलाई नै हस्तान्तरण गर्ने योजना बनाइएको छ।
हस्तान्तरणअघि शिक्षक-शिक्षिकाहरुलाई ती वाद्यवादन बजाउन सिकाउन लागिएको हो । पालिकाले मावि तहका विद्यालयका तीन जना, निमावि (आधारभूत) तहका २ जना र प्रावि तहका १ जना शिक्षकको दरले तालिममा सहभागी गराएको छ
संगीत प्रशिक्षक सुवेदी संगीतिक माहोलमा पढाउँदा बालबालिकाको सिकाइको स्तर बढ्ने बताउँछन्। उनी भन्छन्, ‘विद्यालयका बालबालिकाहरुलाई संगीत सँगसँगै पढाइयो भने उनीहरुको स्मरणशक्ति बढ्ने र मानसिक रुममा ताजा हुन्छन् भन्ने मेरो व्यक्तिगत अनुभव पनि हो र पछिल्लो पटकको रिसर्चले पत्ता लगाएको कुरा पनि हो।’
गाउँपालिकाका शिक्षा अधिकृत बासुदेव खनाल वाद्यवादन प्रयोग गरी विद्यार्थीहरुलाई सिकाइमा आकर्षित गर्ने तरिका शिक्षकहरुलाई सिकाइरहेको बताउँछन्। ‘यो पहिलो चरणको तालिम कार्यक्रम हो। यसको प्रभावकारिता हेरेर पछि अझै धेरै विद्यालयका शिक्षक-शिक्षिकाहरुलाई समेट्ने र योभन्दा पनि उच्चस्तरको तालिम दिन सकिन्छ,’ शिक्षा अधिकृत खनालले भने।
संस्थागत (निजी) विद्यालयहरुले संगीतका प्रशिक्षकहरु राखेर विद्यार्थीहरुलाई पढाइरहे पनि सामुदायिक (सरकारी) विद्यालयका शिक्षकहरुलाई भेला गरेर वाद्यवादनको तालिम दिने राप्ती गाउँपालिका सम्भवतः पहिलो भएको उनको दाबी छ। यसबाट सकारात्मक प्रतिक्रिया पाइरहेको उनी बताउँछन्।
‘मैले पहिलो दिनको तालिम कक्षाको भिडियो फेसबुकमा राखेको थिएँ। धेरैले राम्रो कामको सुरुवात भयो, हाम्रो जिल्लाका जनप्रतिनिधिलाई पनि यस्तै कार्यक्रम चलाउन भन्दिनुस् न भनेर प्रतिक्रिया दिइरहनु भएको छ,’ खनाल भन्छन्, ‘हरेक शिक्षकले यो खालको तालिम खोजिरहनु भएको छ भन्ने लाग्यो’।
वाद्यवादन बजाउन सिक्न पाउँदा शिक्षकहरु पनि खुसी छन्। गितार बजाउन सिकिरहेकी शिक्षिका निर्मला आचार्य भन्छिन्, ‘हामी यहाँ जति सिकेर जान्छौं, बच्चाहरुलाई पनि त्यति नै सिकाउने लक्ष्य लिएर म तालिममा आएकी छु। साथीहरुले पनि यस्तै गर्नु हुनेछ भन्ने विश्वास छ।’
नयाँ-नयाँ प्रतिभाहरु सामाजिक सन्जालमार्फत् सार्वजनिक भइरहेका बेला विद्यालयको संगीतिक वातावरणले ओझेलमा परेका अरु प्रतिभा प्रष्फुटन हुन पनि सहयोग मिल्ने उनको विश्वास छ।
अर्का शिक्षक सारुमगर शिक्षकहरुलाई भनेर राप्ती गाउँपालिकाले वाद्यवादन सिक्ने वातावरण बनाइदिएकोमा खुसी व्यक्त गर्छन्। यो सिकाइले विद्यालयमा हुने अतिरिक्त क्रियाकलाप अझै प्रभावकारी हुने विश्वास उनको छ।
हार्मोनियम बजाउन सिकिरहेका शिक्षक सारुमगर भन्छन्, ‘अतिरिक्त क्रियाकलापमा अब संगीत पनि समावेश गर्दा त्यसको महत्व झनै बढ्छ। विद्यार्थीका आन्तरिक क्षमता प्रष्फुटन गराउन प्रेरित गर्छ र हाम्रो सिप विकास गर्न पनि यो तालिमले सहयोग गर्ने विश्वास छ।’शिक्षिका आचार्य पनि यो तालिमले गाउँघरका स्कुले बालबालिकामा रहेका लुकेका प्रतिभा प्रष्फुटन हुन सहयोग मिल्ने बताउँछिन्।
‘संगीतमय विद्यालय भइदियो भने लुकेका प्रतिभाहरुलाई पनि हौसला र सहयोग पुग्छ जस्तो लाग्छ। त्यसैले पालिकाको स्थानीय पाठ्यक्रम पनि त्यसैअनुसार तयार गरिएको छ। हामी पनि त्यसलाई सफल बनाउन प्रयासरत छौँ।’