काठमाडाैँ - जिल्लाको पर्यटकिय क्षेत्रसँग जोडिएको खप्तडछान्ना गाउँपालिकामा नमुना विद्यालय भवन निर्माण गरिएको छ। २०७८ साल असोज ३१ देखि कात्तिक ३ गतेसम्म आएको बाढी र पहिरोका कारण भवन र विद्यालयमा क्षति भएपछि यहाँको दुर्गा महालिङ मावि चौकामा जिल्लाकै नमुना भवन निर्माण गरिएको हो।
भौतिक संरचनाको अभाव भए पनि पठनपाठनमा समेत समस्या भएको उक्त विद्यलयमा विद्याथीहरूले असहज भएको थियो। अस्ट्रेलियन हिमालय फाउन्डेसनको आर्थिक सहयोगमा रिड नेपाल नामक गैरसरकारी संस्थाले विद्यालय भवनमा निर्माण गरेको सो भवन जिल्लाकै नमुना भवन रहेको छ। अस्ट्रेलियन इन्जिनियर जोसुवा एन्जलबेथले गरेको डिजायनमा रिड नेपाल नामक गैरसरकारी संस्थाले प्राविधिक सहयोग गरेको रिड नेपालका परियोजनाका इन्जिनियर सत्यराज पाण्डेले जानकारी दिए।
उनले ८० लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी, तापक्रमलाई सन्तुलन राख्ने खालको प्रविधि जडान गरिएको, बालमैत्री, अपाङ्गमैत्री समेत रहेको समेत बताए। भवनभित्र सुविधा सम्पन्न फनिचर, लाइटिङसहितको व्यवस्था रहेको छ।
'हाल बझाङ जिल्लामा निर्माण भएका भवनहरूको तुलनामा यो भवन निकै सुविधायुक्त भवन हो,’ खप्तडछान्ना गाउँपालिकाका अध्यक्ष उत्तमबहादुर रोकायाले बताए।
गाउँपालिका अध्यक्ष रोकायाको समन्वयमा “समृद्घ खप्तडछान्ना परियोजना” लागु गरेपछि गाउँपालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रमा नमुना काम हुँदै आएको स्थानीय भिम बहादुर रोकायाको भनाइ छ। दुई वर्ष यता रिड नेपालमार्फत अस्ट्रेलियन हिमालय फाउन्डेसनले खप्तडछान्नाको शिक्षा क्षेत्रमा विद्यालयको भौतिक सुधार, शिक्षकहरूलाई तालिम, बालबालिका तथा अभिभावकहरूलाई चेतनामुलक तालिम तथा शैक्षिक गुणस्तर सुधारका विभिन्न कार्यहरू गर्दै आएको छ भने स्वास्थ्य संस्थामा उपकरण सहयोग, कर्मचारी अभावको परिपूर्ति, भौतिक पूर्वाधार निर्माण लगायतका कामहरू गर्दै आएको छ।